लुम्बिनीको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा दलहरूको जोड – Nepal Press

लुम्बिनीको दोस्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा दलहरूको जोड

रुपन्देही । पहिलो आवधिक योजना पूर्ण नभएको भन्दै लुम्बिनी प्रदेशमा क्रियाशील राजनीति दलहरूले प्रदेश योजना आयोगलाई प्रारम्भदेखि नै यसको कार्यान्वयनमा लैजानेगरी योजना बनाउन सुझाव दिएका छन् ।

दोस्रो आवधिक योजना तर्जुमाका लागि आयोगले गरेको छलफलमा उनीहरूले विगतका कमजोरी सुधार्दै कृषि र पर्यटन क्षेत्रमा दीर्घकालीन योजना बनाउन सुझाएका हुन् । लुम्बिनीमा कृषि र पर्यटनको सम्भावना भएकोले विगतमा लागू योजनाको परिमाण कम दिएको भन्दै उनीहरूले उपलब्धिमूलक योजनामा जोड दिएका हुन् ।

लुम्बिनी प्रदेश योजना आयोगले दोस्रो आधार पत्रमा टेकेर दोस्रो आवधिक योजना लागि दलहरूसँग विभिन्न सुझाव सङ्कलन गरेको हो । पहिलो आवधिक योजना कुल गार्हत्थ उत्पादन, गरिबीको दर, पोषण, बाल मृत्युदर आदिमा लक्ष्य भेटाउन सकेको छैन ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य यज्ञ पोखरेलले लुम्बिनी प्रदेशमा पहिलो आवधिक योजनामा धेरै सूचाङ्कहरु असफल हुनुको कारण खोजी गरेर नयाँ बनाउनुपर्ने बताए । नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी अध्यक्ष डा. सरोज सिंह चौधरीले प्राविधिक शिक्षा जोड दिँदै दक्ष जनशक्ति तयार पाउनुपर्ने बताए । राष्ट्रिय जनमोर्चा प्रदेश उपाध्यक्ष बद्रे आलमले ग्रामी स्तरमा पनि पर्यटकीय विभिन्न ठाउँहरू रहेकोले पर्यटनलाई रोजगारीसँग जोड्नु पर्ने बताए । उनले कृषि आधारभूत भए पनि पुरातन शैलीका काम भएको भन्दै प्रदेशले कृषि र सिचाइलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले योजना कार्यान्वयन लागि तीन तहका सरकारबीच समन्वयन अभाव देखिएको बताउँदै परिमाणमुखी योजना बनाउनुपर्ने सुझाएका छन् । उनले कृषि र शिक्षामा जोड दिनुपर्ने बताए । माओवादी लुम्बिनी प्रदेश सहसचिव पार्वती विकले प्रदेशमा जडीबुटीमा आधारित स्वास्थ्य, जडीबुटी उद्योग स्थापना गर्नको लागि प्राथमिकता राख्नुपर्ने बताइन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका राजनीति सल्लाहकार निर्मल आचार्यले भौतिक संरचनाको मात्रै केन्द्रीय नभई जनताको जीवनस्तर उकास्ने गरी योजनाहरू बनाउनुपर्ने सुझाव दिए । उनले पूर्वाधारसँग नागरिकको जीवन शैलीमा सुधार हुने गरी योजना आउनुपर्ने बताए ।

यस्तै राप्रपाका प्रदेश सचिव राजेन्द्र अधिकारी, एमाले प्रदेश उपसचिव लीला राना लगायतले प्रदेश योजना आयोगहरूले जनताको जीवनस्तरसँग जोड्नुपर्ने सुझाव दिएका थिए । लुम्बिनी प्रदेश योजना आयोगले साउनदेखि लागू हुने गरी ५ वर्षे आवधिक योजनाको तयारी क्रममा आधार पत्र तयार पारेको छ । सोही आधारमा परिमार्जन गर्दे दोस्रो आवधिक योजना लागू गर्ने लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर बताउँछन् ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनालले प्रदेशमा तथ्याङ्कको समस्या रहेकोले अहिले तीनै तहको समन्वयनमा तथ्यांङ्क सङ्कलनको लागि युनिट खडा गरेको बताउँदै संविधानले दिएको अधिकारअनुसार योजना आयोगले आगामी ५ वर्षे योजनाहरूले निर्माणको क्रममा रहेको जनाए ।

योजना आयोगलाई आधार पत्रको आधारमा सबै दलको साझा दस्तावेज बनाउने गरी काम गरिरहेको बताउँदै उनले प्रदेशका गौरवका आयोजना समयसापेक्ष बनाउने रणनीति योजना आयोगको रहेको र सरकारको आवधिक योजनाको वार्षिक कार्यक्रम जोड्ने गरी गृहकार्य भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर