संसद् छिरे फणीन्द्र, मन्त्रीको शपथ कहिले ? – Nepal Press

संसद् छिरे फणीन्द्र, मन्त्रीको शपथ कहिले ?

पोखरा । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा सर्वोच्च अदालतको आदेशसँगै पुनः प्रदेश सभा बैठकमा सहभागी छन् ।

पार्टीको ह्विप नमानेको भन्दै माओवादीले गत जेठ ३२ गते फणीन्द्रलाई कारबाही गरेको थियो । तर, सर्वोच्चले गत सोमबार कारबाही गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फर्णीन्द्रको प्रदेश सभा छिर्ने बाटो खुलेको थियो ।

सर्वोच्चको आदेशपछि उनी बिहीबारको प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका थिए । तर, सभामुखको निर्देशनअनुसार मर्यादा पालकले उनलाई सभामा छिर्ने रोक लगाएका थिए । सभामुख कृष्णप्रसाद धितालले तयारी नपुगेकाले बिहीबारको बैठकमा सहभागी नबनाइको जनाए ।

छलफलपछि फणीन्द्र शुक्रवारको बैठकमा भने उपस्थित जनाएका छन् । उनी सभाको दायाँतर्फ उपसभामुखको छेउमा बसेका थिए । फणीन्द्र गत जेठ २८ गते नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार जोगाउँदा माओवादीको कारबाहीमा परेका थिए ।

विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले फणीन्द्रलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाएका थिए । तर, माओवादीको कारबाहीपछि ३ दिनमै उनी पदमुक्त भएका थिए । सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री पाण्डेले फणीन्द्रलाई पुनः मन्त्री बनाउने तयारीमा छन् ।

बिहीबार नै फणीन्द्रलाई मन्त्रीको शपथ खुवाउने तयारी थियो । तर, फणीन्द्रलाई प्रदेश सभा बैठकमा प्रवेश गर्न सभामुखले रोक लगाएपछि शपथ कार्यक्रम रोकिएको थियो ।

फणीन्द्रलाई आइतबार शपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बताउँछ । उनलाई पुरानै मन्त्रालय दिने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् ।

फणीन्द्रसँगै विश्वासको मत दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा ल्याउने कसरत भइरहेको छ । राप्रपा सम्भवत २÷३ दिनमै सरकारमा आउने मुख्यमन्त्री स्रोतको दाबी छ । सरकार प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले सकेसम्म छिटो फणीन्द्रलाई मन्त्री बनाउने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर