सिधा कुराका सम्पादक, प्रकाशक र सूचनादाताविरुद्ध साइबर अपराधमा मुद्दा दायर – Nepal Press

सिधा कुराका सम्पादक, प्रकाशक र सूचनादाताविरुद्ध साइबर अपराधमा मुद्दा दायर

काठमाडौं। सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध अभियोग पत्र दायर गरेको हो।

उनीहरू तीनै जनालाई फरार प्रतिवादी बनाएर अभियोग दायर भएको छ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।

त्यसपछि सर्वोच्च अदालत आफैले यस विषयलाई लिएर अदालतको अवहेलना सम्बन्धी रिट दायर गरेको थियो। तीनै जनाको बयान पनि लिइएको थियो। यो विषयको अन्तिम टुंगो लगाउन बृहत् पूर्ण इजलासमा पठाइएको छ।

प्रमाण भनिएको अडिओबारे छानबिन गर्न सर्वोच्चले प्रहरीलाई आदेश दिएर त्यसको प्रतिवेदन समेत पेश गर्न भनेको थियो। सोही अनुसन्धानका आधारमा मुद्दा चलाइएको हो।

अनुसन्धानका क्रममा प्रहरीले सूचनादाता भनिएका तिमल्सिना, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया, एसपी सन्जयसिंह थापा, अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीलगायतसँग सोधपुछ गरेको थियो।

तिमल्सिनाले बाँकी यी व्यक्तिहरू डिलमा संलग्न भएको दाबी गरेका थिए।

‘आरोपीले सम्मानित सर्वोच्च अदालत र माननीय न्यायाधीशज्यूको मान प्रतिष्ठा समेतमा आँच पुर्‍याइ, सम्मानित अदालतप्रतिको आम धारणा समेतमा भ्रम उत्पन्न गराई,घृणा वा द्वेष फैलाउने कार्य गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर र सम्मानित सर्वोच्च अदालत र सो अदालतका न्यायाधीश तथा अन्य व्यक्ती र निकाय प्रति समेत अदालतको मुद्दामा हुने कार्यविधि तथा सुनुवाइ र फैसलासँग जोडी गलत भिडियो क्लिप तयार पारी प्रशारण समेत गरी अपमानजनक कार्य समेतको कसुर गरेको वारदातबाट स्थापित हुन आयो’, अभियोग पत्रमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर