सेयर बजारमा चौतर्फी प्रहार, सिजनमा पनि छैन कारोबार – Nepal Press

सेयर बजारमा चौतर्फी प्रहार, सिजनमा पनि छैन कारोबार

काठमाडौं । नेपालको पुँजी बजार पटक-पटक सेयर बजारविरोधी अभिव्यक्तिको सिकारमा पर्ने गरेको छ । पछिल्लो समय जिम्मेवार व्यक्तिले सार्वजनिकरूपमै टिप्पणी गरिरहेका छन् । यस्तै सरकारी प्रतिवेदन पनि सेयर बजारलाई कस्नुपर्छ भन्ने आशयको पाइन्छ ।

केही दिनअघि अर्थमन्त्रालयले सार्वजनिक गरेको उच्चस्तरीय कर सुधार सुझाव समितिको प्रतिवेदनले पनि सेयरमा उच्च दरको कर लगाउनुपर्ने सुझाव दिएको थियो ।

मंगलबार एक सार्वजनिक कार्यक्रममा एक अर्थशास्त्रीले उत्पादनशील क्षेत्रको नामका कर्जा जति सेयर बजारमा जाने हो भने यसले अर्थतन्त्र ध्वस्त हुने अभिव्यक्ति दिए । उसो त गभर्नर महाप्रसाद अधिकारीले पनि फरक फरक अभिव्यक्ति दिइरहेका छन् । कतै लचक मौद्रिक नीति आउने अभिव्यक्ति दिने त कतै अब खुकुलो हुने ठाउँ नरहेको बताउने गरेका छन् । मौद्रिक नीति सबै समस्याको समाधान नभएको गभर्नर अधिकारीको भनाइ छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा पनि सेयर बजारका विषय समेटिएका छैनन । यसले गर्दा पनि आम लगानीकर्ताको मनोबल खस्केको विज्ञहरु बताउँछन् ।

छिमेकी राष्ट्रहरूको सेयर बजार उच्च विन्दुमा रहेको बेला नेपालको सेयर बजार भने अहिले पनि तल्लो विन्दुमै छ । लगानीकर्ताहरुले नेपालको सेयर बजार कहिले बढ्छ भन्दै प्रश्न गर्न थालेका छन् ।
स-साना हल्लाले पनि सेयर बजारलाई सजिलै प्रभावित पार्न सक्छ । तर, हल्लाले मात्र घट्यो भने त्यसको असर केही दिनमै सामान्य हुँदै जाने गर्छ । घट्नुमा ठूलै कारण देखियो भने चाहि असर अलि लामो पनि पर्न सक्छ । लगानीकर्ताहरु नीतिगत स्पष्टता भए बजार आफै अगाडी बढ्ने बताउँछन् ।

सामान्यतया असार-साउन महिना पुँजी बजारका लागि मुख्य सिजनका रूपमा लिइन्छ । यतिबेला सरकारको ट्रेजरीको रकम बजारमा आउने हुँदा अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिन्छ । अर्थतन्त्र चलायमान हुँदा सेयर बजारलाई सार्पोट हुने एकथरि बताउँछन भने अर्काथरी यो बर्षको अन्त भएकाले ऋण लिएर सेयर खरिद गरेकाहरु भुक्तानमा केन्द्रित हुने भएकाले कारोबार खासै नबढ्ने बताउँछन् । सेयर बजारको प्रवृत्तिले लगानीकर्ताको मनोबल उठ्न नसकेको देखाउँछ । करिब २ वर्ष यता बजारले राम्रो पिकअप लिन सकेको देखिँदैन ।

गत माघ ३ गते २१ सय विन्दु माथि रहेको बजारमा ९ अर्ब ६५ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछि बिस्तारै घट्न थालेको बजारमा माघ २३ गतेसम्म आइसक्दा १ अर्ब ९८ करोड २६ लाख रूपैयाँ बराबरको मात्र सेयर कारोबार भएको देखिन्छ । त्यतिबेला बजार १९९२ विन्दुमा अडिएको थियो । फागुन २३ गते अर्थतन्त्रको ड्राइभिङ सीटमा वर्षमान पुनको इन्ट्रीले पनि बजारको माहोल तात्न सकेन । अर्थमन्त्रीले सपथ लिएको दिन बजार पुँजीकरण ३१ खर्ब ७० अर्ब ५० करोड रूपैयाँ थियो । अर्थमन्त्री पुनको आगमन र सेयर बजार मैत्री नीति लिने आस्वाशन पछि तीन कारोबार दिनमा बजार पुँजीकरण ३३ खर्ब ८८ अर्ब ७४ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकमा छ ।

तीन दिनमै बजार २ खर्ब १८ अर्ब २४ करोड रुपैयाँ पुगेको थियो । त्यतिबेला बजार २१२१ विन्दुमा थियो । त्यसपछि अर्थमन्त्रीको सेयर बजारप्रतिको कार्यशैली सन्तोषजनक हुन नसकेपछि बजार झनै उठ्न सकेन ।

अहिले बजार २ हजार विन्दु आसपासमा छ । २ देखि ५ अर्ब रुपैयाँ आसपासमा सेयर खरिदबिक्री भइरहेको छ । हिजो बिहीबारमात्र बजार ८.२४ अंकले घटेको छ । यसदिन ३ अर्ब ७१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

हारगुहार गर्दा पनि साथ नपाएपछि मौन लगानीकर्ता

सेयर बजारले सही गति लिन नसकेको भन्दै लगानीकर्ताको विभिन्न संघसंगठनले राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म धाए । यतिमात्र होइन उनीहरूले राजनीतिक दलका शीर्ष नेतालाई समेत भेटेर सेयर बजारका विषयमा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाए । तर, पनि कुनै सुनुवाइ नभएपछि अहिले लगानीकर्ताहरू मौन छन् ।

लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार जिम्मेवार व्यक्ति नै सेयर बजारप्रति गैरजिम्मेवार बन्दा लगानीकर्ताको खर्बौ रकम डुबेको बताउँछन् । लगानीकर्ताले पुँजीगत लाभकरका विषयमा पुनर्विचार गर्न भनेपनि अझै सरकारले गठन गरेको समितिले पुँजीगत लाभकर बढाउन सुझाएको छ । यसले सेयर बजार तरंगित बनेको छ, रौनियार भन्छन् ।

हामीले सम्बन्धित निकाय सबै समक्ष आफ्ना माग राख्यौ तर वास्ता भएन, उनले भने ।

यता सेयर विश्लेषक डा. केशव श्रेष्ठ सरकारको रबैयाको कारण बजार उठ्न नसकेको आरोप लगाउँछन् ।

‘बजेटमार्फत पनि केही सम्बोधन भएन, अब मौद्रिक नीतिले पनि सेयर बजार मैत्री नीति लिएला भन्ने आश छैन । सरकारले सेयर बजारमैत्री नीति लिए बजार बढ्न समय लाग्दैन तर सरकार सेयर बजारलाई सुन्दैन’, डा. श्रेष्ठ भन्छन् ।’

यता पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया राजनीतिक रंगले डुबेको छ । अध्यक्ष पदमा बार्गेनिङ नमिल्दा नियुक्ति हुन सकिरहेको छैन । नियामक अविभावकविहीन बन्दा पुँजी बजार प्रभावित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर