एसईई नतिजा : किन गणित विषयमा धेरै विद्यार्थी फेल हुन्छन् ?
के परीक्षा प्रणाली नै गलत हो ?
काठमाडौं । संसारमै कठीनमध्येको विषयमा पर्छ गणित । उच्च शिक्षामा पनि निकै चुनौतीपूर्ण हुने गणित माध्यमिक तहमा पनि गाह्रो देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफलमा नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीले नन ग्रेडेड (फेल) भएका छन् ।
एसईईपछिको विभिन्न प्राविधिक विषय अध्ययन गर्न महत्व पूर्ण विषय मध्येको एक गणितमा नै सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका देखिएका छन् ।
परीक्षामा ४ लाख ६४ हजार ७८५ जना सहभागी भएका थिए । जसमध्ये १ लाख ७७ हजार ९८५ जना विद्यार्थी गणित विषयमा फेल भएका छन् । दोस्रो नम्बरको विषय विज्ञान रहेको छ भने तेस्रो नम्बरमा अंग्रेजी रहेको छ ।
गणित विषयमा नै सबैभन्दा धेरै फेल भएपनि गणित विषयमा नै सबैभन्दा धेरै विद्यार्थीले ए प्लस अंक पनि ल्याएका छन् । गणितमा १९ हजार ७३६ जनाले ए प्लस ल्याएका हुन् । सबैभन्दा धेरै फेल हुने विषयमा नै विद्यार्थीले सबैभन्दा राम्रो अंक ल्याएका हुन् ।
गणित समाजका केन्द्रीय सदस्य तथा गणित केन्द्रीय विभागका उपप्राध्यापक डा. जीवन काफ्लेले समाजले गणित विषयलाई कसरी सरल र सहज बनाउन सकिन्छ भनेर काम गरिरहेको बताउँछन् । सरकारले केही समय पहिले ११ र १२ कक्षाबाट गणित विषय हटाउनेभन्दा समाजले नै भूमिका खेलेर गणित विषय राख्न सफल भएको उनले बताए ।
काफ्लेले गणित विषय विद्यार्थीलाई गाह्रो भएर नै पाठ्यक्रम विकास केन्द्रले ११ र १२ बाट हाटाउन खोजिएको विषयाम विरोध गर्नु भयो तर एसईईमा सबैभन्दा धेरै गणितमा नै विद्यार्थी फेल भए नि भनेर प्रश्नमा विशेष गरेर ३ वटा कारणले धेरै विद्यार्थी फेल भएको बताउँछन् ।
यस्तो छ काफ्लेको भनाइः
गणित विषय गाह्रो भएर मात्रै धेरै विद्यार्थी फेल भएका होइनन् । यहाँ धेरै कारणहरु छन । राज्यले पनि के कारणले एसईईमा धेरै विद्यार्थी फेल भएको हो भनेर कारण खोज्ने बेला आएको छ । उच्च शिक्षा हासिल गर्नका लागि गणितको महत्व धेरै छ । त्यो कुरा राज्यले बुझ्न आवश्यक रहेको छ । विद्यार्थी धेरै फेल हुने कारणहरुमा गणितको शिलेबस राम्रो नहुनु, गाह्रो प्रश्न पत्र छनोट गर्नु र गणितका शिक्षकलाई राज्यले तालिम दिन नसक्नु नै हो ।
गणितका शिक्षक अभावका कारणले पनि कमजोर नतिजा आएको हो । हाम्रो पाठ्यक्रमको प्रारुप र यसको कार्यान्वयनमा भएको समस्या पनि एक कारण हो । यसका साथै हाम्रो शिक्षण विधि पनि यसको जड हो । विगतमा राज्यले गणित विषयलाई ओझेलमा पारको थियो । गणित विषयको आफ्नो विशेषता भएका कारण पनि यो विषयमा विद्यार्थी फेल भएका हुन सक्छन ।
आजको समाजले सुन्ने र घोक्ने गणित होइन, सुन्ने, देख्ने र प्रयोग गर्ने गणित चाहेको छ । हामीसँग अहिले त्यस्तो गणित छैन । गणित विषयलाई व्यवहारिक बनाउनका लागि विद्यमान पाठ्यक्रम प्रारूपलाई परिमार्जन गर्नु अपरिहार्य छ ।
पहिलो कुरा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्दा सम्बन्धित विषय र क्षेत्रका विज्ञहरूले राष्ट्रिय आवश्यकता, विद्यार्थीको सामथ्र्य, भविष्य, रुचि तथा समकालीन विश्वका विभिन्न देशहरूमा भएका सफल प्रयोग र प्रचलनहरूतर्फ ध्यान दिनुपर्छ ।
नेपालमा गणित विषयको मात्र होइन अन्य विषयमा समेत निकै समस्या छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू कार्यशालाबाट बन्नुपर्नेमा कार्यदलबाट बन्नु आफैमा बिडम्बनापूर्ण छ । अर्को कुरा पाठ्क्रम कार्यान्वयनमा समस्या रहेको उनले बताए ।
क्रियाकलाप तथा परियोजना कार्यका माध्यमबाट गणितलाई रसिलो, सरल, सहज र जीवनोपयोगी बनाउने मूल मर्मका साथ ल्याइएको आन्तरिक मूल्याङ्कन विधिको मर्मलाई बेवास्ता गर्दा यस्तो समस्या आएको उनको बुझाइ छ ।
गणित विषयलाई लोकप्रिय बनाउनका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि गराउनु पहिलो आवश्यकता ठानेर नेपाल गणित समाजले शिक्षक तथा विद्यार्थीहरूको परियोजना कार्य (प्रोजेक्ट वोर्क) कार्यशाला, क्षमता अभिवृद्धि कार्यशाला, शिक्षण सिकाइ र अनुसन्धानलाई जोड्न दिइरहेको काफ्लेले बताए ।
आज राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो ।
एसईईमा ४ लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पद्दतीको फाइदा बेफाइदाको मुल्याङ्कन पक्ष त आगामी दिनमा हुने नै छ ।
शिक्षकमा राजनीति सट्टा शिक्षक गैरजिम्मेवार व्यवस्थापन तलव मात्र पचाउने मास्टर जिम्मेवार मन्त्रालय र मन्त्री कर्मचारी निकाय पैसाको पछिलाग्नु आदिका कारण
Dherai satahi bisleshan vayo. Sachikai samachar lekhne ho bhanu hami vandinchhau karanharu