टेरामक्सको बचाउ गर्दै मोहन बस्नेतले सांसदलाई ओठ निचोरे दूध आउने जस्ता भनेपछि… (भिडिओ) – Nepal Press

टेरामक्सको बचाउ गर्दै मोहन बस्नेतले सांसदलाई ओठ निचोरे दूध आउने जस्ता भनेपछि… (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले आफूलाई जोडेको टेरामक्स प्रकरणबारे उचित समयमा बोल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वसूचना तथा सञ्चारमन्त्री बस्नेतले कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला भएपछि आफूले टेरामक्स ल्याउने प्रक्रिया अघि बढाएको बताए ।

त्यसबारे उनको भनाइ

मलाई पनि टेरामक्सको कुरा लिएर बेलाबेलामा आरोप आइरहेका छन् । यसमा तीन जना सांसदको नाम मुछिएको छ । कलिला ओठ निचोरे दूध आउने माननीयदेखि दाह्रीजुँगा फुलेका सबैले यो कुरा यहाँ उठाइराख्नु भएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिन्छु । टेरामक्स यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआईपी प्रकरणलाई नियन्त्रण गर्छ ।

संसारभर यही विधिले नियन्त्रण गरेको छ । त्यसैले यहाँ ठगी गर्ने धन्दा भएको छैन । नेपालमात्रै यस्तो देश हो, जहाँ कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला भएको छ । त्यसैले मैले आँट गरेर यो सुरुवात गर्न खोजेको हुँ ।

२५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ढाकछोप गर्न खोजिएको हो, त्यो भविष्यले बताउँला । टेरामक्स नेपालका लागि अर्बौं रुपैयाँ राजस्व जोगाउने मन्त्र हो । यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ ।

मोहन बस्नेतले कलिला ओठ निचोरे दूध आउने जस्ता शब्द प्रयोग गरेकोमा एमाले सांसद सम्झना थपलियाले नियमापत्ती गरेकी थिइन् ।

उनले असंसदीय भाषा प्रयोग भएको भन्दै रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर