इरानको राष्ट्रपतीय मत गणनामा पेजेस्कियन र जलिलीबीच प्रतिस्पर्धा – Nepal Press

इरानको राष्ट्रपतीय मत गणनामा पेजेस्कियन र जलिलीबीच प्रतिस्पर्धा

तेहरान । इरानका सुधारवादी उम्मेदवार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सइद जलिलीले राष्ट्रपतीय निर्वाचनको मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ ।

पछिल्लो परिणामअनुसार पेजेस्कियनले ८३ लाखभन्दा बढी मत प्राप्त गरेको छ । पूर्वआणविक वार्ताकार जलिलीले ७१ लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।

हालको मत गणना जारी रहेको अवस्थामा दुवै उम्मेदवारले जुलाई ५ मा हुने दोस्रो निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्नेछ । इरानी संविधानमा यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको चुनाव गर्नुपर्ने प्रावधान छ ।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा भएको १३ वटा राष्ट्रपतीय चुनावमध्ये सन् २००५ मा भएको एउटामात्र निर्वाचनमा दोस्रो चरणको मतदानबाट राष्ट्रपतिको चयन गरिएको थियो ।

आन्तरिक मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ९० लाखभन्दा बढी मत गणना भइसकेको छ । प्रारम्भिक परिणाममा कन्जरभेटिभ संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफ लगभग २६ लाख मतसहित तेस्रो स्थानमा छन् ।

यसैगरी चौथो स्थानमा परम्परावादी धर्मगुरु मुस्तफा पौरमोहम्मदीले १५ लाखभन्दा बढी मत पाएका छन् ।

नियमित तालिकाअनुसार सन् २०२५ मा हुनुपर्ने निर्वाचनका लागि करिब ६ करोड १० लाख इरानी मतदान गर्न योग्य थिए ।

इस्लामिक गणतन्त्रमा चुनावी उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले सुरुमा ६ जना उम्मेदवारलाई अनुमोदन गरेको थियो, तर चुनावको एक दिन अगाडि दुई उम्मेदवार अलिरेजा जाकानी र अमिर–हुसेन गाजीजादेह हाशेमी दौडबाट बाहिरिएका थिए । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर