१९ दिनपछि मनसुन थप सक्रिय, कहिलेसम्म कहाँ-कहाँ छ प्रभाव ? – Nepal Press

१९ दिनपछि मनसुन थप सक्रिय, कहिलेसम्म कहाँ-कहाँ छ प्रभाव ?

काठमाडौं । गत जेठ २८ गते कोशी प्रदेशको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन आजदेखि थप सक्रिय भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि अझ वर्षा बढेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी अझै केही दिन बढी पानी पर्ने भएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावको कारण अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी साथै कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौंमा पछिल्ला केही दिन पुन: तापक्रम बढिरहेको बेला आज रातभरीको पानीले राहत दिएको छ । उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती, धोबी खोलालगायतका जलाशयहरूमा पानीको सतह बढेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आइतबारसम्म मेघगर्जन/चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *