महामन्त्रीको प्रतिवेदनले तरंग ल्याएपछि गणेश कार्कीले भने- आलोचकलाई पदबाट घोक्र्याइँदैन भन्ने सबुत म छु – Nepal Press

महामन्त्रीको प्रतिवेदनले तरंग ल्याएपछि गणेश कार्कीले भने- आलोचकलाई पदबाट घोक्र्याइँदैन भन्ने सबुत म छु

‘रास्वपा कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन’

काठमाडौं । महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीमा ठूलो तरंग ल्याएको छ। ३८ जिल्लाका नेता कार्यकर्तासँग भेटघाटपछि महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्राले रास्वपामा नयाँ तरंग ल्याएको हो।

महामन्त्री ढकालको प्रतिवेदनमा आज पार्टीको वर्तमान जनमतको आधारमा आज नै चुनाव हुने हो भने हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक-दुई सिट जित्न सक्ने उल्लेख छ।

भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुने तर्क गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘मलाई मेरो पार्टीको माया छ र चिन्ता छ । भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन्। मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ ।’

तर, महामन्त्री ढकालको यो प्रतिवेदनमा रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले समर्थन जनाएका छन्।

उनले भनेका छन्, ‘फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुल्ला बहस गर्ने सोचको पक्षपाती हुँ । हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म । रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु ।’

पार्टीको विधि, चरित्र र बाटोको बारेमा आफूले उठाइरहेको विषयमा महामन्त्री ढकाल पनि आइपुगेको उनको भनाई छ।
उनले भनेका छन्, ‘सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयम् को योगदान कति रह्यो ? संगठन अस्थिर र जथाभाबी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचिमिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न सुरु कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ अब खोज्न ढिलो गर्न हुन्न ।’

पार्टीले आफ्ना गल्ती सुधारेर अघि बढे पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर नसकिने बताए।

‘अनि, प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइँदैन भन्ने सबुत प्रमाण म छु। नाजायज काम गरेकाहरू मात्र हुन्, विचारसँग डराउने’ उनले भनेका छन्, ‘यदि कोही तपाईँ सामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुन पर्दैन भन्नुहोला। पार्टी अब बन्दैछ, आफ्ना गल्तीहरू सुरुदेखि सुधार गरेर।’

नेता कार्की पार्टी सभापति रवि लामिछानेदेखि शीर्ष नेताहरूको चर्को आलोचक हुन्। उनी पार्टी सरकारमा गएकोप्रति पनि सन्तुष्ट छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर