काभ्रेकाे बनेपामा पनि खुल्यो यातायात व्यवस्था कार्यालय – Nepal Press

काभ्रेकाे बनेपामा पनि खुल्यो यातायात व्यवस्था कार्यालय

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ । बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्ला कार्यक्षेत्र रहने गरी बनेपामा कार्यालय सञ्चालनमा आएको हो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शनिबार एक कार्यक्रमबीच बनेपामा रहेको यातायात व्यवस्था कार्यालयको उद्घाटन गरेका छन् । उक्त अवसरमा मन्त्री लम्सालले दुई राष्ट्रिय राजमार्ग जोडिएको बनेपामा यातायात व्यवस्था विभागको कार्यालय रहनु आफैंमा महत्वपूर्ण भएको बताए ।

‘सेवा लिन अब राजधानी गइराख्नु पर्दैन । यातायातसम्बन्धी सम्पूर्ण काम यहीबाट हुन्छ’, उनले भने, ‘यस विभागलाई नमुना र उत्कृष्ट कार्यालय बनाउन कर्मचारीले मेहनेत गर्नुपर्छ र गुनासो नआउने गरी काम गर्नुपर्छ ।’

मन्त्री लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालय राजस्व सङ्कलन गर्ने महत्त्वपूर्ण मन्त्रालय भएको र मन्त्रालयले जेठसम्ममा १० अर्ब राजस्व सङ्कलन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमा ९० प्रतिशत राजस्व सङ्कलन हुने अवस्था रहेको उनको भनाइ छ ।

यही साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने सरकारको तयारी रहेको मन्त्री लम्सालले बताए ।

बनेपास्थित यातायात व्यवस्था कार्यलयबाट प्रारम्भिक चरणमा सवारी दर्ता, नामसारी, नवीकरण, प्रतिलिपि जारी, सवारी जाँचपास (प्राविधिक निरीक्षण र परीक्षण) सम्बन्धी कार्य, बाटो इजाजात (रुट परमिट) प्रदान र नवीकरण सम्बन्धी सेवा प्रदान गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर