ईंग्ल्यान्ड र भारतको सेमिफाइनलमा वर्षाको उच्च सम्भावना, खेल रद्द भए भारत सीधै फाइनलमा – Nepal Press

ईंग्ल्यान्ड र भारतको सेमिफाइनलमा वर्षाको उच्च सम्भावना, खेल रद्द भए भारत सीधै फाइनलमा

आंशिकमात्र छोपिएको छ प्रोभिडेन्सको मैदान, भारतलाई फाइनलमा पुर्‍याउन हत्कण्डा अपनाइएको आरोप

काठमाडौं । टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा आज ईंग्ल्यान्डले भारतको सामना गर्दैछ । तर, आज साँझ (स्थानीय समयअनुसार बिहान) हुने खेल वर्षाले बिथोल्न सक्ने खतरा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले औंल्याएका छन् ।

वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा खेल हुन लागेको हो । यस क्षेत्रमा दुई दिनदेखि लगातार वर्षात् भइरहेको छ । मौसमसम्बन्धी पूर्वानुमानहरूले विश्वकप सेमिफाइनलका बेला पनि पानी पर्ने उच्च सम्भावना औंल्याएका छन् ।

२७ तारिख बिहान गुयनामा अलिकति आकाश खुल्ने तर वर्षात् पनि हुने भविष्यवाणी गरिएको छ । दिउँसो हावाहुरीसहित अझै सघन वर्षात हुनेछ । भविष्यवाणी अनुसार वर्षातको सम्भावना ९० प्रतिशत छ । ६१ प्रतिशत आकाश बादलले ढाकिनेछ भने भिजिविलिटी ६ किलोमिटर मात्र हुनेछ । यस्तै, पूर्व दिशाबाट ७ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्ने तथा २० किलोमिटर प्रतिघन्टाको दरमा हुरी पनि चल्न सक्ने जनाइएको छ ।

यसअघि सुपर ८ मा दुवै टीमबीच कम्तीमा ५-५ ओभरको खेल सम्भव भएमा नतिजा आउन सक्थ्यो । तर, सेमिफाइनलमा नतिजा आउन दुवै टीमले कम्तीमा १०-१० ओभर खेल्नुपर्छ । स्थानीय समयअनुसार बिहान १०:३० मा खेल सुरू हुन्छ । यदि वर्षातले निर्धारित समयमा खेल सुरू हुन सकेन भने २५० मिनेटसम्म तन्काउन सकिने गरी व्यवस्था मिलाइएको छ । अर्थात् यदि २.४० बजेसम्ममा खेल सुरू हुन सक्यो भने ओभर घटाउनु पर्दैन । त्योभन्दा पनि ढिलाइ भएको खण्डमा चाहीँ ओभर घटाउनुपर्छ ।

यदि वर्षाका कारणले १०-१० ओभरको खेल पनि हुन सकेन भने भारत सीधै फाइनलमा पुग्नेछ । खेल रद्द भएको खण्डमा सुपर ८ मा आफ्नो समूहमा पहिलो हुने टीम फाइनलमा पुग्ने प्रावधान पहिल्यै तय गरिएको थियो । त्यसैले यदि वर्षातले खेल विथोलिएको खण्डमा भारतलाई फाइदा छ । यदि खेल बराबरीमा टुंगियो र सुपर ओभरबाट पनि नतिजा आएन भने पनि भारत नै फाइनलमा जान्छ ।

रोचक के छ भने भारत र ईंग्ल्यान्डको सेमिफाइनलमा रिजर्भ डे नै राखिएको छैन । जबकि साउथ अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलका लागि रिजर्भ डे थियो, जबकि उक्त सेमिफाइनलमा बर्षातको भविष्यवाणी नै थिएन । वर्षातको सम्भावना नभएको खेलमा रिजर्भ डे राखिने तर उच्च सम्भावना भएको खेलमा नराखिनुलाई लिएर धेरैले आश्चर्य व्यक्त गरेका छन् । आईसीसीले भने फाइनल खेलका लागि एक दिन मात्रै ग्याप भएकाले रिजर्भ डे नराखिएको दाबी गरेको छ ।

विश्वकपको पूरै सेड्यूल भारतीय टीमलाई फाइदा पुग्ने गरी तय गरिएको थियो । अरु टीमहरूले कुन कुन भेन्यूमा खेल खेल्नेछन् भन्ने निश्चित गरिएको थिएन । तर, भारतको हकमा पहिल्यै निश्चित गरिएको थियो । भारतले समूहमा पहिलो वा दोस्रो जे भए पनि गुयनामै खेल्ने भनेर पहिल्यै तोकिएको थियो । जबकि अन्य टीमले कहाँ खेल्ने निधो थिएन । ईंग्ल्यान्ड र साउथ अफ्रिका भारतभन्दा अगाडि सेमिफाइनलमा पुगे तापनि भारत समूहमा पहिलो भएपछि मात्रै उनीहरुले आफ्नो भेन्यू थाहा पाएका थिए ।

भारतले रोजेको मैदानमा सेमिफाइनल खेल्ने अवसर दिइएको हो । भारतले सेमिफाइनलमा पुगे यही मैदानमा खेल्नुपर्ने तथ्यलाई ध्यानमा राखेर स्क्वाड घोषणा गरेको थियो । यो मैदानको पीचले स्पिनरलाई भरपुर सहयोग गर्ने अघिल्ला खेलहरुले देखाएका छन् । अफगानिस्तानले न्यूजिल्यान्डलाई यही मैदामा ७५ रनमा अलआउट गरेको थियो ।

गुयनामा निरन्तर पानी परिरहँदा मैदान र पिचलाई जोगाउन पर्याप्त ध्यान नपुर्याइएको आरोप पनि लागेको छ । ईंग्ल्यान्डका पूर्वक्रिकेटर माइकल भोनले मैदान पुरै कभर नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । निरन्तर पानी परिरहेको अवस्थामा मैदानलाई आंशिक मात्र छोपिएको भन्दै उनले ट्विट गरेका हुन् । केही क्रिकेट विश्लेषकले सकेसम्म खेल रद्द होस भन्ने भारतको चाहनाका कारण मैदान राम्ररी कभर नगरिएको आरोपसमेत लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *