चितवनमा ‘चिनो’को शाखा विस्तार, दुई वर्षभित्र विदेश निर्यात गर्ने लक्ष्य – Nepal Press

चितवनमा ‘चिनो’को शाखा विस्तार, दुई वर्षभित्र विदेश निर्यात गर्ने लक्ष्य

चितवन । तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘चिनो’ले चितवनमा शाखा विस्तार गरेको छ । शनिबार नारायणगढमा आयोजित एक कार्यक्रममा आध्यात्मिक गुरुहरुको उपस्थितिमा १०० वर्षका ज्येष्ठ नागरिक ईश्वरी बजगाईंले शाखाको शुभारम्भ गरे ।

काठमाडौंका विभिन्न स्थानमा आउटलेट खोलेर ग्राहकलाई सेवा दिइरहेकोमा फेसनेवल शहर चितवनमा शनिबारदेखि नयाँ आउटलेट सुरु गरिएको कम्पनीका सञ्चालक नवराज बजगाईंले बताए । उनले आगामी दिनमा मुलुकका विभिन्न शहर हुँदै विदेशमा आउटलेट विस्तार गर्ने योजना रहेको जनाए ।

एक वर्षअघि मात्रै फेसन एण्ड टेक्स्टायल म्यानुफ्याक्चरिङ कम्पनीले छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल भएपछि चितवनमा पनि शाखा विस्तार गरिएको उनको भनाइ छ ।

उनका अनुसार राजधानीमा बौद्ध, जोरपाटी, कुमारीपाटी, बानेश्वर, भक्तपुर, न्यूरोडलगायतका स्थानमा आउटलेट सञ्चालन भइरहेको छ । काठमाडौं बाहिर पहिलो पटक चितवनमा शाखा विस्तार गरिएको हो ।

अबको दुई वर्षभित्र नेपालका विभिन्न ५० स्थानमा आउटलेट विस्तार गर्ने कम्पनीको योजना छ । विस्तारका लागि सोहीअनुसार काम भइरहेको सञ्चालक बजगाईंले जानकारी दिए ।

कम्पनीले महिलाहरुका लागि तयारी पोशाक उत्पादन गरिरहेको छ । आगामी दिनमा पुरुषहरुका लागि पनि तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।

‘फेसनमा महिलाहरु अगाडि हुनुहुन्छ, उहाँहरुको रोजाइ पनि परिवर्तन भइरहेको हुन्छ’, उनले भने, ‘सुरुमा यही गाह्रो काम सकियो । आगामी दिनमा पुरुषका लागि पनि तयारी पोशाक उत्पादनको लक्ष्य लिएका छौं ।’

कम्पनीले १३ देखि ४० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी विभिन्न डिजाइनमा तयारी पोशाक उत्पादन गरिरहेको छ । विश्व बजारमा पछिल्लो समय आएका फेसनको ट्रेन्डलाई ध्यानमा राखेर पोशाक उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकहरुलाई सस्तोमा तयारी पोशाक उपलब्ध गराउन ‘फयाक्ट्री टु कस्टमर’ नीति लिँदै आएको छ । फ्याक्ट्रीमा उत्पादन भएको तयारी पोशाक कुनै बिचौलिया वा माध्यमविना नै आउटलेटमा पु¥याइन्छ । जसले गर्दा ग्राहकले सस्तोमा तयारी पोशाक पाइरहेको कम्पनीको दाबी छ ।

‘विभिन्न रिटेलरमार्फत ग्राहकसम्म पुग्दा महँगो पर्न जान्छ, हामीकहाँ पनि केही रिटेलरहरुले लैजानुहुन्छ । तर, आउटलेटमा १ हजार रुपैयाँ पर्ने पोशाक बजारमा २५ सयसम्ममा पनि बिक्री भइरहेको देखिन्छ’, सञ्चालक बजगाईंले भने, ‘यो नीतिले ग्राहकको आवश्यकता र रुचिलाई बुझ्न पनि सजिलो हुने सोहीअनुसार डिजाइनका तयारी पोशाक उत्पादन गर्न सकिन्छ ।’

कम्पनीको काठमाडौंको बालाजुमा उद्योग रहेको छ । कम्पनीमा ३०० भन्दा बढीले रोजगारी पाइरहेका छन् । आगामी दिनमा २ हजारलाई रोजगारी दिने कम्पनीको लक्ष्य रहेको सञ्चालक बजगाईं बताउँछन् ।

‘तयारी पोशाकका नाममा हरेक वर्ष विदेशिइरहेको पैसालाई रोक्ने नीति लिएका छौं । ‘चिनो’ ब्राण्डका पोशाकलाई विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेका छौं’, सञ्चालक बजगाईंले भने, ‘नेपाली व्यापारीहरु सस्ता र आकर्षक तयारी पोशाकको खोजीमा चीनका विभिन्न स्थानमा भौतारिरहेका भेटिन्छन्, हाम्रो उद्देश्य उनीहरुलाई आकर्षक, गुणस्तरीय र सस्ता तयारी पोशाक नेपालमै उपलब्ध गराउनु हो ।’

त्यसबाहेक विदेश गइरहेका नेपाली युवा जनशक्तिलाई सीपमूलक तालिम दिएर स्वदेशमै रोजगारी दिलाउनु पनि कम्पनीको लक्ष्य रहेको उनको भनाइ छ ।

उनले चाँडै दुबई, जापान, भारतको नयाँ दिल्ली र सिलगुडीमा समेत ‘चिनो’को शाखा विस्तार गर्ने लक्ष्य लिएको बताए ।

नेपाली तयारी पोशाक गुणस्तरीय हुनुका साथै आकर्षक देखिएकाले नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । कम्पनीले इटहरीमा होससेलमार्फत पूर्वको बजार विस्तारको काम गरिरहेको छ । पश्चिमतर्फ छिट्टै पोखरा र बुटवलमा पनि नयाँ शाखा विस्तारको क्रममा कम्पनी रहेको छ । राजधानीको गोंगबुमा पनि नयाँ आउटलेट स्थापनाको तयारीमा रहेको उनले सुनाए ।

‘चिनोलाई उपहार पनि भन्न सकिन्छ, हामी ग्राहकहरुलाई सस्तोमा उपहार दिने योजनाका साथ अगाडि बढेका छौं । नेपाली ब्राण्डको गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुन्छ र विश्व बजारका फेसनेबल उपभोक्ताको रोजाइमा पर्नसक्छ भन्ने विश्वास पनि ‘चिनो’मार्फत नै दिलाउन चाहन्छौं’, सञ्चालक बजगाईंले भने ।

उनका अनुसार नेपाली तयारी पोशाक निर्यातको सम्भावना १ अर्ब २० करोड अमेरिकी डलर बराबरको रहेको छ । त्यसैले यसको सम्भावना ठूलो छ । वार्षिक ४३ करोड अमेरिकी डलर बराबरको तयारी पोशाक निर्यात गरेको नेपालले आगामी दिनमा पनि यस उद्योगबाट उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर