सफ्ट पावर र विश्व ब्राण्ड मदन भण्डारी – Nepal Press

सफ्ट पावर र विश्व ब्राण्ड मदन भण्डारी

जोसेफ नाईले सन् १९९० मा ‘बाउन्ड टु लिडः द चेन्जिङ नेचर अफ अमेरिकन पावर’ भन्ने पुस्तकमा एउटा अवधारणा अगाडि सारे । उनले लेखेका छन्, ‘जब एक देशले अरू देशहरूलाई आफूले चाहेको कुरा गरोस् भन्ने ठान्छ वा गर्न लगाउँछ भने अरूलाई आफूले चाहेको जस्तो कुरा पूरा गर्न बल प्रयोग वा निर्देशनात्मक शक्तिविपरीत स्वेच्छिक प्रभाव पर्नेगरी कार्य गर्ने कुरा सफ्ट पावर हो ।’ उनले सो कुरालाई आफूले सन् २००४ मा लेखेको पुस्तक ‘सफ्ट पावरः द मिन्स टु सक्सेस इन वर्ल्ड पोलिटिक्स’मा अझ विस्तृत रुपमा उल्लेख गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा वैचारिक क्षेत्रका उज्ज्वल नक्षत्रको रुपमा स्थापित जननेता मदन भण्डारीलाई उहाँको वैचारिक योगदानको आधारमा नेपालको सफ्ट पावरको रुपमा लिइनुपर्ने आधारहरुबारे यो आलेखमा चर्चा गरिएको छ ।

सफ्ट पावर बल प्रयोग, सैन्य प्रभाव, जबरजस्ती वा हिंसाको प्रयोगविना नै आकर्षक व्यक्तित्व, संस्कृति, राजनीतिक मूल्य-मान्यता, प्रभावशाली संस्थाहरू, अनुकरणीय नीतिहरू आदि कुराको माध्यमबाट अन्य व्यक्ति, समूह, समाज र देशहरुलाई प्रभावमा पारेर आफ्नो निकाय, संस्था वा राष्ट्रलाई स्थापित गरिन्छ भने त्यो ‘सफ्ट पावर’ हो । सफ्ट पावरमा सैन्य शक्तिमा जस्तो हतियारको प्रयोग र विस्फोट, मानिसहरुमाथि दमन र हिंसा र राष्ट्रहरुमाथि दबाब र आक्रमण आदि हुँदैन । जब राज्य आफ्नो मूल्य मान्यता र अभ्यास प्रयोग गरेर अरूलाई इमानदारीपूर्वक आकर्षित गर्न र विश्वस्त गर्न सक्षम हुन्छ, तब देशलाई प्रभावकारी ‘सफ्ट पावर’ भएको भनेर मानिन्छ । नेपालको ‘सफ्ट पावर’ को आयामबारे त्यति धेरै चर्चा हुने गरेको देखिँदैन । नेपाल सरकारले पनि ‘सफ्ट पावर’ को विकासमा कार्य गरेको देखिँदैन । सैन्य र आर्थिक शक्तिको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न कठिन हुने अवस्थामा एउटा सुन्दर बाटो भनेको ‘सफ्ट पावर’ को विकास नै हो ।

जननेता भण्डारीले नेपाली र विश्व कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा धेरै नै भएको देखिन्छ । जब जेठ ३ र असार १४ आउँछ, तब झन् यसको धेरै चर्चा हुने गर्छ । बाँकी समयमा उहाँलाई बिर्सिएको हो कि वा वर्षमा दुई पटक सम्झेर उहाँमाथि गरिनुपर्ने न्याय पूरा हुने हो कि भने जसरी नेपालमा गतिविधि भएको देखिन्छ । त्यसैले त्यस्ता चर्चा भैसकेका विषयतिर आजको बहस मूल रुपमा केन्द्रित छैन । अब मदन भण्डारीलाई त्योभन्दा पनि अझ धेरै माथि उठेर सही रुपमा चिन्ने, व्याख्या र विश्लेषण गर्ने कोसिस गरिनुपर्छ । त्यसैले यो लेखमा जननेता भण्डारी अन्तर्राष्ट्रिय सम्बन्धको महत्वपूर्ण आयाम ‘सफ्ट पावर’को केन्द्र कसरी हुनुभयो भन्ने विषयमा चर्चा गरिएको छ ।

नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा उहाँले पेश गरेको १४ विशेषतासहितको जनवादी कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ भारी मतका साथ पारित भयो । मार्क्सवादलाई ‘कपी’ र ‘पेस्ट’ गरेर समाजवादको विरुवा एक ठाउँबाट उखेलेर अर्को ठाउँमा रोप्ने जडसूत्रवादी दृष्टिकोणलाई चुनौती दिएर उहाँले त्यस्तो विरुवाउ खेलेर रोप्ने होइन कि हावापानी र माटो सुहाउँदो तरिकाले आफैंले नयाँ विरुवा उमार्ने विचार दिनुभयो । हेर्दा सामान्य जस्तो देखिने यो विचारको शक्ति कति रहेछ भन्ने कुरा सन् १९९० पछि पहिलो पटक देशले जनताको मतको शक्तिले कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीलाई पायो । सामाजिक सुरक्षा, समानुपातिक विकास बजेटको वितरण र स्थानीय निकायको सवलीकरण एवं अधिकार सम्पन्न बनाउने जग निर्माण गर्ने कोणबाट उक्त सरकार सन् १९५० पछिको स्वर्णिम अवधिको रुपमा लिइने गरिन्छ ।

नेपालको ‘सफ्ट पावर’ को आयामबारे त्यति धेरै चर्चा हुने गरेको देखिँदैन । नेपाल सरकारले पनि ‘सफ्ट पावर’ को विकासमा कार्य गरेको देखिँदैन । सैन्य र आर्थिक शक्तिको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न कठिन हुने अवस्थामा एउटा सुन्दर बाटो भनेको ‘सफ्ट पावर’ को विकास नै हो ।

ज्येष्ठ नगारिकहरुको सुरक्षाको लागि प्रदान गरिएको मासिक एक सय रुपैयाँको बजेटको सन्देश नेपालमा मात्रै होइन, दक्षिण एसिया र विश्वभर नै चर्चाको विषय बन्न पुग्यो भने कैयौं देशले त्यसको सिको गरेर आफ्ना नागरिकहरुलाई पनि सुरक्षाभत्ता प्रदान गर्न सुरु गरेका थिए । भारतले उस्तै खालको सामाजिक सुरक्षा कार्यक्रम सन् २००७ मा लागू गरेको तथ्यांक छ । उक्त वर्ष उसले ग्रामीण विकास मन्त्रालयको मातहतमा ‘राष्ट्रिय सामाजिक सहयोग कार्यक्रम’ अन्तर्गत रहनेगरी ‘इन्दिरा गान्धी नेशनल ओल्डएज पेन्सन स्किम’ बाट उमेर ६० देखि ७९ सम्मका नागरिकहरुको लागि केन्द्रीय सहयोगस्वरूप मासिक २०० रुपैयाँ र उमेर ८० भन्दा माथिका नागरिकहरुको लागि मासिक ५०० रुपैयाँ प्रदान गर्ने नीति अगाडि सार्‍यो ।

जननेता भण्डारीको जनताको बहुदलीय जनवादको जगमा बनेको कम्युनिष्ट सरकारले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछिको १३ वर्षपछि भारतले उस्तै प्रकृतिको कार्यक्रम अगाडि सार्‍यो । नेपालबाट सिकेको भारतको सिको गरेर कैयौं विकासशील देशमा त्यस्तो कार्यक्रमले प्राथमिकता पाएको देखिन्छ । यसबाट प्रस्ट हुन्छ कि जनताको बहुदलीय जनवादको शक्तिले विश्वलाई कति धेरै प्रभाव पारेको छ ।

यसअघि उल्लेख गरिएको ‘सफ्ट पावर’ को परिभाषालाई आधार मान्दा सामाजिक सुरक्षाकार्यक्रमले पाएको सफलताको आधारमा भण्डारीको विचार र व्यक्तित्व नेपालको ‘सफ्ट पावर’ हो भन्ने प्रमाणित भएको छ । ‘सोसल सेक्युरिटी’ नामक वेबसाइटका अनुसार हाल १७० बढी देशमा विभिन्न स्वरुपमा यस्तो कार्यक्रम सञ्चालनमा आएको देखिन्छ । कार्ल मार्क्स र फेडरिक एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशन गरिएसँगै विश्व हुँदा खाने र हुनेखाने वर्गमा विभाजित भएको भन्ने धारणा अघि सारे । ती दुई वर्गको संघर्षको आधारमा राज्यसत्ता कायम रहने र संघर्षमा जीत हासिल गर्ने वर्गले हार्ने वर्गमाथि शासन गर्ने भन्ने तर्क लोकप्रिय हुँदै गयो । साथै अतिरिक्त मूल्यको सिद्धान्तको आधारमा पूँजीपति वर्ग दिन-प्रतिदिन धनी हुँदै जाने र मजदुर वर्ग हरेक घण्टा गरिब हुँदै जाने भाष्य उदायो ।

लेनिनले आफ्नो पुस्तक ‘इम्पेरियालिजमः द हाइस्ट स्टेज अफ क्यापिटालिजम’ पुस्तकमा विश्व पूँजीवादमा केन्द्र र परिधिसहितको दुई पांग्रे संरचना विद्यमान रहेको भनेर मानव जातिको वर्ग संघर्षमा आधारित मार्क्सवादलाई अझ उन्नत बनाउँदै देशहरु वर्गमा विभाजित भएको र दुई वर्गमा विभाजित देशहरुबीच अन्तरसंघर्ष हुने कुराको अवधारणा अघि सारेको देखिन्छ । यसैलाई सन् १९७४ मा इम्मानुयल वालरस्टाइनले अर्ध-परिधि (semi periphery) नामको अर्को संरचना थप गरी विश्व पूँजीवादका तीन संरचनासहित नव-मार्क्सवादको अवधारणा अगाडि सारेको देखिन्छ । तर, नवमार्क्सवादीहरुले पनि कम्युनिष्टहरु जनमतबाट सत्तामा जानसक्ने भन्ने तर्क प्रस्ट गरी अगाडि सारेको देखिँदैन ।

सन् १९९० पछि पहिलो पटक देशले जनताको मतको शक्तिले कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीलाई पायो । सामाजिक सुरक्षा, समानुपातिक विकास बजेटको वितरण र स्थानीय निकायको सवलीकरण एवं अधिकार सम्पन्न बनाउने जग निर्माण गर्ने कोणबाट उक्त सरकार सन् १९५० पछिको स्वर्णिम अवधिको रुपमा लिइने गरिन्छ ।

शीतयुद्धमा पूर्वसोभियत संघको धुरी पराजित भएपछि विश्व कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुन पुग्यो । संसारबाट कम्युनिष्ट सखाप भयो भन्ने पश्चिमाहरुले अनेक भाष्य बनाएर पुस्तकहरु लेखाउन थाले । अमेरिकी बजेटमा सन् १९९२ मा लेख्न लगाइएको त्यस्तै एउटा पुस्तक हो, ‘द इन्ड अफ हिस्ट्री एण्ड द लास्ट म्यान’ । यो पुस्तकले यस्तो तर्क गर्‍यो कि अब धर्तीमा उदारवादी मूल्य मान्यताबाहेक अर्को स्वरूप हुदैन र यो नै विश्व राजनीतिको अन्तिम सत्य हो । तर, त्यसको ८ वर्ष नबित्दै चीन अर्को शक्तिको रुपमा उदायो भने हाल रुस पुनरोदयको बाटोमा छ र विभिन्न विश्वशक्ति केन्द्रहरुले उदारवादी मूल्य-मान्यताहरुलाई चुनौती दिँदै आएका छन् ।

यही सन्दर्भमा नेपालमा जननेता मदन भण्डारीले १४ विशेषतासहितको जनताको बहुदलीय जनवादले फ्रान्सिस फुकुयामाको ‘उदारवादी मान्यता नै विश्वको अन्तिम सत्य’ भन्ने दाबीलाई कठोर चुनौती दिएर मनमोहन अधिकारी नेतृत्वको सरकार जनमतको जगमै बनाइदिएर संसारलाई देखाइदिएको थियो । महाशक्ति राष्ट्रको एक महान विद्वानको जबरजस्त भाष्यलाई चुनौती दिएर नेपालमा गलत सावित गरिदिने जनताको बहुदलीय जनवाद र त्यसका प्रणेता जननेता मदनकुमार भण्डारी एक्काइशौं शताब्दीको ‘सफ्ट पावर’ भएको कुरा स्वतः पुष्टि हुन्छ । भारतको कोलकातामा जननेता भण्डारीले गरेको चर्चित भाषणले विश्वको ध्यानाकृष्ट गर्‍यो । संसारभरबाट आएका कम्युनिष्ट प्रतिनिधिहरुको आँखामा उहाँ पर्नुभयो । त्यस्तै सन् १९९१ मा अमेरिकाको चर्चित पत्रिका न्यूजविकमा छापिएको उहाँको अन्तर्वार्ताले विश्वभर नेपालमा कार्ल मार्क्स जीवित छन् भन्ने सन्देश प्रवाह भयो ।

यस आलेखको सुरुवातमै ‘सफ्ट पावर’ को जुन परिभाषा दिइएको छ, त्यसको आधारमा भन्नुपर्दा जननेता भण्डारीले नेपाललाई उदारवादी विश्व व्यवस्थामा पनि नेपाललाई मार्क्सवादको सृजनात्मक प्रयोग गर्ने नव-मार्क्सवादीहरुको देश भनेर चिनाउनु भयो । नेपालप्रति सारा विश्व जगतको ध्यान तान्नुभयो । जनताको बहुदलीय जनवाद अध्ययन गर्न विश्वभरका कम्युनिष्ट र गैरकम्युनिष्ट शक्ति सबैलाई बाध्य तुल्याउनु भयो । कम्तीमा जबज भनेको के हो भनी बुझ्ने भोक सृजना गरिदिनु भयो । एकातिर सूर्य अस्ताउँदा अर्कातिर उदाएको सन्देश उहाँले विश्व समुदायलाई दिनुभयो ।

जननेता भण्डारीले नेपाललाई उदारवादी विश्व व्यवस्थामा पनि नेपाललाई मार्क्सवादको सृजनात्मक प्रयोग गर्ने नव–मार्क्सवादीहरुको देश भनेर चिनाउनु भयो । नेपालप्रति सारा विश्व जगतको ध्यान तान्नुभयो ।

सफ्ट पावर भनेको आकर्षक व्यक्तित्व, संस्कृति, राजनीतिक मूल्य मान्यता, प्रभावशाली संस्थाहरू, अनुकरणीय नीतिहरू आदिलाई मानिएको छ । मदन भण्डारीको बहु-आयामिक आकर्षक व्यक्तित्व थियो । भाषण सकेपछि पनि जनताको अनुरोधमा भाषणलाई पुनः निरन्तरता दिएका सम्भवतः दुर्लभ राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । उच्च राजनीतिक संस्कृति उहाँमा विद्यामान थियो । आफू ठूलो दल भएर पनि उच्च राजनीतिक संस्कृति प्रदर्शन गरी नेकपा मार्क्सवादीसँग एकता गरेर मनमोहन अधिकारीलाई अध्यक्ष बनाउनेमात्र होइन, कांग्रेसलाई नेतृत्वसहित जनआन्दोलनमा समेटेर सहकार्यद्वारा पञ्चायत शासन अन्त्य गर्ने कुराले उहाँको अब्बल राजनीतिक संस्कृतिलाई पुष्टि गर्छ । १४ विशेषतासहितको जबजले परिवर्तित विश्व व्यवस्थामा कम्युनिष्ट ध्रुवभित्र नवीन राजनीतिक मूल्य मान्यतालाई पुष्टि गर्छ ।

नेपाल विश्व मञ्चहरुमा प्रभावशाली रुपमा उपस्थित हुनुपर्ने र नेपालको प्रतिष्ठा संसारमा उच्च बनाउन सकिने उहाँको विश्वासले प्रभावशाली संस्थाहरुको भूमिका र आवद्धतालाई इंगित गर्छ । अनि जबजको जगमा बनेको नेकपा एमालेको नौ महिने अल्पमतको सरकारले अघि सारेका जनता केन्द्रित नीतिहरूले ‘सफ्ट पावर’ले भने झैं अनुकरणीय नीतिहरुमार्फत विश्व समुदायको मन जित्ने कार्य भएको प्रमाणित हुन्छ । त्यतिमात्रै होइन, युद्धरत माओवादीलाई जबजले तयार गरेको राजनीतिक संरचनाभित्र डोर्‍याएर युद्धका कमान्डर प्रचण्ड तीन पटक, जनमतद्वारा केपी शर्मा ओली दुई पटक, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईलाई एक-एक पटक नेपालको प्रधानमन्त्री बनाउने आधार पनि जबजअनुसार नै भएको देखिन्छ, जुन विश्व कम्युनिष्ट आन्दोलनको नवीन उपलब्धि हो ।

यसरी मदन भण्डारी स्वयम् नेपालको लागि सफ्ट पावर हुनुहुन्छ र उहाँलाई नेपालको सफ्ट पावरको ब्राण्डको रुपमा विश्व जगतमा स्थापित गर्ने भिजनसहित नेकपा एमाले लाग्नुपर्छ । त्यसो त जतिबेला जोसेफ नाईले पश्चिमी विश्वमा ‘सफ्ट पावर’ को अवधारणा अगाडि सार्दै थिए, ठिक त्यही सेरोफेरोमा नेपालमा जननेता भण्डारीले जनताको बहुदलीय जनवाद अगाडि सार्नुभएको थियो । त्यसैले स्वर्गीय भण्डारीलाई ‘सफ्ट पावर’ को ब्राण्डको रुपमा विश्वमा स्थापित गर्न विशेष कार्ययोजना आवश्यक छ ।

(त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा विद्यावारिधि शोध अनुसन्धान पूरा गरेका चन्द मदन भण्डारी फाउन्डेसन र नेपाल बुद्धिजीवी परिषद्मा आवद्ध छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *