भारत टी-२० विश्वकपको फाइनलमा – Nepal Press

भारत टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।

बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हरायो । १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो । भारतका अक्सर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके ।

पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको इङ्ल्यान्ड त्यसपछि ४९-५ को स्थितिमा पुगेको थियो । माथिल्लो क्रमका ३ विकेट लिएका अक्सर प्लेयर अफ दी म्याच घोषित भए । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले २० ‌ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ५७ र सूर्यकुमार यादवले ४७ रन बनाए । हार्दिक पान्ड्याले २३, रविन्द्र जडेजाले १७ र अक्सर पटेलले १० रन जोडे ।

पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो । त्यसयता उसले यो प्रतियोगिता जित्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *