तीन घण्टा कुराएर बालेन आएनन्, फेसबुकबाटै नगरसभा बैठक स्थगित – Nepal Press

तीन घण्टा कुराएर बालेन आएनन्, फेसबुकबाटै नगरसभा बैठक स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज विहान ८ बजे बोलाइएको नगरसभाको बैठक बस्न नसकेकाे हो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए ।

उनले नेपालप्रेससँग भने,‘ हामीलाई आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने विषयमा छलफल गर्न बिहान ८ बजे बोलाइएको थियो ।तर मेयर साहलाई तीन घण्टा कुर्दा पनि आउनुभएन । पछि त बैठक स्थगित रे भनेर खबर आयो ।  त्यसपछि हामी फर्कियाै‌ं ।’

उनले मेयर शाहले फेसबुकमा स्टाटस राखेर नगरसभा स्थगित गरेको भनेर खबर पाएको बताए ।मेयर शाहले नगरसभा सदस्यहरुसँग बैठकमा फेस नै नगरी नगरसभा स्थगित गरेको आरोप लगाए ।

तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बैठकमा छलफल गर्न तयारी नपुगेकाले नगरसभा स्थगित गरिएको बताए ।

उनले नेपालप्रेससँग भने, ‘नगरसभाको बैठक आज बोलाइएको थियो । तर नीति तथा कार्यक्रमको प्रतिवेदनमाथि तयारी नपुगेकाले बैठक स्थगित गरिएको हो ।’

अब अर्को बैठक मेयर शाहले कहिले अनुकुल हुन्छ त्यतिबेला बोलाउने उनले बताए ।

तर मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाएका छन् ।

एमाले–कांग्रेसले बीपि कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भनेर माग राखेको तर आफूले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा गरौं भनेको उल्लेख गरेका छन् ।

कांग्रेस–एमालेलाई नेपालको क्रान्तिमा चार सहिदहरुभन्दा धेरै कांग्रेस–एमालेका नेताहरूको योगदान धेरै देखेर आज बस्ने नगरसभा बैठक रोकेर गएको आरोप लगाए ।

नगरसभामा छलफल गर्नुपर्ने विषय बन्द कोठामा सहमति गर्न खोजिएको मेयर साहका सचिवालयका सदस्य भुपदेव शाहले बताए ।

महालेखाले प्रश्न उठाएको विषय जसरी पनि राख्नैपर्छ भन्ने, यो नहुँदासम्म हल भित्र नछिर्नु र बैठक उपस्थितिमा हस्ताक्षर नगर्नु भन्ने, गणपुरक संख्या पुग्न नदिने अनि बैठकमा आएन भनेर हल्ला गरिएको उनले बताए ।

सहमतिको बाटो खोज्न चार सपुतहरुको नाममा विशेष कार्यक्रम बनाएर जाँउ भन्दा कसैले नमानेको र कोहीले फोन नै नउठाएको उनको गुनासो गरे ।

‘अब सचिवालयले पनि साझा धारण बनाएर सम्पूर्ण समन्वयन तपाइँहरुले छानेको एकजना नेता ज्यू सँग मात्र गर भन्न खोज्नु भएको हो?’ भनेर उनले प्रश्न गरे ।

गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।

नेताकाे नाममा बजेट छुटाउन माग राख्दा मेयर असन्तुष्ट

हरेक वर्ष वीपी र मदनको नाममा कार्यक्रम गर्न बजेट छुट्याइदै आएको १ नम्बरका वडाध्यक्ष श्रेष्ठले बताए ।

‘हाम्रो केही कुरा मिलेको छैन । हाम्रो तीनवटा पार्टीको संयुक्त बैठकले मेयर साबलाई यसरी गरौं भनेर भन्दा मान्नुभएन,’ उनले भने ।

परम्परादेखि गर्दै आएको शहिद दिवसकाे कार्यक्रम धेरै खर्चिलाे नगर्ने एमाले, कांग्रेस र नेकपा एसको तर्क थियो ।

‘ठाउँठाउँमा कार्यक्रम गरिरहेका छौं । हाम्रो भनाइ के भने हाम्रो नेताहरुको नाममा राख्न उहाँलाई केले रोक्योे ? यहाँसम्म आउनको लागि उहाँ चुनाव लड्नको लागि व्यवस्था ल्याउने त पार्टी हो नि । पार्टीको नेता हो नि । नेताहरुलाई हामीले विर्सन हुन्छ ? बाउको नाम नै विर्सने हो भने त छोराको अस्त्वित के त ? हाम्रो जोड भनेको पार्टीको जो ठुला नेताहरु छन्, धेरैजसो वितिसकेका छन् । उनीहरुको नाम उच्चारण गर्दैमा हुदैन भन्नु हुँदैन भन्ने हो । उहालाई इच्छा थिएन । हामीले हुँदै नहुने कुरा गरेका थिएनौं । हामीले त सम्बाद गरेर मिल्छ भने मिलाउ भनेको हो । दुई जना नेताहरुलाई नविर्सौ भनेको हो । त्यसमा बजेट छुट्याउँ भनेका हौं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर