कम्युनिष्टहरुबीच एकता आवश्यक छ: एमाले उपाध्यक्ष ज्ञवाली – Nepal Press

कम्युनिष्टहरुबीच एकता आवश्यक छ: एमाले उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए ।

उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टहरुको बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने औंल्याए । देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको उनको भनाइ छ ।

उनले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएकाले सबै एक भएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए ।

‘कम्युनिष्टहरुबीच एकता गर्नुपर्छ । एकताबद्ध नभइकन हुँदैन । कम्युनिष्टमात्रै होइन, हामी कांग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि प्राप्त गर्न सकेका छौं । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरु धेरैभन्दा धेरै मिलेरै काम गर्नुपर्छ’, उपाध्यक्ष ज्ञवालीले भने, ‘नेपाली जनताबीचको एकता, यो देशका राजनीतिक पार्टीहरुबीचको एकता, लोकतान्त्रिक पार्टीहरुबीचको एकता र देशमा सबैभन्दा महत्वपूर्ण कुरा कम्युनिष्टहरुबीचको एकता हो । कम्युनिष्टहरुको नेतृत्व सबैलाई युनिफाइड गर्ने र त्यसको नेतृत्व कम्युनिष्टले गर्नुपर्छ ।’

कम्युनिष्टहरु मिल्न नसके देश बर्बाद हुने बताउँदै उनले भने, ‘जतिसुकै ठूला चुनौती भए पनि कम्युनिष्टहरु एकताबद्ध भएर जाने हो भने संसारका कुनै पनि तागतले केही गर्न सक्दैन । मूल कुरा हामी एकताबद्ध हुन्छौं कि हुँदैनाँं भन्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर