माडीमा बाढीले बगाउँदा एकजना बेपत्ता, भारी वर्षाले जोखिम कायमै – Nepal Press

माडीमा बाढीले बगाउँदा एकजना बेपत्ता, भारी वर्षाले जोखिम कायमै

चितवन । बिहानैदेखि भारी वर्षा भइरहेको चितवनको माडी क्षेत्रमा एक व्यक्ति बाढीले बगाएर बेपत्ता भएका छन् । माडी ५ छर्छरे घर भएका रणबहादुर कामीलाई मगुइ खोलाले बगाएर बेपत्ता बनाएको हो ।

कामी बसन्तपुर बजारबाट आफ्नो घर खैरहनी जाँदै गर्दा माडी वडा नम्बर ४ र ५ को सीमानामा रहेको मगुई खोलाले बगाएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

बेपत्ता भएका कामीलाई खोज्न इलाका प्रहरी कार्यालय माडीका इन्स्पेक्टरसहितको टोली परिचालन भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय माडीका असइ कैलाश कार्कीका अनुसार माडीमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । खोलाहरुमा अत्याधिक पानीको बहाबसहित बाढी आउँदा एउटा गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था समेत छैन ।

बिहानैदेखि इलाका प्रहरी कार्यालय माडीको प्रहरीको टीम विभिन्न खोला किनारा तथा बस्तीहरुमा बाढीबाट बच्न सर्वसाधरणलाई माइकिङ गर्दै सचेत गराउँदै हिँडिरहेको भएपनि एक व्यक्ति बाढीमा फसेर बेपत्ता भएका असइ कार्कीले बताए ।

जल तथा मौसम विज्ञान विभागले पनि बिहान ११ बजे बुलेटिन निकालेर पछिल्लो ३ घण्टामा माडी क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ ।

विभागका अनुसार चितवन माडको चरचरे, कल्याणपुर, गोविन्दबस्ती वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको सूचना जारी गरेको छ ।

केन्द्रले सार्वजनिक गरेको बुलेटिन अनुसार ११ बजेसम्म १११ दशमलव ८ मिलिलिटर वर्षा मापन गरिएकोमा थप वर्षा हुनसक्ने सम्भावना रहेकोले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा बसोबास गर्नेहरुलाई दिउँसोसम्म सतर्कता अपनाउन भनिएको छ ।

प्रहरीका अनुसार दिउँसो सवा दुई बजेसम्म पनि वर्षा रोकिएको छैन । वर्षा निरन्तर भइरहेकोले बाढीको जोखिम कायमै रहेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *