राजस्व अनुसन्धानबाटै व्यापारीसँग करोडौं बार्गेनिङ, डीजीकै कार्यकक्षबाट पैसा उठाउने शाही को हुन् ? – Nepal Press

राजस्व अनुसन्धानबाटै व्यापारीसँग करोडौं बार्गेनिङ, डीजीकै कार्यकक्षबाट पैसा उठाउने शाही को हुन् ?

दरबारमार्गका ब्राण्डेड आउटलेटदेखि डिपार्टमेन्ट स्टोर, हार्डवेयर र ठूला कफी हाउसहरूसँग ५ करोडसम्मको बार्गेनिङ, १० देखि ५० लाखसम्म असूली

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले राजस्व अनुसन्धान विभागका महानिर्देशकको नम्बरबाट विभिन्न व्यापारीलाई फोन गरेर पैसा माग्ने र धम्क्याउने काम भइरहेको गम्भीर आरोप लगाए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले किटानीसाथ लगाएको आरोप सामान्य थिएन । फोन गर्ने व्यक्तिले चक्र बुढालाई राजस्व अनुसन्धानको महानिर्देशक बनाउन आफूले ३ करोड रूपैयाँ खर्च गरेको भनेर व्यापारीलाई तर्साएको खतिवडाको भनाइ संसदमा रेकर्ड भएको छ ।

प्रधानमन्त्रीको मातहतमा रहेको राजस्व अनुसन्धानका डीजीको सरकारी नम्बरबाट फोन गर्ने व्यक्ति को हुन् ? डीजीको प्राइभेट नम्बरबाट अरु कोही व्यक्तिले कुरा गर्न सम्भव छ ? यसको छानबिन अवश्य होला ।

व्यापारिक समुदायमा भने सो फोन आतंकको बारेमा खैलाबैला मच्चिएको छ । एकजना व्यवसायी सोही फोनको आधारमा डीजीकै कार्यकक्षमा पुगेको र फोन गर्ने व्यक्ति पनि उनीसँगै रहेको कुरा उद्योग वाणिज्य महासंघका पदाधिकारीदेखि सीएनआई र चेम्बर अफ कमर्समासमेत पुगेपछि बाहिर लिक भएको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशकको नाम लिएर फोन गर्नेमात्र होइन भेट गराएर पैसा असुल्नेसम्मका धन्दामा संलग्न व्यक्ति उपेन्द्र शाही रहेको पुष्टि भएको छ । उनले कतिपय व्यापारीले विश्वास नगरेपछि कार्यकक्षमै लगेर भेटाएका छन् । कालिकोट घर भएका शाही यसअघि विभिन्न ठगी काण्डमा जोडिएका विवादस्पद व्यक्ति हुन् ।

महानिर्देशक बुढाले उपेन्द्रलाई सूचक (सुराकी) को रूपमा प्रयोग गरेको नेपाल प्रेससँग स्वीकार गरेका छन् भने शाहीले पनि महानिर्देशकसँग कतिपय व्यवसायीको समस्या लिएर भेट गराएको बताएका छन् ।

चक्र बुढा बैशाख २२ गते राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेर गएको एक साता नपुग्दै काठमाडौंका व्यापारिक घरानामा उपेन्द्र शाहीको आतंक सुरू भइसकेको थियो । उनले व्यवसायिक फर्महरूको सूची नै बनाएर फोन गर्ने, भेट्ने र महानिर्देशकसँग भेटाउने काम थालेका थिए ।

केही दिनअघि मात्र काठमाडौंका विभिन्न ठाउँमा ‘कफी चेन’ सञ्चालन गर्ने फर्मका मालिकलाई उपेन्द्रले ५ करोड नदिए राजस्व अनुसन्धानले छापा हान्ने बताए । ती व्यक्तिले उनको भर नगरेपछि महानिर्देशक बुढासहितको डिनर बैठक नै उपेन्द्रले आयोजना गरेपछि व्यवसायी छक्क परे ।

अनावश्यक झमेलामा पर्नुभन्दा केही रकम दिएर आफ्नो काममा लाग्न उनलाई व्यवसायी साथीभाइले सुझाव दिएपछि ५ करोडको बार्गेनिङ अन्ततः ५० लाखमा सेटल भएको चर्चा व्यापारिक घरानामा अहिले उत्कर्षमा छ ।

यसैबीचमा दरबारमार्गमा अन्तर्राष्ट्रिय जुत्ता र स्पोर्टस् सामग्रीको आउटलेट चलाउने फर्ममा पनि उपेन्द्रले २ करोड नदिए राजस्व अनुसन्धानको छापा गराउने बताए । नभन्दै राजस्व अनुसन्धानको टोली उनले पठाइदिएपछि १० लाख रुपैयामा सेटल भएको छ ।

काठमाडौंमा डिपार्टमेन्ट स्टोरको चेन सञ्चालन गर्ने चर्चित एक फर्मका मालिकले भने उपेन्द्रको बार्गेनिङलाई अटेर गरेर उद्योग वाणिज्य महासंघदेखि विभिन्न शक्ति केन्द्रमा राजस्व अनुसन्धानका डीजीको नाममा भइरहेको उपेन्द्र आतंकको सूचना दिएपछि अहिले यो प्रकरण संसदसम्म पुगेको हो ।

यसबीचमै त्रिपुरेश्वरमा हार्डवेयर फर्म सञ्चालन गर्ने एकजना मारवाडी समुदायका व्यापारीलाई उपेन्द्र शाहीले फोन गरेर ३ करोड रुपैया जम्मा गर्न भने । उनले राजस्व अनुसन्धानका महानिर्देशककै नम्बर प्रयोग गरेको पाइएको छ । उनीहरुबीच कति रकममा ‘सेटलमेन्ट’ भयो भन्ने खुलेको छैन ।

यी केही प्रकरण बाहिर आएकामात्र हुन् । अहिले काठमाडौंका सानादेखि ठूला व्यवसायिक फर्महरुमा राजस्व अनुसन्धान विभागको नामबाट आतंक मच्चाइएको छ । कतिपय व्यवसायीले उपेन्द्र शाही विभागका महानिर्देशककै प्रतिनिधिका रुपमा परिचालित भएको पुष्टि भएपछि केही रकम दिएर मिलाएका छन् भने धेरैका कागजपत्र,खातापाता जफत गरिएको छ ।

उपेन्द्र शाहीले ५ करोड मागेपछि ५० लाख दिएर मिलाएका एक व्यवसायीले नेपाल प्रेससँग भने, ‘नियत राखेर छानबिन गर्दा सानातिना कैफियत नहुनै कुनै ठाउँ छैन । अनेक झमेलामा पर्नुभन्दा मिलाउनतिर लाग्नुपर्छ भनेर मैले पैसा दिएँ । सुरूमा त डीजीका नाममा उपेन्द्र शाहीले ठगी धन्दा चलाएको हो कि भनेको पछि डीजी नै आएपछि यो रकम माथि (प्रधानमन्त्री निवास) सम्मै दिनुपर्छ भने । राज्य लाग्यो भने हामी व्यवसायीको केही लाग्दैन भनेर अहिले त्राहीमामको अवस्था छ ।’

पछिल्लो समय बैदेशिक रोजगार व्यवसायीलाई समेत आतंकित बनाउन थालिएको भन्दै श्रम मन्त्री डोलप्रसाद अर्यालसमक्ष गुनासो पुगेको छ । भ्याटको कुनै इस्यु नै नभएका वैदेशिक रोजगारी व्यवसायीसँग पैसा माग्ने र नदिएमा कागजपत्र जफत गरेर बैंक खाता रोक्का गर्ने धम्की बढेको छ ।

राजस्व अनुसन्धान विभागका डीजीकै नाम र संलग्नतामा भइरहेको यो आतंकबारे यसको तालुक अड्डा प्रधानमन्त्री कार्यालय बेखबर छैन । तर, अहिलेसम्म कुनै एक्सन नलिइनुले कतै माथिसम्मैको संलग्नता त होइन ? प्रश्न उठेको छ ।

को हुन् उपेन्द्र शाही ?

कालिकोटका शाही अहिले कोहलपुर हुँदै काठमाडौंमा बस्छन् । केही वर्षअघिसम्म विद्यार्थी राजनीतिमा समेत रहेका शाहीले विद्यार्थी संगठनलाई ठगी गर्ने माध्यम बनाएपछि विवादमा परे ।

अनेरास्ववियुको विभागीय सचिवसम्म रहेका शाहीलाई नविना लामा अध्यक्ष भएका बेला सीटीईभीटीको सम्बन्धमा असुली धन्दा चलाएको तथा विभिन्न व्यक्तिलाई ठगेको उजुरीपछि कारबाही गरेको थियो ।

तत्कालीन उपाध्यक्ष तथा हाल एमालेका प्रमुख सचेतक महेश बर्तौला नेतृत्वको छानबिन समितिले शाहीको ठगी धन्दाबारे प्रतिवेदनसहित कारबाहीको सिफारिस गरेपछि उनलाई अनेरास्ववियुबाट निष्कासन गरिएको थियो ।

त्यसपछि उनी पूर्णकालीन ठगी धन्दामा लागेको पाइएको छ । उनीबाट ठगिएका घरजग्गा व्यवसायीदेखि विद्यालय सञ्चालक र अहिले आएर व्यापारिक फर्महरूको सूची सयौं पुगिसकेको छ । अहिले त उनी राजस्व अनुसन्धान विभागका महानिर्देशकको सूचक बनेर प्रतिष्ठित व्यापारिक फर्महरूसँग ५ करोडसम्मको डील गर्ने ठाउँमा पुगिसकेका छन् ।

रकम बार्गेनिङ आरोपबारे के भन्छन् शाही ?

नेपाल प्रेसको सम्पर्कमा आएका शाहीले राजस्व अनुसन्धानका महानिर्देक बुढा र आफ्नो घर कोहलपुरमा सँगै रहेको र ठकुरीकै छोरी बिहे गरेकाले आफूले भिनाजु भन्ने गरेको बताए । उनले कतिपय व्यक्तिलाई महानिर्देशकसँग भेट गराए पनि उनको फोनबाट कसैलाई बार्गेनिङ भने नगरेको दाबी गरे ।

उनको भनाइ जस्ताको तस्तै

डीजीको नम्बरबाट मैले फोन गरेको भन्ने गलत आरोप हो । एकदम गलत कुरा भइरहेको छ । उहाँसँग मेरो चिनजान हो । डीजी भइसकेको मान्छे कर्मचारी मान्छेले विवेक पुर्‍याएर काम गर्छन् । मैले मेरै नम्बरबाट फोन गरेको हो । डीजी चिनेजानको मान्छे भनेपछि काम परेर मान्छेले भन्छन्, त्यस सिलसिलामा मैले त्यहाँसम्म पुर्‍याइदिएको साँचो हो । तर, त्यहाँ राजस्व अनुसन्धान विभागको नम्बरी कर्मचारी संयन्त्र छ, ठगहरूको । मैले चिनजानेको डीजी आफन्त भएकाले त्यो विभागबाट हुने धन्दाबारे जानेको बुझेको हुनाले यहाँ दशौं वर्ष बसेका कर्मचारी मान्छेहरुसँग जोगिएर काम गर्नुहोला भनेर सुझाव दिएको हुँ । त्यहाँ नवराज अधिकारी भन्ने कर्मचरीले यो सब गरिरहेको छन्, मैले डीजीको नाममा पैसा बार्गेनिङ गरेको भनेर उनीहरूले बाहिर मिडियामा दिने काम गरेका छन् । उनीहरूले पैसा लिने गरेको ठाउँमा अहिलेको डीजीले छापा हानेपछि, फाइल मगाएपछि उनीहरू तिलमिलाएको होला । मेरोबारेमा समाचार लेख्नुअघि मसँग सल्लाह गर्नुहोला ।

के भन्छन् महानिर्देशक बुढा ?

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले उपेन्द्र शाहीलाई आफूले राजस्व छलीको बारेमा सूचना दिने सूचकका रूपमा प्रयोग गरेको स्वीकार गरेका छन् । विभिन्न सरकारी निकायको बारेमा पनि जानकारी राख्ने र राजस्व छलीका धेरै सूचनाहरू आफूसँग रहेको भनेपछि उनलाई सम्पर्कमा राखेको बुढाले नेपाल प्रेससँग स्वीकार गरे ।

बुढाको भनाइ जस्ताको तस्तै

उपेन्द्र शाहीलाई मैले २ वर्ष अघिदेखि चिनेको हो । उतैतिर घर भएको हो तर मेरो सालो चाहिँ होइन । उसले सरकारका विभिन्न विभागहरूमा राम्रो पहुँच राख्ने र चिनजान पनि रहेको कुरा आयो । राजस्व छलीका कुराहरू सूचना राख्ने भएकाले प्रयोग गरेको हो । तर, पछिल्लो समय उसले सूचनालाई बार्गेनिङ बनाएको भन्ने कतिपय कुरा आएपछि मैले सम्पर्क गरेको छैन । मेरो नम्बरबाट फोन गरेको भन्ने कुरा एकदम गलत हो । मैले व्यवसायी साथीहरूलाई भनेको छु, केही समस्या परेमा मलाई सम्पर्क गर्ने, हाम्रो सूचना अधिकारी नवराज अधिकारी हुनुहुन्छ उहाँसँग कुरा गर्न सक्नुहुन्छ । त्यसैले उपेन्द्र शाहीसँग जोडेर मेरो नाम आउँदा मलाई दुःख लागेको छ । मेरो पनि भनाइ सोधेर मिडियाका साथीहरूले लेख्नुपर्ने हो । मेरो ट्र्याक रेकर्ड पनि हेर्दा हुन्छ । मैले उपेन्द्र शाहीसँगै व्यापारी फर्मसँग बसेर डिनर खाएको र ५० लाख लिएको भन्ने आरोप पनि गलत हो ।

के भन्छ प्रधानमन्त्रीको सचिवालय ?

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सचिव नवराज ढुंगानालाई महानिर्देशक बनाइएइको थियो । कोटीईभिटी प्रकरणमा उनलाई तानिएपछि उनको ठाउँमा चक्र बुढा गएका हुन् ।

प्रधानमन्त्री मातहतकै निकायबाट निजी क्षेत्रमाथि आतंक मच्चाउने र व्यापारीसँग पैसा असुल्ने गरेका प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालय पनि चासो राखेको छ । यसबारेमा बुढासँग प्रधानमन्त्रीको सचिवालयबाट जानकारी समेत मागिएको बताइएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बाहिर आएका कुराहरूको बारेमा बुझ्ने काम भइरहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै मल्लले प्रधानमन्त्री कार्यालयले यो संवेदनशील निकायको कामका बारेमा बुझ्ने प्रतिक्रिया दिए ।


प्रतिक्रिया

One thought on “राजस्व अनुसन्धानबाटै व्यापारीसँग करोडौं बार्गेनिङ, डीजीकै कार्यकक्षबाट पैसा उठाउने शाही को हुन् ?

  1. प्रतिनीधि सभाले के हेरेर बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर