प्राविधिक शिक्षामा शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न अखिल समाजवादीको माग – Nepal Press

प्राविधिक शिक्षामा शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न अखिल समाजवादीको माग

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम केन्द्र (सीटीईभीटी) बाट मान्यता प्राप्त निजी शैक्षिक संस्थाको संगठन स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चले एकलौटी रुपमा शैक्षिक सत्रको मुखमा सामान्य चिकित्सा, नर्सिङ र फार्मेसी विषयमा २५ प्रतिशत शुल्क वृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) आपत्ति जनाएको छ ।

संगठनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्णयप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

नेपालको दलाल पुँजीवादी अर्थ प्रणालीले जनताको आर्थिक जिवन संकटपुर्ण वनिरहेको र देश निरन्तरको आर्थिक मन्दीवाट गुज्रिरहेको अवस्थामा संविधानले समेत कल्पना गरेको शिक्षाको मौलिक हक र निशुल्क शिक्षाको प्रावधान विपरित एकतर्फि शुल्क वृद्धि गर्ने निर्णय खेदजनक भएको संगठनको भनाइ छ ।

विद्यार्थी माथी शुल्क थोपर्ने काम नगरेर राज्यले शिक्षामा लगानी बढाउन र शिक्षाको व्यायभार राज्यले लिने निति लिनुपर्नेमा संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगठनका अध्यक्ष नरेन्द्र सीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सीटीईभीटीले शुल्क निर्धारण गर्ने विधि विपरित निजि संस्थाले एकतर्फि वढाएको चर्को शुल्क खारेज गर्न माग गर्दछौँ र आवश्यक कारवाहीका लागि सीटीईभीटी प्रशासन र शिक्षा मन्त्रालयसंग जोडदार माग गर्दछौँ । अन्यथा हाम्रो संगठन कडा संघर्षमा जाने विषय समेत स्पष्ट गर्दछौँ ।’

सोहि संगठनले बुधबार उत्तरपुस्तिका हराउन भूमिका रहेका त्रिविका कर्मचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो । योजनाबद्ध ढंगले उत्तरपुस्तिका गायब पार्ने कार्य भइरहेको आरोप लगाउँदै संगठनले संलग्न भनिएका त्रिविका परीक्षा नियन्त्रक लगायत गैरजिम्मेवार कर्मचारीलाई कारबाहीको लागि प्रदर्शनका साथै बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराललाई ज्ञापन पत्रसमेत बुझाएको थियो ।

२०८० वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय र शिक्षाशास्त्र संकायतर्फको शिक्षाको आधारका उत्तरपुस्तिका हराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर