कृषि मन्त्रालयले यो वर्ष उपत्यका बाहिर धान दिवस मनाउने – Nepal Press

कृषि मन्त्रालयले यो वर्ष उपत्यका बाहिर धान दिवस मनाउने

काठमाडौं । सरकारले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पहिलो पटक उपत्यका बाहिर बनाउने भएको छ ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव वास्तविक कृषकहरूको उपस्थितिमा मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले बताइन् ।

धान नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहे पनि यसको विकास र प्रवर्द्धन धान दिन नसक्दा अहिले आयात गरेर छाक टार्नु पर्ने अवस्था छ ।

‘नेपालमा धान खाद्य बाली मात्र नभएर यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व छ । मन्त्रालयले विगत २० वर्षदेखि नियमित रूपमा धान दिवस मनाउँदै आएको छ । तर, अहिलेसम्म पनि वास्तविक कृषकहरूसँग पुगेर धान दिवस मनाइएको छैन’, मन्त्री साहले भनिन्, ‘यस पटक हामी धान खेती गर्ने कृषक भएको स्थानमा पुगेर धान दिवस मनाउँदै छौँ ।’

मन्त्रालयले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव असार १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र कृषकहरूको उपस्थितिमा चितवन रत्न नगर बछौलीमा मनाउँदै छ । बछौलीमा करिब डेढ बिगा जग्गामा धान रोपाई गरिनेछ ।

‘म स्वयम किसानको छोरी हुनुका साथै खेती गरेर हुर्केको हुँ। विगतमा हामी धानमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि गर्थ्यौ। तर अहिले धान आयात गरेर छाक टार्नु पर्ने अवस्था छ। अब यस्तो अवस्था अन्त्य गर्ने तर्फ सरकारले ध्यान दिइरहेको छ। आगामी आवको बजेट मार्फत सरकारले कृषि दशक पनि घोषणा गरिसकेको छ,’ मन्त्री साहले भनिन् ।

कृषि विभागले हालसम्म मुलुकभर १ लाख ३६ हजार बढी हेक्टर जमिनमा धान रोपाइ सम्पन्न भएको बताएको छ । विभागका अनुसार अघिल्लो वर्षको तुलनामा असारको दोस्रो सातासम्म यो वर्ष ९ प्रतिशतभन्दा बढी धान रोपाई भएको हो । नेपालमा करिब १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ ।

विभागका अनुसार अहिलेसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा धान रोपाई भएको सरकारी तथ्यांक छ । सो प्रदेशमा अहिलेसम्म ४३ हजार ६ सय ३४ हेक्टर जमिनमा धान रोपाई भएको छ ।

सबै भन्दा कम मधेश प्रदेशमा २।९ प्रतिशत धान रोपाई भएको छ । सो प्रदेशमा हालसम्म ११ हजार ४० दशमलव ३ हेक्टर जमिनमा धान रोपाई भएको विभागको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *