स्थानीय तहको आन्तरिक आय : लक्ष्यमा पुग्दैनन् गाउँपालिका, नगरमा बढी – Nepal Press

स्थानीय तहको आन्तरिक आय : लक्ष्यमा पुग्दैनन् गाउँपालिका, नगरमा बढी

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको आन्तरिक आय ६६ लाख १६ हजार रुपैयाँ हुने अनुमान गरेको थियो । तर सो आर्थिक वर्षमा ४१ लाख २४ हजार ४०५ रुपैयाँ मात्रै आन्तरिक आम्दानी भयो । यो उपलव्धी कुल अनुमानको करिब ६२ प्रतिशत मात्रै हो ।

पूर्वीचौकीले मात्रै होइन जिल्लाका कुनै पनि गाउँपालिकाले आन्तरिक आयको लक्ष्य पछ्याउन सकेका छैनन् ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार बडीकेदार गाउँपालिकाले सो आर्थिक वर्षमा आन्तरिक आयको अनुमान ५० लाख रुपैयाँ गरेको थियो । सो गाउँपालिकाले सो अवधिमा २७ लाख ४१ हजार ३३१ अर्थात् ५४.८३ प्रतिशत मात्रै संकलन गर्न सक्यो ।

सायल गाउँपालिकाले सो अवधिमा ३९ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । सो गाउँपालिकाले पनि २८ लाख ७० हजार ६५८ अर्थात् ७२.६७ प्रतिशत मात्रै संकलन गर्न सक्यो ।

केआई सिंह गाउँपालिकाको सो अवधीमा आन्तरिक आय हुने अनुमान ७० लाख रुपैयाँ गरेकोमा ३० लाख ५३ हजार ४७३ अर्थात् लक्ष्यको ४३.६२ प्रतिशत मात्रै संकलन गरेको लेखापरीक्षण प्रतिवेदनले देखाउँछ ।

त्यस्तै, जोरायल गाउँपालिकाको बार्षिक आन्तरिक आयको अनुमान ४५ लाख रहेकोमा ३५ लाख ७९ हजार ८०५ अर्थात् ७९.५५ प्रतिशत मात्रै उठेको देखिन्छ ।

बोगटान फुड्सिल गाउँपालिकाले पनि लक्ष्य अनुसारको आन्तरिक आम्दानी गर्न सकेको देखिदैन । गाउँपालिकाले सो आर्थिक बर्षमा ३४ लाख ७० हजार आन्तरिक आम्दानी हुने अनुमान गरेकोमा १८ लाख ७० हजार २५८ अर्थात् ५३.८९ प्रतिशत मात्रै उपलव्धी हासिल गरेको छ ।

आदर्श गाउँपालिकाले पनि लक्ष्य अनुसारको आन्तरिक आय गर्न सकेन । ०७९/०८० मा गाउँपालिकाले ४० लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको थियो । तर, २८ लाख ९८ हजार ८०२ अर्थात् ७२.४७ प्रतिशत मात्रै उपलव्धी गर्न सक्यो ।

नगरपालिकाहरुमा लक्ष्यभन्दा बढी आन्तरिक आय

जिल्लाका सातवटै गाउँपालिकाहरुले लक्ष्य अनुसारको आन्तरिक आम्दानी गर्न नसकेको अवस्थामा जिल्लाका दुईवटै नगरपालिकाहरुले भने लक्ष्य भन्दा बढी आन्तरिक आय संकलन गरेका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकाले २०७९/०८० मा १ करोड ३६ लाख २१ हजार रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको थियो ।

सो अवधीमा नगरपालिकाले १ करोड ६५ लाख ८३ हजार ७८९ रुपैयाँ संकलन गरेको छ । सो रकम अनुमान भन्दा २९ लाख ६२ हजार ७८९ अर्थात् २१.७५ प्रतिशतले बढी आम्दानी गरेको छ ।

शिखर नगरपालिकाले पनि अनुमान भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । यस पालिकाको अनुमान ९९ लाख ८४ हजार ९९५ रहेकोमा १ करोड २० लाख ९८ हजार १८९ रुपैयाँ आम्दानी गरेको छ । सो रकम अनुमान भन्दा २१ लाख १३ हजार १९४ आर्थत् २१.१६ प्रतिशतले बढी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *