किशुनजी महात्मा गान्धीभन्दा उच्च कदका नेता: स्वामी आनन्द अरुण – Nepal Press

किशुनजी महात्मा गान्धीभन्दा उच्च कदका नेता: स्वामी आनन्द अरुण

काठमाडौं । पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई राजनीतिक स्पष्टता, निष्ठा, योगदान, आदर्श र समग्र चरित्रको आधारमा हेर्दा भारतका महात्मा गान्धीभन्दा पनि उच्चस्तरको नेता भएको स्वामी आनन्द अरुणले टिप्पणी गरेका छन् ।

नेता भट्टराईको जन्म शताब्दी वर्षको पावन अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको विशेष प्रवचन कार्यक्रममा उनले हिंस्रक क्रान्तिको सधैं विपक्षमा उभिएका भट्टराईले पाएको जस्तो सम्मान अन्य कमैले पाएको बताए ।

उनले २०४८ सालको आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजय नेपाल र नेपालीकै लागि ठूलो दुर्भाग्य भएको बताए । भट्टराई जस्तो विश्वकै सम्मानित नेता निर्वाचनमा पटक पटक पराजित हुनु आश्चर्य भएको उनको भनाइ थियो ।

‘भट्टराईको बहुआयामिक व्यक्तित्व सबैका लागि उदाहरणीय थियो’, उनले भने, ‘शक्तिको आडमा कोही कसैले राज्यकोष दोहोन गर्न नहुने पाठ भट्टराईबाट सिक्नुपर्छ । स्वयं राजाले कांग्रेसबाट अलग गराउन नसकेको भट्टराईले पार्टीमा रहन नसक्ने गरी आफैंले राजीनामा दिने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद थियो ।’

वार्ताबाटै माओवादी द्वन्द्व अन्त्य गर्ने दिशामा केन्द्रित रहेका भट्टराईलाई पार्टीकै नेतृत्वले प्रधानमन्त्रीबाट राजीनामा गर्न लगाएर गैरराजनीतिक काम गरेको स्वामी अरुणको दाबी थियो ।

पदलोलुपताबाट भट्टराई सधैं टाढा रहेको र ‘निर्वाण’ नै उनको जीवनको एकमात्र लक्ष्य भएको उनले बताए । उनले मुलुकलाई अहिलेको असहज परिस्थितिबाट निकास दिन अर्को ‘भट्टराई’ आवश्यक भएको औंल्याए ।

केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालले भट्टराई जस्ता आदर्श व्यक्तिको सानिध्य पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए ।

भट्टराई जस्ता अलौकिक नेताको आदर्शबाट विमुख भएकाले कांग्रेस र मुलुक दयनीय अवस्थामा पुगेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर