विवादित ‘इट्स माइ शो’ बारे प्रेस काउन्सिलले कान्तिपुर टिभीलाई काट्यो २४ घन्टे पूर्जी – Nepal Press

विवादित ‘इट्स माइ शो’ बारे प्रेस काउन्सिलले कान्तिपुर टिभीलाई काट्यो २४ घन्टे पूर्जी

कार्यक्रमको प्रस्तुति र संवाद अश्लील एवं आपत्तिजनक रहेको काउन्सिलको निष्कर्ष

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित एपिसोडलाई लिएर २४ घन्टे पूर्जी काटेको छ । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काटिएको हो ।

उक्त टिभीमा ओसिन सिटौलाले चलाएको स्वस्तिमा खड्कासहितको शो विवादमा तानिएको थियो । काउन्सिल स्वयमको प्रारम्भिक अनुगमनले समेत आपत्तिजनक देखाएपछि आज उक्त पूर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए ।

यो पुर्जीपछि काउन्सिलले अब टिभीका पदाधिकारीलाई बयानका लागि बोलाउने, माफी मगाउन लगाउने, सम्पादन गर्न लगाउने र कालोसूचीमा राख्नेसम्मको कारबाही गर्न सक्छ ।

गत साता उक्त सोमा प्रस्तोताले सोधेको प्रश्न र नायिकाले दिएका जवाफ कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकुल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ ।

काउन्सिलको पत्रमा उक्त सोका प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लवज समेतमा प्रश्न उठाएको छ ।

पत्रमा कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यस उपर व्यक्त भएका जवाफ विना सम्पादन के कसरी सम्प्रेषण हुन गएको हो र यसले समाजमा कस्तो असर पर्छ भन्ने कुराको जिम्मेवारी सञ्चार माध्यमले लिनुपर्छ कि पर्दैन ? भन्दै २४ घण्टाभित्र जवाफ माग गरिएको छ ।

काउन्सिलले पछिल्लो समयमा युट्युब, अनलाइन र विभिन्न मिडियामा आचारसंहिता विपरीत देखिने सामाग्रीलाई तत्काल हटाउने र अटेर गरे कालोसूचीमा राख्ने कामलाई तीव्रता दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर