गौरीगंगाका स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब, गुहारे मेयर – Nepal Press

गौरीगंगाका स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब, गुहारे मेयर

कैलाली । ५ महिनादेखि तलबभत्ताबाट वञ्चित गौरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीले मेयरलाई गुहारेका छन् ।

विभिन्न वडामा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीले गत फागुनदेखि तलब नपाएको बताउँछन् । पीडित स्वास्थ्यकर्मीले मेयर देवीदत्त कँडेललाई सामूहिक ज्ञापन पत्रसमेत बुझाएका छन् । तलब निकासा नहुँदा आर्थिक संकटमा पुगेको, छोरा छोरीलाई विद्यालय शुल्क तिर्न पनि समस्या भएको उनीहरुको गुनासो छ । असार १५ सम्म तलब निकासा गरिदिन स्वास्थ्यकर्मीको माग छ ।

यो पनि पढ्नुहोस् : स्थानीय तहका स्वास्थ्यकर्मीले ९ महिनादेखि पाएनन् तलब, के हाे समस्याकाे जराे ?

‘तलब भुक्तानी नभएको हुँदा स्वास्थ्यकर्मीलाई आर्थिक संकट पर्न गई दैनिक यापन गर्न पनि कठिन भई विद्यालयका छोराछोरीको मासिक शुल्क समेत तिर्न नसकी आफैंमा हीनताबोध सृजना हुनका साथै बिरामी भई औषधि उपचारको लागि समस्या सृजना भएको छ ’ मेयरलाई बुझाइएको निवेदनमा भनिएको छ ।

तलब नपाउनेमा सिनियर अहेब निरीक्षक, जनस्वास्थ्य निरीक्षक, अहेब, ल्याब असिस्टेनसमेत २४ जना छन् ।

मेयर कँडेलले तलबको लागि केन्द्रमा समन्वय भइरहेको बताए । दरबन्दीभन्दा धेरैलाई समायोजन गरेर पठाइएकाले तलब निकासा गर्न नसकिएको उनको भनाइ छ । चाँडै तलब निकासा हुने मेयरको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर