पुँजीकोष कम भएका बैंकलाई अग्राधिकार सेयर जारी गर्न एक दर्जन शर्त – Nepal Press

पुँजीकोष कम भएका बैंकलाई अग्राधिकार सेयर जारी गर्न एक दर्जन शर्त

काठमाडौँ । पुँजीकोष कम भएका बैंकहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै मौद्रिक नीतिको तेस्रो त्रैमासले गरेको व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

साधारणतया यस्तो अग्राधिकार सेयर सेयरमा परिणत हुँदैनन्। तर बैंक चल्नै नसक्ने अवस्थामा यसलाई सेयरमै रूपान्तरण गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ।

कुनै बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष अनुपात ५.१२५ प्रतिशतमा आएमा यस्तो अग्राधिकार सेयरलाई सेयरकै रूपमा परिवर्तन गर्न पाइने भएको हो।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ ।

यसरी परिणत गर्नु पूर्व केन्द्रीय बैंकको स्वीकृति लिनुपर्नेछ । ट्रिगर विन्दु साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशत भन्दा कम भएको अवस्थालाई मानिनेछ । अग्राधिकार सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्नेछ ।

यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि/सूत्र विवरण पत्रमा उल्लेख गर्नुपर्ने शर्त केन्द्रीय बैंकले राखेको छ । यस्तै अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न पाइने छैन ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्कासन गर्नु पर्नेछ । साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ ।

अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्नेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यस सम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरण पत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरण पत्रमा स्पष्ट रूपमा खुलाउनुपर्नेछ ।

अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि सञ्चित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई सार्वजनिक गर्नुपर्नेछ ।

बैंकले अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट बैंकहरुले सार्वजनिक गरेको रिक्स डिस्क्लोजर स्टेटमेन्ट पाएको हुनुपर्ने , विवरण पत्रमा उल्लेखित सम्पूर्ण शर्त र व्यवस्था पढेको र बुझेको हुनुपर्ने र अग्राधिकार सेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको अवस्थामा लगानीकर्ताबाट लिखित सहमति लिनुपर्छ ।

इजाजतपत्रप्राप्त संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पुँजीमा समावेश भएका नियामकीय पुँजी उपकरणहरू, निक्षेपकर्ता एवं अन्य साधारण साहु भन्दा पछि मात्र हुने छ । अग्राधिकार सेयरको अनुमति दिने बेलामा केन्द्रीय बैंकले अन्य सर्तहरू पनि राख्न सक्ने बताएको छ ।

नबिल र एनआइसी एसियाले ५/५ अर्बको अग्राधिकार सेयर जारी गर्न यस अघि नै केन्द्रीय बैंकमा आवेदन दिइसकेका छन् । एनआईसी एसिया चरम पुँजीकोष दबाबमा परेको छ ।

बैंकको प्राथमिक पुँजी अनुपात ८.२५ प्रतिशत मात्र छ । जसकारण बैंकले थप कर्जा विस्तार गर्न सकेको छैन । बफरसहित प्राथमिक पुँजी नपुगेकै कारण बैंकले अघिल्लो आर्थिक वर्ष लाभांश वितरण गर्न पाएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *