यूएम सहकारीका ३ जना पौने ८ करोड बचत हिनामिना अभियोगमा थुनामा, १२ जनालाई पक्राउ अनुमति – Nepal Press

यूएम सहकारीका ३ जना पौने ८ करोड बचत हिनामिना अभियोगमा थुनामा, १२ जनालाई पक्राउ अनुमति

काठमाडौं । सहकारीको झण्डै पौने ८ करोड बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका तीनजनालाई सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

काभ्रेको बनेपामामा मुख्य कार्यालय रही सिन्धुपाल्चोकको बाह्रबिसे, खाडिचौर र चौतारामा शाखा रहेको यूएम बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृतसहित तीनजनालाई पक्राउ गरी अदालत बुझाएको थियो । अदालतले फरार १२ जनालाई पक्राउ गर्नसमेत अनुमति दिएको छ ।

पीडित बचतकर्ताको जाहेरीको आधारमा बनेपा नगरपालिका-१० का रुशन श्रेष्ठ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-१ का राजन श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका-५ का रामकृष्ण कार्की थुनामा परेका हुन् । सहकारीका अध्यक्ष काभ्रेका रामशरण श्रेष्ठ, उपाध्यक्ष रमादेवी श्रेष्ठ, सचिव मन्जेश तौजले, कोषाध्यक्षद्वय राजाराम तौजले र समिर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

सञ्चालक समितिका सदस्यहरू विक्रम मानन्धर, सोमकाजी शाक्य, रिना मानन्धर लेखा समिति सदस्य रुषा श्रेष्ठ र लेखा समिति संयोजक लक्ष्मीनारयण श्रेष्ठको नाममा पनि पक्राउ पुर्जी जारी गरिएको छ । चौतारा शाखा प्रमुख दिनेश तामाङ र बाह्रबिसे शाखा प्रमुख विजेन्द्र रंजितकारलाई पनि पक्राउ गर्न अनुमति दिइएको छ ।

सहकारीमा आवद्ध ६१३ जनाले आफूहरूको रकम खाइदिएको भन्दै जाहेरी दिएका थिए । चौतारा, खाडिचौर र बाह्रबिसे शाखामा निक्षेपकर्ताले बचत गरेको ७ करोड ८९ लाख ९९ हजार ९२७ रूपैयाँ सहकारीका सञ्चालकले फिर्ता नदिएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।

निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज दिन्छु भनी लोभ्याएर उक्त रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकदेखि वार्षिकसम्म ब्याज पाउने आशामा पैसा जम्मा गरेको पीडितहरूले बताएका छन् ।

उनीहरूले जम्मा गरेको ५ हजारदेखि अधिकतम ५ लाखसम्म बचत हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । पक्राउ पुर्जी जारी भएकामध्ये १० जना काभ्रेका भएकाले काभ्रे प्रहरीसँग समन्वय गरेर सबैलाई पक्राउ गरिने उनले बताएका छन् ।

‘कसैले मकै बेचेर, कसैले दूध बेचेर कमाएको पैसा समेत सहकारीमा राखेका रहेछन्, यति धेरै पीडितहरू आउनुभयो । उहाँहरूलाई न्याय दिलाउँछौं’, खड्काले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *