जेरी-२ बाट हटाइएकोमा आना शर्माको असन्तुष्टि, भनिन्- मेरो मन चिरिएको छ – Nepal Press

जेरी-२ बाट हटाइएकोमा आना शर्माको असन्तुष्टि, भनिन्- मेरो मन चिरिएको छ

काठमाडौं । अभिनेत्री आना शर्माले जेरी अन टपबाट आफूलाई बिना जानकारी हटाइएको भन्दै असन्तुष्टि पोखेकी छन् । आफ्नो विषयमा गलत प्रचार गरेर भ्रम फैलाइएको पनि उनको गुनासो छ ।

आनाको भनाइअनुसार फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि उनले आफूलाई सन्चो नभएको भनेर निर्माण टीमलाई जानकारी गराएकी थिइन् । तर, त्यही दिनको उनको ठाउँमा अरू कसैलाई अनुबन्ध गरिएको जानकारी उनले पाइन् ।

उनी लेख्छिन्, ‘फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखेँ । उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ । यसले मलाई ठूलो चोट दियो ।’

‘मैले व्यावसायिक उत्तरदायित्व ननिभाएको भए महिनौँदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ ? ‘सम्झौतामा हस्ताक्षर गरौँ न’ भनिरहँदा उनीहरूले किन पटक-पटक आलटाल गरिरहे ? सम्झौता नगरीकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे ?’

यो फिल्मलाई लिएर आफू एकदमै उत्साहित रहेको आनाले बताएकी छिन् ।

‘योसँग मेरो भावनात्मक मूल्य गाँसिएको थियो । मलाई लाग्छ- यसबारे तपाईँहरू धेरैलाई थाहा छ । त्यसैले फिल्म टोलीप्रति मेरो भरोसा थियो । त्यही भरोसाको आडमा म झन्डै २ वर्षदेखि यो फिल्ममा जोडिएकी थिएँ । मेरो स्थानमा अरू कलाकारलाई लिएपछि आफ्नो नाक जोगाउन उनीहरूले मेरो बारेमा तथानाम बकिरहेका छन् । मैले सुनिरहेकी छु ।’ उनले लेखेकी छन् ।

उनको थप भनाइ छ:

‘लुक टेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनु पर्छ भन्दिनँ । कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो । मलाई यसबारे राम्ररी थाहा छ । र, यो मेरो मुद्दा पनि होइन । तर, जसरी मेरो मानमर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो— त्यो सर्वथा गलत हो । फिल्म टोलीले महिनौँसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे । तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो ?

यी सम्पूर्ण घटनाक्रम मेरा लागि अस्वाभाविक हुन् । मेरो मन चिरिएको छ । बिरामी भएको जानकारी दिएर दोस्रो पटकको लुक टेस्टमा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्व सूचनाबिनै हटाइँदा मन दुख्नु स्वाभाविक हो ।

यदि उनीहरूको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर