मध्य असारसम्म लुम्बिनीमा १८.५ प्रतिशतमात्रै रोपाइँ – Nepal Press

मध्य असारसम्म लुम्बिनीमा १८.५ प्रतिशतमात्रै रोपाइँ

रुपन्देही । लुम्बिनी प्रदेशमा मध्य असारसम्म १८.५० प्रतिशतमात्रै धान रोपाइँ भएको छ । पहाडी जिल्लामा राम्रो देखिए पनि तराईका जिल्लामा निकै कम प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनीका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी र दाङमा मुख्य धान खेती हुन्छ । यहाँ नै निकै कम क्षेत्रमा रोपाइँ भएको छ । प्रदेशमा ६ लाख ७९ हजार ६१३ हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ११ हजार ६४३ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले अहिलेसम्म प्रदेशका १२ जिल्लामा ५७ हजार ६६७ हेक्टर जमिन अर्थात १८.५० प्रतिशतमात्रै धान रोपाइँ भएको जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा थोरै बाँके र सबैभन्दा धेरै प्यूठान जिल्लामा धान रोपाइँ भएको छ । प्यूठानमा वर्खे रोपाइँ ८० प्रतिशत भएको छ भने बाँकेमा जम्मा २ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता सन्देश धितालले जानकारी दिए ।

सिंचाइ सुविधा पुगेका पहाडी जिल्ला रोल्पामा ७५, नवलपरासी पश्चिममा ५८, बर्दियामा २३.८, रुपन्देहीमा २३, अर्घाखाँचीमा २२, रुकुमपूर्व र गुल्मीमा ११–११, दाङमा १०, पाल्पामा ९ र कपिलवस्तुमा ४ प्रतिशत धान रोपाइँ भएको छ ।

लुम्बिनीमा बाह्रै महिना सिञ्चित हुने भूमि २४ बाट ३५ प्रतिशत पुगेको सरकारले जनाएको छ । जहाँ सतह र भूमिगत सिंचाइको सुविधा पुगेको छ । त्यस ठाउँका किसानले भने बर्खे धानखेती गरिरहेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा कृषि पेशा गर्नेमध्ये ४९ प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर