एसईईमा लुम्बिनीबाट ६ जनाको ४ जीपीए – Nepal Press

एसईईमा लुम्बिनीबाट ६ जनाको ४ जीपीए

रुपन्देही । बिहीबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा लुम्बिनी प्रदेशबाट ६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । सार्वजनिक नतिजाअनुसार देशभर १८६ जनाले जीपीए ४ ल्याएका छन् ।

रूपन्देहीबाट सामुदायिक विद्यालयबाट एक र संस्थागत विद्यालयबाट एक जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । रूपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले एसईईको नतिजामा जीपीए ४ ल्याएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले बताए ।

सामुदायिक विद्यालयतर्फ यो नै एक मात्रै जीपीए ४ हो । कृतिमले रामापुर माविमा कक्षा ९ देखि पढेका थिए । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रूपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।

यस्तै बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् । न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएको विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले बताए ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् । प्रवेश घरको एक्लो छोरा हुन् ।

यसैगरी पाल्पाको जनता मावि ९जेभिटी० बाट एसईईमा सहभागी विद्यार्थी उत्सव ढुंगानाले चार जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेका अनुसार तानसेन नगरपालिका वडा नम्बर ३ बसन्तपुरमा रहेको उक्त विद्यालयबाट कुल ६७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

विद्यालयका प्रधानाध्यापक घिमिरेका अनुसार कक्षा ६ देखि नै जनता विद्यालयमा पढ्दै आएको विद्यार्थी ढुंगानाका बुवा सोही विद्यालयका निमावि तहको स्थायी अंग्रेजी विषयको शिक्षकको रूपमा कार्यरत रहेका छन् । आमाबुबा नै शिक्षक रहेका कारण पनि शैक्षिक वातावरण राम्रो भएको कारण विद्यालयले राम्रो नतिजा ल्याएको प्रअ घिमिरेको भनाइ रहेको छ । सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी विद्यार्थी उच्च जिपीएका साथ उत्तीर्ण गराउन सफल भएको प्रअ घिमिरेले जानकारी दिए ।

यस्तै पाल्पाको दरैठाँठी माध्यमिक विद्यालयबाट विद्यार्थी पूर्णीमा कुँवरले चार जीपीए ल्याएकी छन् । सामुदायिक विद्यालयतर्फ उनी पाल्पा जिल्लामा चार जीपीए ल्याउने विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले जनाए ।

यसैगरी सिद्धार्थ एकेडेमी बोर्डिङ स्कुल घोराही दाङबाट सहभागी विद्यार्थी विक्रम नेपालीले ४ जीपीए ल्याएका छन् । दाङको घोराहीमा रहेको माउन्ट भ्यु स्कुलका विद्यार्थी आयुष्मा घिमिरेले चार जीपीए ल्याएकी छन् । दाङबाट चार जिपीए ल्याउने २ जना विद्यार्थी दुई जना नै संस्थागत विद्यालयका विद्यार्थी हुन्   ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *