महाधिवेशनको मुखमा नेकपा एसमा हुर्किंदैछ गुट ? यस्तो छ माधव-झलनाथको जवाफ – Nepal Press

महाधिवेशनको मुखमा नेकपा एसमा हुर्किंदैछ गुट ? यस्तो छ माधव-झलनाथको जवाफ

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन भोलि सुरु हुँदैछ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीले दशौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको बताइसकेको छ। एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ ।

नेकपा एसका भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ । खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सघाउने वचन दिइरहेका छन् ।

तर, अध्यक्ष नेपालले आफ्नै नेतृत्वलाई निरन्तरता दिएर सर्वसम्मत नेतृत्व चयन गर्नेगरी छलफल गरिरहेका छन् । नेतृत्व सहमतिमै टुंग्याउन पार्टी पंक्तिबाट चर्को दबाब बढिरहेको बेलामा आज आयोजित पत्रकार सम्मेलनमा तीन शीर्ष नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने आश्वासन दिए ।

यद्यपि पार्टीभित्र नेतृत्व हात पार्ने दौड रोकिएको छैन । महाधिवेशनबाटै सहमतिमै नेतृत्व टुंग्याउन पार्टीमा सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ। आवश्यकअनुसार वरिष्ठ नेता पद पनि राख्न सकिने बताइएको छ ।

अध्यक्ष नेपालले नेताहरु धेरै भएपछि पार्टीमा पद संख्या बढाउनुपरेको बताए । महाधिवेशनको दौडमा पछिल्लो समय नेकपा एसमा अध्यक्ष नेपालको नेतृत्वमा संस्थापन पक्ष र झलनाथ-घनश्यामको अर्को कित्ता बन्ने देखिएको छ ।

महाधिवेशन सम्मुखमा पार्टीभित्र गुटबन्दी मौलाएको कुरा स्वीकार्न भने दुवै नेताहरु तयार छैनन् । महाधिवेशन सम्मुखमा नेता कार्यकर्ताहरूको भेला र छलफल हुने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले भने, ‘महाधिवेशनमा भेला नभएर के गर्छन् त ? घरमै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरु हुन्छ । छलफल हुन्छ। कोही रेष्टुराँमा जान्छन्, कोही होटलमा जान्छन्, छलफल गर्छन्, चिया खान्छन्, भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामीकहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटलका होटल पनि भरिएको होला ।’

विगतमा पनि गुटबन्दीको कारणले ठूलो धक्का खानुपरेको स्मरण गर्दै उनले त्यसतर्फ आफू सचेत रहेको बताए । महाधिवेशनमा नेताहरु एकताबद्ध भएर अघि बढून् भन्ने नेता कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको उल्लेख गरे ।

सम्मानित नेता खनालले पनि पार्टीभित्र गुटबन्दी नरहेको बताए ।

उनले भने, ‘जहाँसम्म गुटगत भेलाका कुरा छन्, मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिनँ । गरें भने पनि जान्दिनँ । उहाँहरूले नि गर्नुभएको जस्तो मलाई लाग्दैन ।’

उनले महासचिव भुसालसँगको भेटतर्फ संकेत गर्दै थपे, ‘हामी नेताहरूसँग विभिन्न कमरेडहरू आउनुहुन्छ, कहिले यता, कहिले उता छलफल गर्छौं । कहिले होटेलमा, कहिले रेस्टुराँमा होला, कहिले घरमा यस्ता छलफलहरू भइरहन्छन् । यो गुटबन्दी होइन, एकापसको छलफलको कुरा हो ।’

नेता खनालले साँचै पार्टीमा गुटबन्दी रहेछ भने गलत भएको भन्दै पार्टीले विरोध गर्ने बताए ।

पार्टीमा नेताहरुको बीचमा कहीं पनि ठूलो समस्या नरहेको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको बताए ।

उनले थपे, हामीले यो महाधिवेशनभित्रबाट पनि मन्थन गरेर व्यापक दस्तावेजहरुको संश्लेषण गरेर आफ्नो निष्कर्ष निकाल्छौं । अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौं ।’

यस्तै महासचिव भुसालले पनि सहमतिको आधारमा नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन गर्ने जिकिर गरे ।

उनले भने, ‘हामी विस्तृत छलफलका साथ म फेरि पनि त्यो संकल्पका हिसाबले भन्दैछु । आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो ।’

हिजो बनेको वाम विकल्प भत्किएको उल्लेख गर्दै महासचिव भुसालले त्यसलाई समेत जोड्ने र इतिहासको दायित्वलाई पनि पूरा गर्नसक्ने गरी नेतृत्व एकताबद्ध भएर पार्टीले चयन गर्ने सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर