शक्ति गौचन: खेलाडी उत्पादन र पूर्वाधार निर्माणमा बिताउँछन् मन – Nepal Press

शक्ति गौचन: खेलाडी उत्पादन र पूर्वाधार निर्माणमा बिताउँछन् मन

रुपन्देही । शक्ति गौचन नेपाली क्रिकेटका लागि परिचित नाम हो । अन्तर्राष्ट्रिय क्रिकेटमा अलराउण्डरको भूमिकामा खेलेका उनले खेलमा सन्यास लिएको ६ वर्ष हुँदा पनि उसैगरी चर्चामा छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका महत्वपूर्ण पूर्व क्रिकेट खेलाडी गौचन अल राउन्डर क्रिकेट खेलाडी थिए । उनै गौचन अहिले खेलाडी उत्पादनमा कस्सिएका छन् ।

खेल जीवनबाट रिटायर्ड भएर नेपाली क्रिकेटको ग्रासरुट बलियो बनाउन लागेका छन् उनी । उमेर समूहका खेलाडी तयार गर्नेदेखि क्रिकेट खेलको पूर्वाधारमा उनले अहिले सबै समय केन्द्रीत गरेका छन् ।

रुपन्देहीको ओमसतिया २ स्थित स्टार क्रिकेट एकेडेमीमा खेलाडीलाई क्रिकेटको कखरा सिकाउने गरिन्छ । एकेडेमीमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका खेलाडीहरू नियमित अभ्यास गर्छन् । २ लेवलको आइसिसी क्रिकेट प्रशिक्षक प्रशिक्षण पास गर्न सफल उनी खेलमा हुने राजनीतिक चलखेलले निकै नै असर गरेको अनुभव सुनाउँदै त्यसको अन्त्य जरुरी भएको सुझाव दिन्छन् ।

एकेडेमीमा आउने खेलाडीहरूको रुचीलाई मध्यनजर गरी उनीहरूमा भएको ट्यालेन्टलाई पहिचान गरी अभ्यास गराउने गरिएको उनले बताए । एकेडेमीमा क्रिकेटको कखरा सिक्न आउनेमा ६० प्रतिशत बढी स्थानीय नै हुन्छन् । त्यसबाहेक विभिन्न जिल्लाबाट समेत आउने गर्छन् । समग्र देशबाट २ दर्जन बढी खेलाडीहरू विदेशमा बिकल्प खोजिरहेको अवस्थामा रूपन्देहीबाट तयार भएका एक दर्जन बढी खेलाडीहरू विदेश पलायन भएको उनले बताए ।

ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने योजनालाई नियमित गर्न क्रिकेट एकेडेमी सञ्चालन गरेर जिल्लाबाट खेलाडी संरक्षण, विद्यालय तहका क्रिकेट प्रतियोगिता संचालन तथा प्रशिक्षणमा उनले फरक पहिचान बनाएका छन् ।

नेपालमा क्रिकेटको विकासका लागि ग्रासरुट अर्थात १२ बर्ष उमेर समुहबाटै खेलाडी उत्पादन गर्नुपर्ने सुझाव दिने उनी क्षमता भएको खेलाडी खेल प्रशिक्षकहरु टाढा राख्ने गरेको उदाहरण नेपाली क्रिकेटमा भेटिएकाले त्यसमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

क्रिकेटको विकासका लागि भौतिक संरचनासँगै नियमित खेल प्रतियोगिता जरुरी रहेको उनको सुझाव छ । उनले आफूलाई धेरै ठाउँबाट अफर आएको तर आफ्नो क्षेत्रमा रहेर क्रिकेटको सेवा गर्न चाहेको बताउँदै काम गरेपनि सोचे जस्तो सहयोग पाउन नसकेको उनको गुनासो छ ।

उनीसँग प्रतिभा बोकेको खेलाडी पहिचान गर्ने क्षमता रहेको उनले सिकाएका र अगाडि बढाएका खेलाडीले देखाएको प्रदर्शनले प्रमाणित गरेको छ । त्यसको उदाहरण हो वर्तमान नेपाली राष्ट्रिय टीमका प्रमुख सदस्य कुशल मल्ल हुन् वा सुशान्त भारी । उनले यस्ता धेरै खेलाडी उत्पादन गर्नसक्ने क्षमता बोकेका छन् तर त्यो अवसर सजिलोसँग पाएका भने होइनन् ।

उनले आफूले थालेको काममा थप सहयोग पाउन सकेमा अबको ५ वर्षमा रुपन्देहीबाट मात्र नेपाली राष्ट्रिय टीमका सदस्य आधा हुने दावीसहित विश्वास व्यक्त गर्दछन् र त्यसका लागि आफूसँंग ठोस योजना रहेको बताउँछन् । दैनिक सेडुअल बनाएर उनी प्रशिक्षणमा सहभागी हुने गर्दछन् । होराइजन स्कुलमा दुई दशकयता नियमित प्रशिक्षक रहेका छन् उनी ।

बिहान र बेलुका स्टार क्रिकेट एकेडेमीमा रहने उनी दिउसो होराइजनमा प्रशिक्षणमा रहने गर्दछन् । कुशल मल्ल होराइजनबाटै उत्पादन भएर अहिले अन्तर्राष्ट्रिय खेलमा सहभागी छन् । रुपन्देहीको तिलोत्तमामा रहेको निजी क्षेत्रबाट बनाइएको नेपालकै पहिलो एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अभिभावक बनेर ब्राण्ड एम्बेस्डरका रुपमा अहिले यहाँको सम्पूर्ण जिम्मेवारी उनले संहालेका छन् । यसका मुख्य संचालक विनोद कुँवर अष्ट्रेलियामा बस्ने भएकाले पनि यहाँ उनले महत्वपूर्ण जिम्मेवारी सम्हालेका हु्न् ।

शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी भएको खेलकुदका जानकारहरु बताउँछन् । खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीका अनुसार दुई दशक नेपाली क्रिकेटमा एकछत्र प्रभाव जमाएका गौचन अहिले खेलाडी उत्पादन र यसको भौतिक पूर्वाधार सुधारमा खटिएको बताउँछन् । नेपाली राष्ट्रिय टीमका लागि ओमानविरूद्व सन् २००२ जुलाईमा डेब्यु गरेका उनले २ जुलाई २०१८ मा नेदरल्यान्ड विरूद्वको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट र २०१८ एभरेष्ट प्रिमियर लिगपछि घरेलु क्रिकेटबाट पनि सन्यास लिएका हुन् उनले ।

सक्रिय खेल जीवनबाट सन्यास लिएपछि उनले गृहजिल्ला रुपन्देही फर्केर क्रिकेट एकेडेमी स्थापना गरेका छन् । यसैको विकास र खेलाडी उत्पादनलाई प्राथमिकता दिने योजना बनाएका उनी यहाँको पुरानो संस्थागत विद्यालय न्यू होराइजनमा क्रिकेट प्रशिक्षकको जिम्मेवारीमा निरन्तर छन् । यही स्कुलबाट उनै गौचनले प्रशिक्षण गरेका खेलाडी हुन् कुशल मल्ल ।

मल्ल अहिलेको नेपाली टीममा प्रभावशाली खेलाडीको रुपमा उदाएका छन् । गौचनकै अगुवाईमा रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्टार क्रिकेट एकेडेमी संचालन गरेका छन् । यसलाई उनले नियमित कार्यतालिका बनाएर चलाएका छन् । उनले आफ्नो बुवाको स्मृतिमा ६ वर्षयता नियमित क्रिकेट प्रतियोगिता चलाइरहेका छन् । यसमा विद्यालय तहका देशभरका विभिन्न क्लबहरुबाट सहभागिता गराइरहेका छ ।

‘क्रिकेटमा अहिले देखिएको क्रेजले निकै खुसी बनाएको छ तर विद्यालय तह र युवा खेलाडीका लागि नियमित प्रतियोगिता गर्ने आधारहरु छैनन्, यसको अभ्यासका लागि पूर्वाधार नै छैनन् राम्रो संभावना भएका खेलाडीहरु क्रिकेटमा भविष्य नदेखेर पलायन हुने डर छ’ उनले भने–‘प्रतिभाशाली खेलाडी उत्पादनमा राज्य तथा निजी क्षेत्रको ध्यान पुग्न सकेको छैन, खेलाडी पलायनको समस्या पनि बढेकै छ।’

गौचन आफै पनि यो बीचमा साथ नपाएको भए अन्य देशमा विकल्प खोज्नुपर्ने अवस्था आउनसक्ने तर आफूले त्यो अवस्था भोग्नुनपरेको स्मरण गर्छन् ।

४० वर्षीय शक्ति रुपन्देहीको तिलोत्तमामा बनेको निजी क्षेत्रको नेपालको पहिलो ठूलो क्रिकेट मैदान एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको अभिभावक मात्रै होइन क्रिकेट एकेडेमीको ब्रान्ड एम्बासडर बनेर एक वर्षयता नियमित काम गरिरहेका छन् । यसै पनि रुपन्देही नेपाली क्रिकेटका लागि उर्वर भूमिको रुपमा परिचित छ ।

क्रिकेटको महिला र पुरुष दुवैतर्फबाट एक दर्जनभन्दा बढी सशक्त खेलाडीहरु अहिले विभिन्न टीममा बसेर खेलिरहेका छन् । यही अवस्थालाई हेरेर पनि गौचनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने अभियानलाई विशेष प्राथमिकता दिएर लागेका छन् ।

खेलाडी उत्पादनबाटै नेपाललाई क्रिकेटमा अन्तर्राष्ट्रि टेस्ट राष्ट्रको मान्यता पाएको हेर्न चाहेको उनको भनाइ छ । नेपाली क्रिकेटलाई अहिलेको उचाइमा पुराउने महत्वपूर्ण भूमिका उनको रहेको क्रिकेटका जानकारहरु बताउँछन् ।

नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय खेलमा नेपाली क्रिकेटलाई स्थापित बनाउन उनको विशेष भूमिका रहेको समकालीन खेलाडीहरुले बताइरहेका छन् । उमेर समूहको प्रतियोगितामार्फत राष्ट्रिय टोलीसँग गाँसिएका शक्ति त्यसपछि नेपालले टी–ट्वान्टी विश्वकप खेल्दा र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एक दिवसीय राष्ट्रको मान्यता पाउँदाका पनि साक्षी हुन् ।

सन् २००१ को फेब्रुअरीमा उनले देशको प्रतिनिधित्व गर्दै बंगलादेशमा आयोजना भएको एसीसी यू–१७ एसिया कप खेलेको समयमा आफ्ना समर्थकबाट उनले ठूलो समर्थन पाएका थिए । त्यसपछि भने उमेर समूहकै राष्ट्रिय टोलीबाट उनले सन् २००२ मा न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेट खेले । सन् २००२ को जुलाई १० देखि २१ तारिखसम्म सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले सिनियर राट्रिय टोलीबाट खेलेका थिए । त्यतिबेला नेपालले एक सय पाँच रनको फराकिलो अन्तरले ओमानलाई हराउँदा शक्तिले ३७ रन बनाएर चर्चा बटुलेका थिए ।

त्यतिबेला नेपाललाई एसीसी ट्रफीको फाइनलसम्म पुर्‍याउन शक्तिले कुल दुई सय ४८ रन जोडे । नेपालले सेमिफाइनलमा मलेसियालाई २५ रनले हराउँदा शक्ति एक्लैले ६७ रनको योगदान गरेका थिए । यसका अतिरिक्त प्रतियोगितामा उनले अत्यन्तै किफायती बलिङ गर्दै सात विकेट पनि लिएका थिए । नेपाली टोली फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६ विकेटले पराजित भएको थियो ।

सन् २००४ पछि भने उनी नियमित रूपमा सिनियर राष्ट्रिय टोलीको सदस्य बने । सन् २००४ को मार्चमा यूएईमा भएको आईसीसी इन्टरकन्टिनेन्टल कप उनले खेलेको पहिलो श्रेणीको प्रतियोगिता थियो । त्यहाँ उनले यूएईविरुद्ध पहिलो खेल खेलेका थिए । उक्त खेल बराबरीमा सकिएको थियो ।

सोही प्रतियोगितामा मलेसियाविरुद्धको खेलमा उनले लामो समय क्रिजमा टिकेर दुई सय ३१ बलको सामना गरी अविजित ६९ रन बनाएका थिए । उक्त खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो । शक्ति र नेपालकै मेहबुब आलम संयुक्त रूपमा ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।

आईसीसी टी–ट्वान्टी विश्वकपका लागि सन् २०१२ मा यूएईमा छनोट प्रतियोगितामा भाग लिँदा शक्तिले उत्कृष्ट प्रदर्शन गर्दै १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा दोस्रो नम्बरमा परेर चर्चामा आएका थिए ।

त्यसैगरी डेनमार्कविरुद्धको खेलमा त उनले ह्याट्रिकसहित चार विकेट लिए । यस प्रतियोगितापछि ईएसपीएन क्रिकइन्फोले नेपालबाट तत्कालीन कप्तान पारस खड्का र शक्तिलाई उत्कृष्ट–११ टोलीमा समेत समावेश गरेको थियो, तर नेपाल विश्वकपमा छनोट हुन सकेन, प्रतियोगितामा नेपाल सातौँ हुन पुग्यो ।

सन् २०१४ को १६ मार्चदेखि ६ अप्रिल तारिखसम्म बंगलादेशमा आयोजना हुने टी–ट्वान्टी विश्वकपका लागि सन् २०१३ मा यूएईमा छनोट प्रतियोगितामा आयरल्यान्ड पहिलो, अफगानिस्तान दोस्रो र नेपाल तेस्रो भएका थिए । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी घरेलु टोली यूएईलाई पाँच विकेटले हराएको थियो ।

सन् २०१४ मा पहिलोपटक नेपालले टी–ट्वान्टी विश्वकप खेल्यो र शक्ति पनि खेलमा सहभागी भए । टी–ट्वान्टी विश्वकप खेलेपछि शक्तिले नेपाललाई एक दिवसीय राष्ट्रको मान्यता दिलाउने चाहना राखेर खेल्दै गएको बताउँछन् । एकदिवसीय राष्ट्रको मान्यता पाएपछि सन् २०१८ को अगस्तमा नेपालले पहिलोपटक नेदरल्यान्ड्ससँग उसैको घरेलु मैदानमा तीन खेलमा शक्ति पनि टोलीमा परेर एउटा खेल मात्र खेलेका थिए । यही खेलपछि शक्तिले अन्तर्राष्ट्रिय खेलजीवन (राष्ट्रिय टोली)बाट सन्न्यासको घोषणा गरेका थिए ।

१७ वर्ष लामो सक्रिय खेल जीवनमा उनले क्रिकेट मैदानमा आफ्नो चर्चा चलाए । बायाँ हातको धारिलो स्पिन बलिङ र दायाँ हातको ब्याटिङको चमत्कारले धेरैको मन जितेका थिए उनले । उनले सन्यास लिँदा उमेरका हिसाबले उनलाई समस्या थिएन । नयाँ र प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्न यो बाटो रोजेको र यसमा आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।

उनले आफ्नो एकेडेमीबाट थुप्रै क्षमतावान् खेलाडी उत्पादन गरेर नेपाली क्रिकेटलाई सुम्पिएका छन् । उनकै एकेडेमीबाट उत्पादित १५÷२० जना प्रतिभाशाली खेलाडी अहिले जुनियर क्रिकेटमा सक्रिय छन् । सिनियर राष्ट्रिय टोलीबाटै पनि उनले उत्पादन गरेका केही खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको गौरव बढाइरहेका छन् ।

कुशल मल्ल र सुशान भारी पनि शक्तिले नै तयार पारेका प्रतिभाशाली खेलाडी हुन् । कुशल र सुशान दुवै अहिले नेपाली क्रिकेटको स्थापित नाम हुन् । सुशानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको ओमानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । पहिलो खेलमै उनले दुई विकेट लिएर आफ्नो क्षमताको परिचय दिएका थिए ।

कुशल मल्ल अहिलेको अन्तर्राष्ट्रिय टीममा प्रभावशाली खेलाडी हुन् । क्रिकेट एकेडेमी स्थापना गर्न शक्तिले एक करोड रुपैयाँको हाराहारी खर्च गरेका छन् । अहिले यहाँ उनी एक सय युवा खेलाडीका प्रशिक्षक हुन् । रुपन्देही बाहिरका खेलाडीले पनि उनको एकेडेमीमा प्रशिक्षण लिँदै आएका छन् ।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो समस्या भनेकै उमेर समूहको क्रिकेट विकासमा सम्बन्धित निकायले योजना नबनाउनु मुख्य समस्या भएको उनको ठम्याई छ । एकेडेमीबाट उत्पादित खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने, सुधार्ने स्तरीय पूर्वाधारमा अभ्यास गरेर र प्रतियोगिता खेलेर हुने भएकाले यसमै ध्यान दिनुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर