एमाले लुम्बिनीमा ७ सदस्य मनोनीत, ६ जना जिल्ला अध्यक्षबाट बाहिरिएका समेटिए – Nepal Press

एमाले लुम्बिनीमा ७ सदस्य मनोनीत, ६ जना जिल्ला अध्यक्षबाट बाहिरिएका समेटिए

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले सात जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ । बिहीबार बसेको एमाले प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले उनीहरुलाई मनोनीत गरेको हो । मनोनीत पर्ने अधिकांश जिल्ला कमिटीको नेतृत्वमा नसमेटिएका छन् ।

मनोनीत हुनेहरुमा तेजेन्द्र केसी (रुपन्देही), डम्बर शर्मा (कपिलवस्तु), टोपवहादुर ओली (पूर्वी रुकुम), किस्मत कक्षपति (बाँके), हुकुमवहादुर बस्नेत (दाङ), लालवहादुर श्रेष्ठ (बर्दिया) र जसमा उमा विक (कपिलवस्तु) रहेका छन् । उनीहरुमध्ये उमा बिकबाहेक अहिले जिल्ला अध्यक्ष बनिसकेका हुन् । उनी माओवादी छाडेर एमाले प्रवेश गरेकी नेतृ हुन् ।

बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव तथा लुम्विनी इन्चार्ज पद्या अर्यालले पार्टीलाई एजेण्डाले नेतृत्व गर्ने भएकोले अहिलेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषयसहित चारवटा एजेण्डालाई आत्मसात गरेर पार्टी कामलाई अघि वढाउन आवश्यक रहेको बताइन् ।

उनले जनताका तात्कालीन र दीर्घकालीन एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई ग्यारेन्टी गरेर जानसक्दा मात्र सवै वर्ग र समुदायका एजेण्डालाई आत्मसात गर्न सकिने भएकोले तदनुसारका विषयलाई अभियानका रुपमा लैजान आवश्यक रहेको बताइन् ।

जनता दर्शन तथा दस्तावेज पढेर मात्र बस्दैनन् भन्ने कुरा पनि वुझ्नुपर्ने बताउँदै उनले भनिन्–‘पार्टी परिवर्तनको वाहक र देशको संरक्षक भएकोले पार्टीलाई जनतामा आधारित पार्टी बनाउनु जरुरी छ ।’

उनले कार्यकर्ताका पनि एजेण्डा दिएर करप्टेड र फ्रष्टेड हुनबाट वचाउनु, हरेक कार्यकर्ताले पार्टीलाई अभिभावक सम्झने अवस्था सृजना गर्नु र स्वयं नेता पनि सुध्रिन जरुरी रहेको बताइन् ।

‘आजका नेता कार्यकर्ताले नीति र प्रविधिलाई संगसंगै लैजान आवश्यक छ रहेकोले अबका बैठकमा यस्ता एजेण्डालाई छलफलको विषय बनाउनुपर्दछ’ उनले भनिन् ‘परम्परागत हिसावले हैन, विषय केन्द्रीत छलफल गर्ने, निश्चित समय तोक्ने, प्रविधिको सदुपयोग गरी आफ्ना धारणा पठाउने र आवश्यक पर्दा भर्चुअल माध्यमबाट पार्टीका वैठक र प्रशिक्षण सञ्चालन गर्नु जरुरी छ ।’

वैठकमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नौ वटा प्रस्ताव पेश गरेका थिए । जसअनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राजनीति नियुक्ति पाउनेको सम्मान तथा वार्षिक कार्ययोजना–२०८० को समीक्षा, वार्षिक कार्ययोजना–२०८१ प्रस्तुत, जिल्ला तथा मातहत कमिटीका वैठक र प्रदेश कमिटीको मनोनयन सम्वन्धी प्रस्तावहरु रहेको सचिव लक्ष्मण आचार्यले बताए ।

बैठकले पार्टीको मुखपत्र लुम्विनी सन्देशको प्रकाशनका लागि आवश्यक तयारी गर्ने, जिल्ला र पालिका कमिटीको कार्यालय तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने, वैठकले १० वूँदे समसामयिक प्रस्तावहरु पारित गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

वैठकमा पोलिटव्युरो सदस्यहरु दलवहादुर राना, वैजनाथ चौधरी, लिला गिरी, दधिराम न्यौपाने, खेममान खड्कालगायतले मिसन ८४ को पूर्वतयारी र पार्टी रणनीतिका विषयमा जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर