१३ वर्षदेखि उपाधि खोजिरहेको भारतलाई सजिलो छैन विश्वविजेता इङ्ल्यान्ड – Nepal Press

१३ वर्षदेखि उपाधि खोजिरहेको भारतलाई सजिलो छैन विश्वविजेता इङ्ल्यान्ड

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसिसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार राति साविक विजेता इङ्ल्यान्ड र भारत भिड्दैछन् ।

१३ वर्षअघि विश्व विजेता बनेको भारतका लागि इङ्ल्यान्डको चुनौती सजिलो हुने छैन । इङ्ल्यान्डले सन् २०२२ मा आयोजित पछिल्लो संस्करणको फाइनलमा पाकिस्तानलाई हराएको थियो ।

त्यसअघि सेमिफाइनलमा भारतलाई हराएको थियो। भारतलाई एक सय ६८ रनमा सिमित गरेको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पुरा गरेको थियो ।

इङ्ल्यान्ड टी–२० विश्वकप सर्वाधिक दुईपटक जित्ने दुई टोलीमध्ये एक हो। उसले सन् २०१० मा आयोजित संस्करण पनि जितेको थियो। वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।

भारतले सन् २००७ मा आयोजना भएको पहिलो टी–२० विश्वकप जितेको थियो । सन् २०१४ को संस्करणमा फाइनलसम्म पुगेपनि उपाधि जित्न सकेको थिएन । गत संस्करणसहित अन्य दुई अवसरमा सेमिफाइनलसम्म पुगेको छ ।

भारतले सन् २०११ मा आयोजित एकदिवशीय विश्वकप जितेयता सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व विजेता बन्न सकेको छैन । गत वर्ष घरेलु मैदानमा आयोजित एकदिवशीय विश्वकपको फाइनलसम्म पुगेपनि उपाधि भिडन्तमा पराजित भएको थियो ।

भारत यसपटक उच्च लयमा देखिएको छ । पहिलो चरणमा आयरल्यान्ड, पाकिस्तान र अमेरिकालाई हराएको भारतले क्यानडासँग भने वर्षाले खेल रद्ध भएर अंक बाँढेको थियो । सुपर एटमा भारतले बंगलादेश, अस्ट्रेलिया र अफगानिस्तानसहित तीनवटै टोलीलाई हराएको थियो ।

इङ्ल्यान्डले पहिलो चरणमा पहिलो खेलमै स्कटल्यान्डसँग वर्षाले खेल रद्ध भएर अंक बाँढेको थियो । दोस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएर बाहिरिने अवस्थामा पुगेको इङ्ल्यान्डले तेस्रो खेलमा १९ बलमै लक्ष्य पूरा गरेर जित हात पारेको थियो भने रनरेटमा पनि व्यापक सुधार गरेको थियो ।

अन्तिम खेलमा नामिबियालाई पराजित गरेपछि इङ्ल्यान्ड स्कटल्यान्डसँग समान अंक भएपनि नेटरनरेटमा अगाडि रहेर सुपर एट पुगेको थियो ।

दोस्रो चरणमा इङ्ल्यान्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । तेस्रो खेलमा अमेरिकासँग १० विकेटको जित निकालेर इङ्ल्यान्ड सेमिफाइनल पुगेको हो ।

जारी विश्वकपमा इङ्ल्यान्डका जोस बटलरले ७ खेलमा एक सय ९१, फिल साल्टले एक सय ८३ तथा भारतका रोहित शर्माले ६ खेलमा एक सय ९१, रिसभ पन्तले ६ खेलमा एक सय ६७, सुर्यकुमार यादबले एक सय ४९ रन बनाएका छन् ।

यस्तै, बलिङतर्फ भारतका अर्सदिप सिंहले ६ खेलमा १५ र जसप्रित बुमराहले ११ विकेट लिएका छन् । यस्तै, इङ्ल्यान्डका जोफ्रा आर्चरले ९ र अदिल रसिदले पनि ९ विकेट हात पारेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *