पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग – Nepal Press

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति भएकोमा कम्युनिष्टहरु सबै सहमत रहेको बताए ।

मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै महासचिव विप्लवले अहिले सन्तानका रुपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको बताए ।

उनले सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरुविरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गरेका बताए ।

‘मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो । त्यो कम्युनिष्ट पार्टीका सन्तानका रुपमा आज नेपालमा लाखौंलाख श्रमिक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो । पुष्पलालले दुइटा प्रवृत्तिको विरुद्धमा निरन्तर संघर्ष गर्नुभएको छ । त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ । खासगरी सामन्तवादको विरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरुविरुद्धको संघर्ष । यो दुइटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ’, उनले भने, ‘वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झण्डा उठाउनुभएको छ र लड्नुभएको छ । पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौं । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ ।’

महासचिव चन्दले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी रहेको बताए ।


प्रतिक्रिया

One thought on “पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

  1. सन् 1924 मा जन्मेका पुष्पलालले सन् 1883 मा निधन भएका कार्लमार्क्सलाई कहाँ कहिले भेटेछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर