मेन्टल हेल्थ मिट २०२४: मौलिक पद्धति विकास गर्न नियमित अभ्यास र अनुसन्धानमा जोड – Nepal Press

मेन्टल हेल्थ मिट २०२४: मौलिक पद्धति विकास गर्न नियमित अभ्यास र अनुसन्धानमा जोड

काठमाडौं । मेन्टल हेल्थ मिट २०२४ सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा भएको गोष्ठीमा मानसिक क्षेत्रका विज्ञहरुले सम्बोधन गरेका थिए । हाइअर ग्राउण्ड नेपालले प्रायोजन गरेको कार्यक्रमको सहप्रायोजन एम्पावरिङ माइण्डले गरेको थियो भने इम्प्लिमेन्टिङ पार्टनरका रुपमा डिअर सम्बन्ध, बेटर माइण्डस् र स्मार्ट प्यारेन्टिङ रहेका थिए ।

सबैले सहकार्य गरौं भन्ने आशयमा भएको मिटमा मानसिक स्वास्थ्यका विभिन्न चुनौती, सहकार्य र आयामहरुका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा मनोविद डा. किशोर अधिकारीले माटो सुहाउँदो मानसिक स्वास्थ्य अभ्यासको खाँचो रहेको औंल्याए । उनले विदेशमा प्रमाणित प्रणालीहरु एवम् रिसर्च टुलहरुलाई नेपालको संस्कृति, मूल्य मान्यतासँग पुनर्जाँच गरेर मात्रै प्रयोग गर्ने प्रणालीको विकास गर्नुपर्ने बताए ।

स्नातक तहदेखि नै अनुसन्धानमा लगाउनुपर्ने जसका लागि आफूहरुले सहकार्य गर्न तत्पर रहेको उनले उल्लेख गरे । यस्ता किसिमका कार्यक्रमहरु नियमित गर्न तथा ३ मिनेट मास्टर थेसिस जस्ता किसिमका अवधारणका कार्यक्रम सञ्चालन गर्न सकिने अधिकारीको भनाइ थियो ।

त्यसैगरी, नेपाली मनोवैज्ञानिक संघका अध्यक्ष एवम् मानेविद डा. नरेन्द्र सिंह ठगुन्नाले मनोविदहरुले मन जोड्ने कुरा गरे पनि आफूहरुबीच नै यो व्यवहारमा लागू नभएको आभास हुने बताए । जसका कारण सही सहकार्यको अभाव भएको उनको भनाइ छ । आफूहरुले विदेशमा कार्य गर्दा आफूलाई देशको आधिकारिक संस्था हो भनेर सोधिने गरेको बताए । जसले गर्दा मनोविज्ञानमा काम गर्नेहरुको साझा छाता संस्था आवश्यक रहेको उनले औंल्याएँ ।

सामानान्तररुपमा विभिन्न संघसंस्थाहरु भए पनि आधिकारिक निकाय नभएकोले पनि विश्वव्यापी कार्य गर्न कठिन भएको उनको अनुभव छ । त्यस्तै, नेपालकै मौलिकतालाई ध्यानमा राखेर मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमाा गहन अध्ययन हुनुपर्ने ठगुन्नाले बताए । उनले यस किसिमका कार्यक्रम देशव्यापी रुपमा नियमित गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा भर्खरै फोर्ब्स म्यागेजिनको ३० प्रभावकारी एशिया महिलाको सूचीमा पर्न सफल ह्यापी माइन्डकी सञ्चालक श्रेया गिरीले विभिन्न संस्थाहरुमा नीति परिवर्तनका लागि आफूहरुले काम गरिरहेको बताइन् । जहाँ एकपटक नीति परिवर्तन गरी मानसिक स्वास्थ्यको स्थान बनाइसकेपछि स्वतः सञ्चालन हुने उनको बुझाइ छ । जसमा पनि सामूहिक प्रयास र सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् । प्रतिस्पर्धा भन्दा पनि सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको गिरीले बताइन् ।

त्यसपछिको सामूहिक छलफलमा पनि विज्ञहरुले विभिन्न विषयमा आफ्ना अनुभवजन्य धारणा राखेका छन् । मनोचिकित्सक डा. रिशभ कोइराला, त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक एवम् मनोविद डा. सुरज शाक्य, डा. गोविन्द उपाध्याय र माइन्डफूलनेसका प्रशिक्षक मौसम शाक्यले सामूहिक छलफलमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

मनोचिकित्सक डा. कोइरालाले पहिलेदेखि मानसिक स्वास्थ्यका विषयमा पनि जैविक तत्वले मात्रै भूमिका खेलेको भन्ने बुझाइ भएकाले पनि सहकार्य कठिनाइ भएको उल्लेख गरे । पछिल्लो समय बायोलोजीकल तथा मनोविज्ञानलाई साथै लिएर गइरहेको अवस्था पाइएपनि पर्याप्त समन्वय र सहकार्य अभाव भने रहि नै रहेको उनको बुझाइ छ । त्यसको समाधानका लागि नियमित अनुसन्धान आवश्यक रहेको कोइरालाले बताए ।

त्यस्तै, मनोविद शाक्यले मनोविज्ञानले विशेषगरी चारवटा आयाममा कार्य गर्ने उल्लेख गरे । हाम्रो आफ्नै जीवनशैली र समुदायमा निहीत त्यस्ता अभ्यासहरुलाई व्यवस्थित गर्दा मानसिक स्वास्थ्यको प्रवर्द्धनात्मक कार्य हुने उनले बताए । जसले जनचेतनाको तह बढ्ने उनको भनाइ छ । त्यस्तै, अर्को भनेको समस्या आउनै नदिने प्रिभेन्सनमा कार्य गर्न सकिने, कुनै समस्या आइसकेपछि पनि व्यक्तिको आफ्नो मौलिकतासँग जोडेर सहयोग गर्न सकिने र पुनर्स्थापनाका लागि सहयोग गर्न सकिनेबारे शाक्यले प्रकाश पारेका थिए ।

त्यस्तै, उपाध्यायले मनोविज्ञानले हाम्रै वैदिक धर्म, संस्कृति र मौलिकतामा आधारित प्रणालीलाई वैज्ञानिक आधार प्रदान गर्ने किसिमले कार्य गर्नुपर्ने बताए । उनले आफू दर्शनको पृष्ठभूमिको भएर पनि विश्वास गरेकोमा आभार व्यक्त गर्दै यसैगरी सर्वांगीण पक्षलाई समेटेर नै मनोविज्ञानको जग बलियो हुने बताए ।

प्रशिक्षक शाक्यले हरेक विषयहरु पूर्वीय दर्शनमा भए पनि स्पष्टता र सान्दर्भिक अनुसन्धानको कमीले यसैगरी प्रयोग गरिहाल्ने अवस्थाको अभाव रहेको उल्लेख गरे । तसर्थ नेपालका विभिन्न वैदिक आयामलाई अनुसन्धानको जग आवश्यक रहेको उनको ठम्याइ थियो ।

त्रिविका उपप्रध्यापक पदमराज जोशीले मनोविज्ञानमा अब माथिल्लो पुस्ताले बाटो देखाएको र गर्नुपर्ने जिम्मेवारी अब आजको पुस्तामा आएको बताए । सहभागीहरुलाई कार्याशालामा सहजीकरण गर्दै जोशीले सहकार्य, समन्वय र अनुसन्धान अनि निरन्तर अभ्यासले नै नेपालको मनोविज्ञानको क्षेत्र विस्तार, विकसित हुने बताए ।

कार्यक्रममा बेटर माइन्डका सञ्चालक एवम् मनोपरामर्शदाता कपील शर्माले मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तनका लागि सहकार्य र समन्वय नै प्रमुख कुरा भएको बताए । यसका लागि यो पहिलो कदम भएको उनको भनाइ थियो ।

त्यस्तै, स्मार्ट प्यारेन्टिङका प्रबन्धक कवीन्द्र नापितले यस्तै किसिमका कार्यक्रमहरु नियमित गर्ने बताउँदै सहभागीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले याेग नृत्य पनि प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर