मेसिनबाट धान रोप्न चितवन आउँदै प्रधानमन्त्री – Nepal Press

मेसिनबाट धान रोप्न चितवन आउँदै प्रधानमन्त्री

चितवन । आधुनिक प्रविधिबाट धान खेती गर्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले भोलि चितवनमा राष्ट्रिय धान दिवस कार्यक्रम हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै उपस्थित भएर मेसिनबाट धान रोपेर राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

सरकारले हरेक वर्ष असार १५ मा मनाउने राष्ट्रिय धान दिवस यसवर्ष चितवनमा मेसिनबाट एक हेक्टर जमिनमा खेत रोपेर मनाउन लागिएको हो ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ चितवनको बछौलीमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा राष्ट्रिय धान दिवस मनाउन लागेको जनाकारी दिइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेर धान दिवस मनाइने जनाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मेशिनबाट धान रोप्ने कार्यक्रम समेत रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा एक हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपिने छ ।

कृषि विभागका महानिर्देशक तथा मूल आयोजना समितिका संयोजक डा।नरहरी प्रसाद घिमिरे चितवन धान खेतीको जोन क्षेत्र भएकाले यसपटक चितवनमा धान दिवसको आयोजना गरिएको बताए ।

उनले जलवायू परिर्वतन अनुकुल कृषि प्रविधिलाई कृषकसम्म प्रचार प्रसार गर्न चितवनमा धान रोपाइँको आयोजना गर्न लागिएको बताए ।

जलवायू परिवर्तनका कारण धान खेतीमा असर पुग्दै गएको छ । जलवायूमैत्री तथा जलवायू परिवर्तनसँग जुध्न सक्ने प्रविधिहरुको विकासका लागि नेपालमा सुख्खा र डुबान सहने ६ वटा धानका जात विकास गरिएको उनले बताए ।

चितवन धान खेतीको लागि अग्रणी जिल्ला हो । सरकारले चितवनलाई आर्थिक वर्ष २०७६÷०७७ देखि धान जोनको स्थापना गरेको थियो । त्यसपछि यहाँ धानको उत्पादकत्व समेत बृद्धि हुँदे गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन एकाइ चितवनका प्रमुख रेग्मीले जानकारी दिए ।

‘हामीले जोन कार्यक्रम लागु गर्ने समयमा प्रतिहेक्टर ४ दशमलव २२ मेट्रिकटन धान उत्पादन हुँदै आएको थियो । अहिले कार्यालयको सर्वेक्षण गर्दा चैते धान प्रतिहेक्टर ६ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ’, उनले भने ।

बढ्दो सिँचित क्षेत्रफल, आधुनिक प्रविधिहरुको उपयोग, उन्नत जातहरुको प्रयोग एवं रोग किराको प्रकोपमा कमी आएका कारण धान उत्पादनमा बृद्धि भएको उनले बताए । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर