पारसको कार्यशैलीमा प्रश्न उठाउँदै क्यान उपाध्यक्षको चुनौती- बोर्ड बैठक लाइभ गर्ने हिम्मत छ ? (भिडिओ) – Nepal Press
नेपाल टक

पारसको कार्यशैलीमा प्रश्न उठाउँदै क्यान उपाध्यक्षको चुनौती- बोर्ड बैठक लाइभ गर्ने हिम्मत छ ? (भिडिओ)

‘उहाँ पराल जस्तो हो, म गुइँठा जस्तो हुँ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को गत अधिवेशनमा केन्द्रीय अध्यक्षका आकांक्षी थिए तत्कालीन कोषाध्यक्ष रोशन सिंह । तर, पछि उनी आफ्नो दावेदारीबाट पछि हट्दै उपाध्यक्षमा सेटल भए ।

अघिल्लो कार्यकालमा अध्यक्ष चतुरबहादुर चन्दसँग उनी व्यक्तिगत रुपमा निकट थिए । तर, क्यानको चुनावमा चतुर र पारस खड्का एक ठाउँ उभिएपछि सिंह कमजोर बने । अहिले चतुर, रोशन र पारस तीनै जना क्यानको नेतृत्वमा छन् । तर, क्यानमा सचिव पारस सबैमाथि हावी भइरहेको चर्चा चल्ने गरेको छ । एकातिर उनको कामको प्रशंसा गर्नेहरु पनि छन् र अर्कोतिर कार्यशैलीलाई लिएर प्रश्न उठ्न पनि छोडेको छैन ।

पारसप्रति क्यानभित्रै एउटा समूह निकै असन्तुष्ट छ । यो समूहको नेतृत्व उपाध्यक्ष सिंहले नै गरिरहेको बताइन्छ । नेपालले टी-२० विश्वकपमा भाग लिन जाँदै गर्दा विभिन्न विवादका विषयहरु सतहमा आएका थिए ।

सिंहलगायतका क्यानका केही पदाधिकारीले नै नचाहिँदो अफवाह फैलाएर भ्रम सृजना गर्न खोजेको आरोप पारसले लगाएका छन् । उपाध्यक्ष सिंह भने आफूहरुले गलत प्रवृत्ति र अनियमितताविरुद्ध आवाज उठाएको बताउँछन् ।

नेपाल प्रेससँगको लामो कुराकानीमा सिंहले सचिव पारसको कार्यशैलीप्रति खुलेर आलोचना गरे । विगतमा खेलाडीका रुपमा नेपाली क्रिकेटमा ठूलो योगदान दिए पनि क्यानमा आएपछि उनको भूमिका सन्तोषजनक नरहेको सिंहको आरोप छ । पारसमाथि उनले आर्थिक अनियमितताको आरोपसमेत लगाए ।

उपाध्यक्ष हुनुअघि सिंह क्यानका कोषाध्यक्ष र त्यसअघि केन्द्रीय सदस्य थिए । नेपाली क्रिकेटप्रति उनको ठूलो प्यासन छ । स्वयम् एक पूर्वखेलाडी पनि हुन् । उनले नेपालको राष्ट्रिय प्रतियोगितामा खेलेका थिए भने भारतका विभिन्न स्थानमा गएर पनि खेले । २०५५ सालमा खेलबाट रिटायर्ड भएपछि व्यवस्थापनमा आएका हुन् ।

२०५७ सालमा उनी क्यानको जिल्ला अध्यक्ष भएका थिए । सुरुसुरुमा आफ्नै पकेटको पैसा क्रिकेटमा खर्च गर्थे । क्यानमा आएपछि खेलाडीहरुको सेवा सुविधालाई लिएर उनले निरन्तर पहल गरेका थिए । साथै मूलपानीको मैदान निर्माणमा उनको ठूलो भूमिका छ । उनी आफैं जोतिएर काम गरेका थिए । नजिकबाट चिन्नेहरुले उनको मेहनत र लगावको प्रशंसा गर्ने गर्छन् । यद्यपि, अहिले उनीमाथि क्यानमा गुटबन्दी गरेको आरोप लागिरहे छ ।

नेपाली क्रिकेटको समसामयिक विषयवस्तुबारे उपाध्यक्ष राेशन सिंहसित गरिएको कुराकानीको प्रमुख अंशः

– तपाईं विश्वकप हेर्न अमेरिका किन नजानु भएको ?

क्यानको अध्यक्षसहित केही पदाधिकारीहरु जानुभएको थियो । सबै जना उतै गएर फेरि यता कसले हेर्ने ? त्यही भएर म चाहिँ गइनँ । तर, नेपालमै बसेर पनि नेपालको विश्वकपको आनन्द लिइयो । परिवार र साथीभाइसँग बसेर खेल हेरियो । नेपाली टीमलाई चियर अप गरियो ।

– विश्वकपमा नेपालको समग्र प्रदर्शनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

ओभरअलमा केटाहरुले खेलेकै हुन् । हामी एक महिना पहिलेदेखि तयारी गर्न गएका थियौं । टेस्ट टीमसँग वार्मअप खेल्न पाएको भए तयारी अझै राम्रो हुन सक्थ्यो । यसमा आईसीसीसँग समन्वय गर्न सकेनौं कि भन्ने प्रश्न उब्जेको छ । हामी सुपर ८ सम्म पुग्न पाएको भए ऐतिहासिक हुने थियो । तर, सानोतिनो गल्तीले गर्दा चुक्यौं ।

सबैभन्दा सुखद पक्ष चाहिँ अमेरिकाको रंगशालामा टीयू ग्राउन्डमा भन्दा सयौं गुणा बढी दर्शक ओइरिनुभयो । होम ग्राउण्डकै माहोल थियो । राष्ट्रिय झण्डा यूएसएको बाटोमा यत्रतत्र थिए । यो सबै हेर्दा आनन्द लाग्थ्यो । म सबै फ्यानहरुलाई सलाम गर्छु । यसैले त हामी विश्वकै नम्बर १ छौं, फ्यान फलोइङमा ।

– नेपालले टेस्ट टीमहरुलाई यसरी टक्कर दिन सक्ला भन्ने अपेक्षा तपाईंलाई थियो ?

मैले विश्वकपभन्दा अगाडि नै भनेको थिएँ कि हामी कुनै पनि टीमभन्दा कम छैनौं भनेर । मैले नेपालका खेलाडीहरुको खेल नजिकबाट नियालेको छु । उनीहरुको खेल्ने तरिका हेर्दा अनुभव गरेको थिएँ कि टी-२० मा कुनै पनि टीमसँग नेपालले प्रतिस्पर्धा गर्न सक्छ । हाम्रो ग्राउन्डमा त जुनसुकै टीमलाई पनि माथ दिन सकिन्छ । ओभरअलमा मैले सोचेकै जस्तो भयो ।

– विश्वकपमा यो प्रदर्शनबाट अब अन्तर्राष्ट्रिय समुदायले नेपाली क्रिकेटलाई हेर्ने नजर बदलिएला ?

हामीलाई मुख्य त, बीसीसीआई, एसीसी र आईसीसीले राम्रोसँग हेर्दिनुपर्‍याे । यसको लागि त सरकारले पनि पहल गर्नुपर्छ । जस्तो अफगानिस्तानमा लामो समय द्वन्द्व भएको कारणले खेल हुन नसक्दा भारतको सरकारले नोयडामा खेल्न दिएको थियो । हामीलाई पनि सरकारी स्तरबाट पहल भएमा धेरै अवसरका ढोकाहरु खुल्न सक्छन् ।

हामी एसिया कपबाट बञ्चित भयौं । अब आजकै दिनबाट २०२६ को विश्वकपको तयारीमा लागेनौं भने गाह्रो हुन्छ ।

– यस पटक क्यानले टीमको तयारीमा कुनै कसर छोडेको थिएन । खेलाडीको सेवा सुविधा पनि वृद्धि गरिएको थियो । यसमा कत्तिको आत्मसन्तुष्टि छ ?

खेलाडीको सेवा-सुविधा बढेको यत्तिकै होइन । यसमा पहिलेदेखि नै हामीले धेरै मेहनत गरेका छौं ।

म सन् २०१० मा राष्ट्रिय प्रतियोगिताका लागि टीम म्यानेजर भएर आउँदा डेढ सय भत्ता दिइन्थ्यो । त्यही पैसाले खानुपर्थ्याे । मैले विनय सरलाई कुरा गरेर ५०० पुर्‍याउने प्रस्ताव राखें र उहाँले पनि मान्नुभयो ।

हामी पुरानो टीम क्यानमा आउँदाखेरि पुरुष खेलाडीको मात्रै स्यालरी थियो । म्याच फिस थिएन । महिला खेलाडीको स्यालरी र म्याच फी केही पनि थिएन । जगत गुरु, म, प्रशान्त, जयन्ती, दुर्गाहरु ग्राउन्डमा गएर बहिनीहरुसँग बस्दा उहाँहरुले स्यालरीको गुनासो गर्नुभयो । हामीले चतुर सरलाई महिला खेलाडीलाई पनि स्यालरी स्टार्ट गरौं भन्दा अध्यक्षले गरौं न त भन्नुभयो । यस्तो कुरामा अध्यक्षज्यू सधैं पोजिटिभ हुनुहुन्थ्यो ।

२०२० जनवरीबाट स्यालरी दिन थाल्यौं महिलालाई । आज उहाँहरुको ५० हजारसम्म स्यालरी पुगेको छ । म्याच फि टी-२० को तीन हजारबाट पाँच हजार भएको छ । डोमेस्टिकको पनि १०० रुपैयाँ म्याच फी दिने व्यवस्था गरिएको छ । यो सबै हामीले व्यवस्थापन गरेका हौं ।

पुरुष टीमलाई आईसीसीले ५० डलर म्याच फी दिन्थ्यो, त्यसैमा चित्त बुझाउनुपर्थ्यो । त्यही पैसाले खानुपर्थ्यो । हामीले ओडीआईमा १० हजार र टी-२० मा पाँच हजार दियौं । मेरो सुरुदेखिकै नै चाहना खेलाडीको तलब एक लाख हुनुपर्छ भन्ने थियो । तर, अहिलेको कार्यकालमा म कोषाध्यक्षबाट हटें । उपाध्यक्ष र अहिले क्यालेन्डर संयोजक बनाउनुभयाे । एक खेलाडीलाई एक लाख तलब हुनुपर्छ भन्ने कुरा राखें । अध्यक्षज्यू पनि सहमत हुनुभयो ।

– तपाईंहरुको चाहिँ सेवा-सुविधा के छ ?

हामी त भोलिन्टियर हौं । हाम्रो केही पनि सेवा सुविधा हुँदैन । म्याच भएको बेलामा केही लिने गरेको छैन । बोर्ड बैठक बस्दा अध्यक्षलाई ६ हजार, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई ५ हजार, केन्द्रीय सदस्यलाई ४ हजार र प्लेन टिकट हुन्छ । अरु केही पनि छैन ।

– बोर्डका मान्छेहरुले चाहिँ शून्य तलब-सुविधामा कसरी काम गर्न सक्छन् त ?

हाम्रो आआफ्नो व्यापार-व्यवसाय छ । बोर्डले नीति र नियममात्र बनाउने हो । कार्यान्वयन गर्ने भनेको जीएम, फाइनान्स हेड र भित्रका कर्मचारीहरुले हो । सबै स्टाफ थ्रु जाने हो । बोर्डका १७ जना विशुद्ध भोलेन्टियर हौं । मलाई क्यानको उपाध्यक्ष भन्दा मान सम्मान गर्छन् । म यसमै खुशी छु । क्रिकेटमा केही गर्नुपर्छ भनेर आएका हौं । आर्थिक रुपमा केही लोभ छैन ।

– अघिल्लो चुनावमा तपाईं क्यानको अध्यक्ष नै उठ्ने योजनामा हुनुहुन्थ्यो । फेरि किन उपाध्यक्षमा चित्त बुझाउनुभयो ?

मैले चतुर दाइलाई भनेको थिएँ कि देशभर हजुरको राम्रो भए मैले हजुरलाई समर्थन गर्ने हो । मेरो राम्रो भयो भने मलाई आशीर्वाद दिनुपर्छ । पछि उहाँले तिमी उपाध्यक्ष बस भन्नुभयो । उहाँले दुःख पनि गर्नुभएको छ । हामीले क्रिकेटका लागि सम्झौता गरेका हौं ।

– चतुरजी पारस खड्कातिर लागेपछि तपाईं बाध्य भएर उपाध्यक्ष स्वीकार्नु परेको होइन ?

चतुरजीले आफूलाई गाली गर्ने मान्छेलाई आज ठाउँमा उभ्याएर आँखा तल राख्ने वातावरण पनि बनाउनुभएको छ । हिजो जसले स्याल भएर आँखा देखाइरहेको थियो, आज आँखा झुकाएर तल बसेको छ । म त हिजो पनि नजिक थिएँ । आज पनि नजिक छु । पारिवारिक रुपमै हामी निकट छौं ।

– तपाईं कोषाध्यक्ष हुँदा क्यानलाई ऋणमा डुबाउनुभएको थियो, अहिले पारस सचिव भएपछि उकास्नुभयो भन्ने चर्चा छ । यो कति सत्य हो ?

मैले विभिन्न न्यूजबाट सुनें कि क्रिकेट संघ लाभैलाभमा गयो भनेर । मैले ऋण बोकाएँ भन्नेलाई ऋण केलाई भनिन्छ भन्ने ज्ञान हुनुपर्छ । क्यानले आईसीसी, एसीसीसँग ऋण लिएको छ त ? म कोषाध्यक्षबाट हट्दा २ करोड ८१ लाख रुपैयाँ बचत थियो । मैले कसरी ऋण बोकाएँ ? बजारमा १०-२० लाख उधारो त भइहाल्छ ।

म हिजो कोषाध्यक्ष हुनुअघि टीडीएसको पैसा १ करोड ६० लाख चलाउनुभएको थियो गैरकानूनी रुपमा । हामीले त्यसबाट मुक्त गर्‍याैं । राखेपको २ करोड ७० लाख बेरुजु थियो । अब ५०-६० लाख बाँकी होला । गाडीको १२-१५ लाख रुपैयाँ कर तिरिएको थिएन । बिजुलीको ट्रान्समिटर केही थिएन । चार वर्ष कर्मचारीले स्यालरी पाएका थिएनन् । अशोक दाइले आईसीसीसँग कुरा गरेर सेटल भयो ।

हामीले एक वर्षसम्म खाता रोक्का हुँदा पैसा उठाएर पनि खेल्न पठाएका छौं । टुर्नामेन्टहरु गराएका छौं । आर्थिक नियमावली कार्यविधि पनि बनायौं । जसले ऋण बोकायौं भन्छन्, उनीहरुलाई के भन्ने अब ? हिजोकै अध्यक्ष हुनुहुन्छ । म हिजोको कोषाध्यक्ष, आज उपाध्यक्ष छु । मैले ऋणमुक्त गरें भनेर कसैले भन्छ भने यो उसको घरको संस्था हो ? सबै साथीको मेहनतले मात्र चुक्ता हुन्छ । एउटा व्यक्तिले गरेरमात्र कुनै पनि संस्था उँभो लाग्दैन ।

तपाईं इमानदार भएको भए टुर्नामेन्ट सकिएको १५ दिनमा आयव्यय विवरण किन पेश भएन ? जो चोर उसकै ठूलो स्वर ?

– कसलाई भन्न खोज्नुभएको हो ? पारस खड्कालाई ?

म व्यक्ति विशेषमा जान्न । जसले भनिरहेको छ, उसलाई जवाफ दिइरहेको छु ।

– पारस खड्का आएपछि क्यान आर्थिक रुपमा समृद्ध भइरहेको, क्रिकेटमा आमूल सुधार भइरहेको चर्चा सुनिन्छ नि ?

गर्ने मान्छे को हो त ? नाम आउँदैन । राम्रो काम जति तपाईंको, नराम्रो रोशन सिंहको ? नराम्रोको पनि जिम्मा लिनुपर्‍याे नि त ! पुरानो टीमले काम गरेकाले क्रिकेट संघ यहाँसम्म आएको हो । कसैले यहाँ जादुको छडी चलाएको छैन । यो अध्यक्षमुखी संस्था हो । कसैले मैले आएर गरें भन्छ भने त्यो फट्याइँमात्र हुन्छ । संस्थामा एक्लो व्यक्तिले गर्न सम्भवै छैन । सबै टीमले गर्नुपर्छ ।

– तर, टीमवर्कमा तपाईंहरुले नै अवरोध गर्नुभएको, अध्यक्ष र सचिवविरुद्ध गुटबन्दी गर्न खोज्नुभएको आरोप छ नि ?

हामी उहाँहरुको विरुद्ध किन जाने ? हाम्रोविरुद्ध पो उहाँले गुटबन्दी गरिरहेको हो कि ? बोर्ड मिटिङ राखौं न !

– पछिल्लो बोर्ड बैठकमा तपाईं किन उपस्थित नहुनुभएको त ?

वर्ल्ड कपपछि बोर्ड बस्ने कुरा भएको थियो । तर, एक्कासि बोलाइयो । मेरो छोरोको एड्मिसनको बेला परेको थियो । मैले अध्यक्षलाई जानकारी गराएको थिएँ । ३ बजे खबर आयो, ५ बजे हायातमा बोर्ड मिटिङ छ भनेर । चतुर दाइकै अघिल्लो कार्यकालमा अफिसमै बोर्ड मिटिङ राख्ने सिस्टम बनाएका थियौं । तर, साथीहरुलाई केको हतार थियो कुन्नि ! जिल्लालाई पैसा दिने वातावरण छैन । फाइभ स्टार होटलमा किन बोर्ड राख्ने ? आम्दानी उल्का छ भने ग्रासरुटलाई पैसा पठाऔं न ! मेरो प्रपोजल किन पास गर्नुभएन ?

तपाईं (पारस) लाई ग्रासरुट थाहै छैन । जिल्लामा गएर दुई वटा टुर्नामेन्ट गराउनुभएको छ ? ओइलाएको फूल चाँडै झर्छ । शीतको थोपा पर्नुपर्छ बल्ल फुल्ने हो । त्यो भएको छैन । क्रिकेटको माहोल चेञ्ज गर्ने हो भने खोइ जिल्ला र प्रदेशलाई कोच ? तीन महिनामा दुई करोड कमाउनुभो भने लगाउनुस् न जिल्ला र प्रदेशमा ! पूर्वाधारको तयारी गर्नुस् न । सात प्रदेशमा सात एकेडेमी खोल्नुस् । त्यसमा पहिलो हस्ताक्षर मेरो हुन्छ । हामीले उठाएको एजेन्डा गलत लाग्छ भने आफ्नो एजेन्डा ल्याउनुस् ।

तपाईं सही हुनुहुन्छ भने लाइभ गर्नुस् न बोर्ड बैठक । जनताले दूधको दूध, पानीको पानी छुट्याइहाल्छन् नि, केको गाह्रो ? तपाईंको अनुहार राम्रो भएर हुँदैन, काम राम्रो गरेर देखाउनुस् ।

– क्यानमा अध्यक्षमाथि सचिव हावी हुनुभएको हो ?

विधानले धेरै पावर सचिवलाई दिएको छ । तर, सचिवले अध्यक्षसँग समन्वय गर्नैपर्ने हुन्छ । मैले बुझ्दा सचिवले अध्यक्षलाई जानकारी नदिएका धेरै कुराहरु छन् । मैले अध्यक्षज्यूलाई भनेको छु । उहाँले ‘काम गर्न देऊ न त’ भन्नुहुन्छ । व्यक्तिले आफूखुशी काम गर्नु भनेको समग्र संस्थालाई अप्ठेरो पर्नु हो । भोलि बोर्ड बैठकले पास नगरे के हुन्छ ? घरको काम होइन नि ! संस्थागत हुनुपर्‍याे । सबैलाई विश्वासमा लिनुपर्‍याे । मेरो गोरुको बाह्रै टक्का चल्दैन ।

– भनेपछि सचिवप्रति तपाईंहरुको विश्वास समाप्त भएको हो ?

त्यो बोर्ड बैठकमा भन्ने हो । उहाँमाथि प्रश्न बोर्डमा राख्ने हो । समग्रमा हेर्ने हो भने विभिन्न कुरा आइरहेको छ । मैले बोलिरहनु पर्दैन ।

– तपाईंहरुले नै नचाहिँदो अफवाहहरु फैलाएर क्यानलाई बदनाम गर्न खोज्नुभएको आरोप पनि त लागेको छ । जस्तो कि क्यानले सन्दीप लामिछानेलाई १५ सदस्यको सूचीमा नराखेकाले अमेरिकाले भिसा नदिएको हल्ला गर्दै हिँड्नुभएको थियो, त्यो त झूटो सावित भयो नि ?

उहाँहरुले नै १ महिना २४ गते राखेपलाई पत्र लेख्नुभएको छ । कि मैले लेखेको होइन भन्न सक्नुपर्‍याे । यस्तो पत्र लेख्ने अधिकार त सचिव या जीएमलाई नै छ । त्यो पत्रमा सन्दीप २५ सदस्यभित्र छैन । अहिले पनि यही भन्छु । सन्दीपको फैसला नआउँदै स्क्वाड बनाउन उहाँहरुलाई हतार के थियो ? १० दिनका लागि आईसीसीलाई मेल गर्न सक्नुहुन्न ? चतुर सरको राम्रो थियो आईसीसीमा । तर, उहाँलाई पनि बाइपास गरेर तपाईंले (पारस) कुरा गर्नुभएको छ ।

– कसलाई इंगित गरेर भन्न खोज्नुभएको हो, अलि प्रष्ट शब्दमा भनिदिनुस् न ?

मैले जसलाई इंगित गरेको छु, उहाँले बुझ्नुहुन्छ । ठीक छ । पछिबाट साथीहरुले मेहनत गर्नुभयो । हामीले पनि पहल गर्‍याैं । त्यो सबै पहलले गर्दा आज सन्दीपले विश्वकप खेल्न पाएको हो ।

– भनेपछि तपाईंको बुझाइमा क्यानको कमजोरीले गर्दा नै अमेरिकाले सन्दीपलाई भिसा नदिएको हो ?

यूएस एम्बेसीको विषयमा बोल्न चाहिनँ । तर, कहीँ न कहीँ हाम्रा साथीहरुको गल्ती हो ।

– क्यान अध्यक्षलाई पनि २५ सदस्यीय स्क्वाडमै राखेर अमेरिका पठाइयो । पछि फेरि उहाँलाई रिप्लेस गरियो । यो कमजोरी कोबाट भएको हो ?

हो । स्क्वाडमा उहाँको नाम देखेपछि मैले चतुर दाइलाई फोन गरें । रोशन म ३-४ दिनमा बैतडीबाट आउँछु, अनि बुझ्छु भन्नुभयो । मैले ग्राउन्डमा सचिवलाई भेटेर सोधें । के भो त, अरु देशको पनि जान्छ भन्नुभयो । होला भनें । अध्यक्षज्यू आउनुभो । मलाई सचिवले यसरी नै जाँदा ठीक हुन्छ भनेको छ भन्नुभयो । अध्यक्षलाई पनि गुमराहमा राखिएको थियो । मेल हेर्ने काम सचिव र जीएमको मातहतमा हुन्छ । अध्यक्षलाई अफिसियलको कोटामा पठाउने होइन नि त ! पछि अध्यक्ष स्वयंले रियलाइज गर्नुभयो । सही सल्लाह नदिँदा उहाँको बदनामी भएको छ । नत्र हाम्रो अध्यक्षज्यू त्यस्तो मान्छे होइन ।

विश्वकप हेर्न अमेरिकामा जाने भनेर नगरपालिकाका मेयर, वडाध्यक्षलगायत १२-१५ जनाको नाम सुनें । क्यानले सिफारिस गरिदिएको रहेछ । बोर्ड बैठकमा कसलाई अमेरिका पठाउने भनेर कुनै निर्णय भएको छैन । यो विषयमा प्रधानमन्त्री कार्यालयबाट तीन जनालाई कारबाही गरेको समाचार पनि कतै पढेको हो ।

प्रक्रिया के हो भने कार्यसम्पादन वा बोर्डबाट फलाना व्यक्ति जान्छ भनेर सुरुमा पास हुनुपर्छ । त्यसपछि राष्टिय खेलकुद परिषद् जान्छ । अनि खेलकुद मन्त्रालय जान्छ । खेलकुदबाट परराष्ट्र मन्त्रालय जान्छ अनि परराष्ट्रले एम्बेसीमा पठाउँछ । तर, यहाँ त मनलाग्दी भएको छ । यसमा छानबिन हुनुपर्छ । छानबिन गरेर कारबाही गर्नुपर्छ । गलत गर्नेलाई छाड्नुभएन ।

– विश्वकप तयारीका लागि सरकारले ५ करोड दिएको थियो । त्यो पैसा केमा खर्च भयो ?

५ करोडबाट एड्भान्स डेढ करोड लिएका छौं । आईसीसीले पनि तयारीका लागि ५ लाख डलर जति दिएको हुन्छ । यसअघि एसिया कप क्वालिफाई भएपछि पनि ५ लाख दिएको थियो । यसको हिसाब पनि पारदर्शी छैन ।

एउटा टुर्नामेन्ट सकिनेबित्तिकै यति आम्दानी, यति खर्च, यति उधारो भनेर सबै देखाएको भए हाम्रा साथीहरुले यति राम्रो काम गर्नुभएको छ भन्थ्यौं । आज ८ महिना भइसक्दा पनि हिसाब आएको छैन । म उपाध्यक्ष छु, तर मलाई नै थाहा छैन ।

– क्यानको आर्थिक अवस्था के हो तपाईंलाई थाहा छैन ?

थाहा भएको भए जवाफ दिइहाल्थें नि ! केही पनि थाहा छैन ।

– यसमा त सचिवभन्दा पनि कोषाध्यक्ष जिम्मेवार हुनुपर्ने होला नि ?

चाँडै नै अध्यक्षज्यूले बोर्ड बैठक राख्नुहुन्छ होला । यसमा हामी सबै विषय उठाउनेछौं । मेयरलाई चिठी कसरी गयो ? उधारो कति छ, नगद कति छ ? धेरै विषय छन् । हामीले टिपोट गरेका छौं । बोर्ड बैठक लाइभ गर्नुपर्छ ।

– क्यानले सचिवलाई विश्वकपअघि के प्रयोजनका लागि अमेरिका पठाएको थियो ?

अमेरिका पठाएको होइन, उहाँ कसरी जानुभयो भन्ने पनि थाहा छैन । नेपाली टीम इन्डिया जाने बेलामा खेलाडीसँग ब्याटमा र जर्सीमा साइन गराएको देखेर सोधेको थिएँ । कसैलाई गिफ्ट होला भनेर वास्ता गरिनँ । अहिले आएर सचिवज्यूले म आफ्नो खर्चमा अमेरिका गएको थिएँ भन्नुभएको छ । फेरि तीन-चार ठाउँबाट पैसा आउनुपर्ने पनि भन्नुभएको छ ।

कार्यसम्पादनमा यो यो कामले अमेरिका जाँदैछु भनेर गएको भए हुन्थ्यो । आफूले पैसा खर्च गरेर किन जानु ? क्यानकै पैसामा जान सक्नुहुन्थ्यो । क्यानको कामलाई १२-१५ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेर अमेरिका गएको भन्दा कसरी विश्वास गर्ने ? सोच्नुपर्ने कुरा हो कि होइन ? अध्यक्षलाई ब्याट साइन गरेर गएको विषयमा सोध्दा उहाँले थाहा छैन भन्नुभयो । कति पैसा कलेक्सन भयो भन्दा पनि थाहा छैन भन्नुभयो ।-

– अध्यक्षलाई केही पनि थाहा नहुने ? उहाँ रबरस्ट्याम्प मात्र हो र ?

सचिवज्यूले आफ्नो व्यक्तिगत खर्चले गएको भनेपछि अध्यक्षलाई थाहा दिनुपर्छ भन्ने पनि छैन । अध्यक्षले पर्सनल गएको हो भन्नुभयो । तर, तपाईं क्यानको कार्यक्रम बनाएर जाँदै हुनुहुन्छ भने कार्यसम्पादनलाई, बोर्डलाई जानकारी दिने कि नदिने ? फर्केपछि यति पैसा उठ्यो भनेर बोर्डमा जानकारी दिने कि नदिने ? मिडियाले उठाइसकेपछि विभिन्न ठाउँबाट पैसा आउँदैछ रे भनेर हुन्छ ? कति आउँदैछ ? तपाईंलाई त्यो जिम्मेवारी दिएर पठाएको त थिएन ।

– सचिव पारस खड्काले अमेरिका गएर आर्थिक अनियमितता गरेको तपाईंको आशंका हो ?

मैले बोल्दै पर्दैन, उहाँको कार्यशैलीले बताइरहेको छ । विभिन्न ठाउँमा गएर पैसा संकलन गर्नुभयो । तर, कार्यसम्पादनको ग्रुपमा राख्न सक्नुभएको छैन, मैले यति पैसा उठाएँ भनेर । कसरी विश्वास गर्ने ?

– सबै कुरा त बोर्ड बैठकमा राख्नुहोला नि ?

उहाँलाई क्यानले पठाएकै छैन भने बोर्ड बैठकमा राख्नुपर्ने के आवश्यकता छ र ? आफ्नो मनले गइसकेपछि जर्सी लिलामी गरेको पैसाले यो गर्दैछु भनेर बोर्डलाई जानकारी गराउनुपर्छ त ?

– पारस खड्कालाई एउटा खेलाडीको रुपमा क्रिकेट समर्थकले एकदमै सम्मान गर्छन् । नेपाली क्रिकेटलाई उहाँले दिनुभएको योगदानलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?

प्लेयर त असाध्यै राम्रो हो । उहाँले राम्रो खेलेर नै आज नेपाल डिभिजन २ हुँदै विश्वकप क्वालिफाइसम्म पुग्न सफल भएको छ । खेलाडी रुपमा नो डाउट । तर, उहाँको काम गर्ने शैली भएन । क्रिकेट संघलाई अगाडि बढाउने क्षमता नै देखिएन ।

– काम त गरिरहनुभएको छ, अब के क्षमता देखाउनुपर्‍याे ?

यहाँ बसेर फोनको भरमा हुँदैन । नेपालले राम्रो टीमहरुसँग खेल्न खोइ पहल ? विभिन्न देशहरुमा आफैं पुगेर कुराकानी गर्नुपर्छ ।

हामीले इतिहासमा पहिलो पटक एसिया कप नेपालमा ल्यायौं । त्यो हाम्रो रिलेसनसीपले आएको थियो । चतुर, प्रशान्त र मेरो पहल थियो । म तीन पटक दिल्ली गएँ जय शाहसँग भेट गर्नलाई । म आफ्नो पैसाले गएँ भन्दिनँ । होटलमा बसेको बिलहरु अहिले पनि छ । मैले कुराकानी गरें । तुसिर र प्रभाकरण नेपाल आए । मूलपानीको ग्राउन्ड हेरेपछि नेपालमा एसिया कप क्वालिफाइ हुँदैन भने । चतुर दाइले ‘पख म रोशनलाई सोध्छु’ भन्नुभएछ । म घरमा थिएँ, काठमाडाैं आएँ । प्रभाकरणलाई पशुपति दर्शनमा लिएर गएँ । ऊसँग कुराकानी गर्दै जाँदा दाजुभाइको सम्बन्ध भयो ।

५० दिन बाँकी थियो प्रतियोगिता आउन । त्योभन्दा अगाडि पूरै ग्राउन्ड बनाउन नसकेमा क्रिकेट संघमै बस्दिनँ भनें । ‘भैया आप हमको फसाओगे’ भन्दै थियो । मैले डे बाइ डे अपडेट पठाइदिन्छु भनेर कन्भिन्स गरें । मैदानमा सीसी क्यामरा जोड्न लगाएँ । ४५ दिनमा ग्राउन्ड तयार पारेपछि ऊ सरप्राइज भयो । त्यसरी काम गरेको हो । म आफैंले जेसीभी चलाएको हो । बिहान ४ बजेदेखि खट्थें । यसरी एसिया कप ल्याउन सफल भयौं ।

अब एसीसी, आईसीसीको प्रोग्राम कसरी ल्याउने ? भाडभैलो गरेर आउँदैन । एकजुटता चाहिन्छ । जसको जहाँ क्षमता छ, त्यो चिजले काम गर्नुपर्छ । टीम वर्क काम मिलेर गरौं । विरोधी होइनौं हामी ।

– अध्यक्षलाई सचिवले घुमाइरहनु भएको छ भन्ने तपाईंको कुरा हो ?

उहाँ (अध्यक्ष) यसरी घुम्ने मान्छे होइन । समयले गर्दा साथ नदिएको होला ।

– पहिले तपाईं अध्यक्ष चतुरबहादुर चन्दको विश्वासपात्र हुनुहुन्थ्यो । यो कार्यकालमा चाहिँ उहाँले पारससित मिलेर आफूलाई बाइपास गरिरहेको महसुस गर्नुभएको छ ?

बाइपास गरेको भए त बरु राम्रो हुन्थ्यो । खुलेर बोल्न त सजिलो हुन्थ्यो । उहाँ (चन्द) राम्रो मान्छे हुनुहुन्छ । हाम्रो दाजुभाइको सम्बन्ध हो । उहाँलाई थाहा छ कि म घर छोडेर क्रिकेटका लागि आएको हुँ । नत्र काठमाडौंको वातावरण रुचाउने मान्छे होइन । मेरो त घरमा बिहानदेखि बेलुकासम्म मान्छेको ओइरो लाग्छ । त्यो छोडेर आएको । उहाँले पनि स्ट्यान्ड लिन सक्नुपर्‍याे ।

– क्यानका केही पदाधिकारीले नचाहिँदो अफवाह फैलाएको भनेर सचिवले कारबाहीको चेतावनी दिनुभएको छ । कारबाही सामना गर्न तयार हुनुहुन्छ ?

कारबाही गरेर देखाए भइगयो नि ! कारबाही गर्न त आँट पनि हुनुपर्‍याे । सार्वजनिक रुपमा नै भन्छु, कारबाही गरेर देखाउ । ट्याउ ट्याउ बोलेरमात्र हुँदैन । यस्ता कारबाही धेरैलाई भएको छ । म फलानालाई कारबाही गर्छु भन्ने कथामात्र बन्ने छ । उहाँको शरीरभित्र व्यथा भएर बस्नेछ । सजिलो छैन ।

– तपाईंको अध्यक्ष चन्दप्रति कुनै चित्त दुखाइ छ ?

उहाँ हाम्रो अभिभावक हो । उहाँले सबैको कुरा सुन्नुपर्छ र मनन गर्नुपर्छ । कसैले गलत गरेको खण्डमा औंला ठड्याउनुपर्छ । तपाईंले छुट दिनुभयो भने टाउकोमा गएर बिन बजाउँछन् । नेतृत्व गर्ने र सही निर्देशन दिने काम अध्यक्षको हो । गलतलाई गलत भन्नुपर्छ । यसमा उहाँ अलिकति चुक्नुभएको छ । उहाँ आफैंले पनि त्यो फिल गर्नुभएको छ ।

– क्यानमा उपाध्यक्षको भूमिका चाहिँ के रहेछ ?

उपाध्यक्षको रोल चाहिँ अध्यक्ष नभएको बेलामा हुन्छ । अध्यक्षज्यू बाहिर जाँदा मलाई कार्यबाहक दिएर जानुपर्ने हो । उहाँले ‘तिमीलाई चाहिन्छ भन्नुहुन्छ ?’ म ‘दाइ तपाईं नै राख्नुस्’ भन्छु । मलाई पदभन्दा पनि काम गर्ने ठाउँ भए पुग्यो । विधानले अध्यक्षपछि उपाध्यक्ष हुन्छ भनेको छ । तर, काम गर्ने ठाउँ दिनुपर्‍याे । प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्री छन् नि ! सबैलाई एउटा एउटा मन्त्रालय दिएको छ ।

यहाँ त एक जना उपाध्यक्ष छन् । तर, जिम्मेवारी छैन । उपाध्यक्षको मर्यादा पनि बुझ्नेले बुझ्नुपर्‍याे । अनुहारमात्र टल्काएर भएन, ज्ञान पनि हुनुपर्‍याे । तपाईंले सिनियरलाई मानसम्मान गर्नुभएन भने भोलि तपाईंलाई घरपरिवारले सम्मान गर्दैन । पराल एकचोटि ह्वार्र बल्छ र निभ्छ । हामी गुइँठा हौं । गुइँठा लामो समय बलिरहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर