कृषिलाई प्राथमिकता दिन मुख्यमन्त्री कार्कीको आग्रह – Nepal Press

कृषिलाई प्राथमिकता दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् ।

खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताएका हुन् ।

२१ औंँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर उत्पादन बढाउन आवश्यक रहेको बताए ।

कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगहरुको अवस्थामा पनि सुधार नआउने भन्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सिमिति श्रोत र साधनकाबीच पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन उहाँले आग्रह समेत गरे । पछिल्लो समयमा बसाईसराई र विदेश पलायनले कृषि क्षेत्र धरासायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले दीगो विकासका लागि आधुनिक कृषि कर्ममा युवाहरुले चासो देखाउनु पर्ने बताए ।

यस वर्ष जलवायुमैत्री कृषि धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ २१ औ धान दिवस मनाइँदै छ । धान लागयतका कृषि उत्पादनको वृद्धिका लागि गुणस्तरीय विउको उत्पादन र कृषिमा यान्त्रिकरणमा प्रदेश सरकारले काम गरिरहेको उनले बताए । यस्तै रसायनिक मलको अभावलाई कम गर्न संघीय सरकारसँग मिलेर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, अतिवृष्टि,बाढि पहिरो तथा रोग किराका कारण धान उत्पादनमा असर परिरहेको भन्दै उनले जलवायु परिवर्तनको असरसँग अनुकुल हुने धानका जात र खेति प्रविधिको विकास गरी प्रविधिमैत्री उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको जोड दिए।

कोशी प्रदेशमा पहिलो बालीका रुपमा धान खेति हुँदै आएको छ । २ लाख ७६ हजार ३८६ हेक्टर जमिनमा धान खेती हुन्छ हुने गरेको छ । जसमध्ये अहिलेसम्म १३.७१ प्रतिशत अर्थात ३ हजार ७८०.३५ हेक्टर क्षेत्रफलमा धान रोपाँइ भएको छ । उच्च पहाडी क्षेत्रमा १७.४८ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने मध्य पहाडी क्षेत्रमा २१.२१ प्रतिशत तथा तराई क्षेत्रमा १०.७८ प्रतिशत क्षेत्रफलमा धान रोपाँइ भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *