मकवानपुरमा कलेज विद्यार्थीले थाले ‘पार्ट टाइम जब’ सेवा – Nepal Press

मकवानपुरमा कलेज विद्यार्थीले थाले ‘पार्ट टाइम जब’ सेवा

हेटौंडा । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको समूहले ‘पढ्दै, कमाउँदै’ आफ्नो खर्च आफैं व्यवस्थापन गरौं भन्ने उद्देश्यले पार्टटाइम जब समन्वय समिति गठन गरेका छन् ।

बेरोजगारी समस्याले पढ्दै गरेका विद्यार्थीलाई आर्थिक समस्या भएको भन्दै उनीहरुले समिति गठन गरेर काम थालेका छन् ।

समितिको उद्देश्य र कामबारे जानकारी दिन आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सुजल टिब्रेवालले पढाइपछि बचेको समयमा विद्यार्थीले पार्ट टाइम काम गरेर आफ्नो खर्चको व्यवस्थापन गर्न सक्नेगरी आफूहरुले काम सुरु गरेको बताए ।

समितिले रोजगारीको लागि जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायमा पत्राचार गरेको र गुगलमा फर्म खुलाएको उनले जानकारी दिए । सरकारले बनाएको मापदण्डअनुसार पार्ट टाइमको लागि प्रतिघन्टा ९० रुपैयाँ प्राप्त हुनेगरी काम पाउने उनको भनाइ छ ।

६० वटा क्याटेगरीमा फर्म खुला गरेको र फर्म खुला गरेको २४ घण्टामै १६० भन्दा धेरै विद्यार्थीले आवेदन दिएको अध्यक्ष टिब्रेवालले बताए ।

सीप र क्षमता भएर पनि बेरोजगार बस्नुपरेका विद्यार्थीलाई आफूहरुको समितिले समन्वय गरेर पार्ट टाइम जबको लागि काम गर्ने उनले बताए । समितिले समन्वय गरेबापत कुनै शुल्क नलिने उनको भनाइ छ ।

समितिले सरकारी तथा गैरसरकारी निकायसँग मिलेर सीपमूलक तालिमको पनि व्यवस्थापन गर्ने योजना रहेको उनले सुनााए ।

समितिका संरक्षक किशोर अर्यालले आफूहरुले गठित समिति सम्भवतः नेपालमै पहिलो रहेको दाबी गरे । कलेजमा अध्ययनरत विद्यार्थीको समूहले आफ्नो खर्चको व्यवस्थापन र सीप सिक्नेगरी गरिएको प्रयत्नलाई सबै पक्षबाट सहयोग हुने उनले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर