नेताहरुको प्रस्तुति शैलीबाट देशको ब्राण्डिङ हुनसक्छ
हामीले हाम्रो सभ्यतालाई श्रोतको रुपमा स्वीकार्न र तिनबाट सिक्ने पक्षमा प्रायः ध्यान दिने गर्दैनौं । विदेशी विद्वान तथा वैज्ञानिकका भनाईलाई उदृत गर्दा अलि विशेष भइन्छ कि भन्ने मानसिकताका कारणले पनि तिनलाई प्राथमिकता दिने गर्छौं ।
श्रोताको ध्यान खिच्न, रुचि कायम राख्न र प्रस्तुतिमा उनीहरूलाई केन्द्रित राख्न केही उपाय अपनाउने प्रचलन छ। यद्यपि यसलाई सर्वथा गलत भन्न सकिदैन । तर, हामीसँगआफ्नै ज्ञान र अनुभवको अपार श्रोत भएर पनि तिनलाई भने पूरै बेवास्ता गर्छौ ।
हामीले के बुझ्दैनौं भने हाम्रो मौलिक ज्ञान र अनुभवलाई श्रोतको रुपमा स्वीकार्दै तिनलाई ब्राण्डिङ गरेमात्र आफ्नो अस्तित्व बचाउन र विदेशीहरुको ध्यान आकर्षित गर्न सकिन्छ ।
यसै सन्दर्भमा यो आलेखमार्फत् नेपालका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुले सार्वजनिक रुपमा सभा सम्मेलन वा अन्य कार्यक्रमहरुमार्फत् बोल्ने, लेख्ने गर्दा उनीहरुमा देखिने शैली, चिन्तन, तर्क, सन्देश र धारणा कस्तो रहेछ भनेर चर्चा गर्ने प्रयास गरिएको छ ।
तर, कतिपय विषय र सन्दर्भको हेक्का राख्न नसक्दा आशय एउटा हुने र बाहिर मिडियाले फरक प्रस्तुत गर्ने अवस्था पनि देखिन्छ ।
शैलीमा प्रस्तुत हुने भाषा, तर्क, तथ्य र प्रमाणहरुको श्रोत उनीहरुका सोचमा आधारित हुने भएकोले यसका आधारमा उनीहरुको मनोविज्ञानलाई पनि अध्ययन गर्न सकिन्छ ।
जस्तो कि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जसले पूर्वीय दार्शनिकहरु गौतमबुद्ध, राम, सीता तथा नेपाली भूमिमा जन्मेका ऋषिका भनाईलाई उद्घरण गर्दै नेपालको मौलिक सस्कृति र सभ्यतालाई जोड दिने गरेको पाइन्छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रायः माक्स, लेनिन, माओ आदिका भनाईलाई उद्घरण गरेको पाइन्छ । मोहन वैद्यले असाध्यै जारगान शब्दको प्रयोग गर्छन् । तथापि संघ सरणम् गच्छामी, संघौ शक्ति कलि युगेका कुरा पनि गर्छन् । माक्स, लेनिन र माओका कुरा पनि उत्तिकै गर्छन् ।
अर्थात् उनको शैली हेर्दा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा प्रयुक्त हुने शब्दको पनि भरमार प्रयोग गर्छन् । तर, संगठनको कुरा गर्दा माओको मात्र गर्दैनन् बुद्वको कुरा पनि गर्छन् ।
वैकल्पिक राजनीतिका प्रणेता डा.बाबुराम भट्टराईले पश्चिमी मुलुकका आधुनिक वैज्ञानिक र केही हदसम्म माक्स भनाईलाई प्रायः उदाहरणका रुपमा प्रस्तुत गर्छन् ।
नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधव नेपालले प्रायः कसैलाई पनि उद्घरण गर्दैनन् । अर्थात् उनले कुनै विषयको अध्ययन गर्छन् भन्ने नै लाग्दैन । विचारमा पनि के हुन् भन्ने पत्तो हुन्न । सरल, सोझो हिसावले देखेको भोगेको मात्र भन्ने गर्छन् । शायद यही स्पष्टताको अभावले हो कि उनी नेतृत्वमा रहेर पार्टीको विकास गर्न पनि सकेनन् । बिचारको हिसावले उनी सधैभरी कमजोरकै रुपमा देखा परे । उनको विचार छिनछिनमा फेरिने चरित्रको पनि पाइन्छ ।
उनी कतिसम्म कमजोर छन् भने एकपटक राजाको निमन्त्रणामा नारायणहिटी राजदरबार पुग्दा गाडी पार्किङको सुविधा नदिएका कारण गणतन्त्र ल्याइदिने भनेर हिँडेको कुरा एकजना पत्रकारलाई बताएका रहेछन् । अर्थात् राजाले उच्च सम्मान दिएको भए राजाको निरङ्कुशतानै स्वीकार्य हुनसक्थ्यो कि ?
शेरबहादुर देउवाले बीपीका भनाई वा भारतीय अनुभव आदिलाई उद्घरण गर्नुपर्ने हो तर त्यसो गर्दैनन् । खासमा उनको दार्शनिक पक्षनै खुल्दैन ।
डा. बाबुराम भट्टराईको प्रस्तुति हेर्दा उनमा विकासको भोक देखिन्छ । यस्का लागि उच्चतम प्रविधि र आधुनिक वैज्ञानिकको सहारा लिन खोज्छन् । मानव इतिहासमा उनले सबैभन्दा मान्ने मान्छे अल्बर्ट आइन्स्टाइन हुन् । मानव र भौतिक विज्ञानमा अहिलेसम्मका सबैभन्दा ठूला चिन्तकको रुपमा आइन्स्टाइनलाई लिन्छन् ।
कार्ल माक्सलाई पनि उनले धेरै ठूला दार्शनिक मान्थे कुनैबेला तर, अहिले फरक सोच छ ।
उनलाई पूर्वीय दर्शन, सस्कृति र सभ्यता भन्ने विषय बेकामे हुन् भन्ने लाग्छ । एक पटक बुटवलमा पाठकसँगको बसाईमा उनले यो कुरा स्वीकार्दै भनेका थिए–मैले पूर्वीय दर्शन वा दार्शनिकलाई अध्ययन गरेको छैन । उनीहरुको ज्ञान र विचारले आधुनिक नेपाल बनाउन सकिन्छ भन्ने पनि लाग्दैन । उनलाई लाग्छ दार्शनिकहरुलाई पूर्व र पश्चिम भनेर विभाजन गर्नु पनि अनुचित हुन्छ ।
डा.भट्टराईजस्तो राजनीतिज्ञले विश्वको सबैभन्दा प्राचीन लिखित साहित्य ऋग्वेद, विश्वको सबैभन्दा प्राचीन दार्शनिक ग्रन्थ ईशबास्योपनिषद, विश्वको सबैभन्दा प्राचीन महाकाव्य बाल्मिकी रामायण, विश्वको सबैभन्दा पहिलो भाषा ब्याकरण अष्टाध्यायी, विश्वको सबैभन्दा प्राचीन मनोविज्ञानको सूत्र योगसूत्र, विश्वको सबैभन्दा प्राचीन चिकित्सा ग्रन्थ चरकसंहिता, विश्वको सबैभन्दा प्राचीन विधिशास्त्र मनुस्मृतिको अध्ययन गर्दैन भने अरु कस्ले गर्ने ?विश्वको सबैभन्दा प्राचीन भाषा संस्कृत हो जस्को हुर्मत लिएकै हुन् ।
माथि उल्लेखित प्राचीन नेपाली वैज्ञानिकहरु नेपाली हुनुमा गर्ववोध गर्दैनन् भने के नै गर्न सकिन्छ र ?
तथापि उच्च विकासको तीब्र हुटहुटी र उच्च मनोकाञ्क्षा देखिन्छ ।
समकालिन नेतामा फरक चिन्तन गर्छन् केपी ओली:
केपी ओलीमा फरक शैली र चिन्तन छ । कुनै ठाउँमा गएपछि त्यस क्षेत्रमा दार्शनिक, ऋषि, भगवान मानिएका तत्कालिन ब्यक्ति जस्तै राम, शिव, सीता, पाणिनि, कपिल आदिको नाम लिन भुल्दैनन् ।
रुपन्देही, अर्घाखाँची र कपिलवस्तु आउँदा गौतमबुद्ध, स्वामी शशिधर, कपिलमुनिको नाम लिन्छन् । नवलपरासी जाँदा वाल्मिकी तथा चितवनदेखि तनहुँतिर जाँदा वेदब्यास र रामको नाम लिन्छन् ।
सुर्खेत जाँदा खस, सिंजा र कर्णाली सभ्यताको कुरा गर्छन् । सिंजा नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी हो । सिंजा बौद्ध धर्मको संवद्र्वक र सम्भारक थलो पनि हो ।
सनातनी मष्टो, देउडा, देवी (देउती बजै सुर्खेत), बडीमालिका, काँक्रेविहार (मध्यकालीन खस राज्यको बौद्ध र हिन्दुहरूको अनुपम साझा नमुना) यस्तो संस्कार र संस्कृतिले घेरेको छ, यो क्षेत्रलाई । दैलेख शिरस्थान, नाभिस्थान, पादुकास्थान र धुलिश्वर र ढुंगेश्वर गरी पञ्चतीर्थको लागि प्रख्यात छ । यिनलाई मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो, जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो ।
जनकपुरतिर जाँदा राजर्षि जनक तथा ब्रह्मज्ञानी गार्गीको नाम छुटाउँदैनन् । अष्टावक्रको नाम पनि लिन्छन् ।जो तत्कालीन मिथिलाका राजा जनकका गुरु हुन् ।
ओलीले राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भनेर सार्वजनिक गरेपछि नयाँ वहस शुरु भयो । उनको विचारमा अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो र हामीले भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ । उनमा समृद् नेपाल, सुखी नेपालीको सपना छ । सरकारमा हुँदा वा नहुँदा यस विषयलाई भुल्दैनन् । यसरी हेर्दा नेपालभित्र जे छ त्यसमा गर्व गर्छन् र ब्राण्डिङ गर्छन् ।
हुनपनि साँस्कृतिक हिसावले नेपाल अत्यन्तै धनी छ । नेपालको हिमालय पर्वतश्रृङ्खला शैव संस्कृतिको उद्गमस्थल हो । योगदर्शनको उद्गमभूमि र साधनाभूमि हो । यहाँ धेरै ऋषिहरुले दर्शन, साहित्य, योगसाधनाको विकास गरेका छन् । आदिमहर्षि कपिल र उनको साङ्ख्य दर्शन, विश्व शान्तिका अग्रदूत गौतमवुद्घ र वौद्घ योगदर्शन, महर्षि पतञ्जली र साङ्ख्य योग दर्शन, अन्य विशिष्ट दार्शनिकहरुको उद्गमभूमि पनि हो ।
नेपालको मौलिक साङ्ख्य दर्शनका प्रणेता महर्षि कपिल हुन् । महर्षि कपिल साङ्ख्य दर्शनका प्रवर्तक र सूत्रका लेखक थिए, जसले चेतनाको शक्ति र विविध प्रकृतिको बारेमा महत्वपूर्ण सूत्रहरू दिएका थिए। शाक्यहरुका कुल गुरु भनिएकोले उनी गौतम वुद्धभन्दा अगाडिका हुन् भनेर अनुमान गर्न सकिन्छ ।
कपिलकै सरसल्लाहमा वस्ती बसालेकोले कपिलवस्तु भनिएको भनिन्छ । उनको आश्रममा अध्ययन गरेका वटुहरुमध्ये पतञ्जली जो योगध्यानको सूत्राधार हुन् । कपिलधाम ज्ञान प्रशारणको महत्वपूर्ण स्थान भएकोले अहिले पनि यसको जीवन्तता कायम गर्ने प्रयत्न गरिएको छ ।
कपिल आश्रममा आएर धेरै महर्षि योगसाधक र दार्शनिकहरुले योग अभ्यास र ग्रन्थहरु रचना गरेको पाइन्छ । उनीहरुले भाषा, ब्याकरण, योग ज्ञान, विज्ञान अभ्यास गर्नुका साथै छलफल गरी समस्या समाधान गरेको पाइन्छ ।
ऋषि अत्रिका छोरा सोम, दुर्वासा यसै क्षेत्रका ठूला विद्घान थिए । काश्यप संहिताका स्रष्टा ऋषि कश्यपको वाणीगङ वा वाणगङ किनारमा आश्रम रहेको बताइन्छ । विषविद्यामा उनको दखल थियो । रेसु¨का तपस्वीऋष्य श्रृङ्गले पनि कपिलधाममै ज्ञान आर्जन गरेका थिए ।
पाणिनिले अष्टाध्यायी सूत्र पाणिनि दहमा वसेर सूत्रवद्घ गरे । वाल्मिकिले सस्कृत भाषाको पहिलो रामायणको रचना त्रिवेणीस्थित बाल्मिकि आश्रममा बसेर गरे ।
पतञ्जलिको जन्म ऐरावत क्षेत्र पँलाटे अर्थात् अर्घाखाँची शितगंगा पँलाटेमा भएको भनेर विष्णुराज आत्रेयले पतञ्जलि उपन्यासमार्फत् सार्वजनिक गरे । यो गोनर्द पर्वत रहेछ । यही पर्वतको नामबाट उनको नाम गोनर्दीय पतञ्जलि भएको भनिएको छ ।
जोसमनी सन्तपरम्पराका प्रवर्तक स्वामी शशिधर (१८०४–१९०६) अर्घाखाँचीमा जन्मेर प्रसिद्घि कमाएका ब्यक्ति हुन् । उनी जातपात र कर्मकाण्डीका विरोधी थिए । उनलाई स्वर्ग, मत्र्य, नरकमाथि विश्वास थिएन ।
आधुनिक कालका स्वामी शशिधरले रेसुङ्गामा आफ्नो योगसाधना र तपस्याद्वारा सिद्धि प्राप्त गरेका थिए। बलीप्रथा, कर्मकाण्ड र जातिभेदविरुद्ध जागरण फैलाउने स्वामी शशिधर वेदान्तका प्रकाण्ड विद्वान् तथा विलक्षण योगसाधक थिए।
स्वामी शशिधरको सबै जातजातिलाई समान दृष्टिले हेर्ने र तदनुकूल व्यवहार गर्ने विचारबाट प्रेरित भएरै पृथ्वीनारायण शाहले नेपाल चार जातछत्तीस वर्णको फूलबारी हो भन्ने नीति अघि सारेको अनुमान गरिन्छ ।
पृथ्वीनारायणको देहवसान (वि.सं. १८३१) पछि स्वामी शशिधर रेसुङ्गामा आई बस्न थालेको र पश्चिम नेपालको एकीकरण गर्न मद्दत पुर्याएको वताइन्छ । त्यतिबेला नेपालको राजनैतिक तथा सामरिक केन्द्र काठमाडौं भए पनि विचारको केन्द्र रेसुङ्गा थियो। दरबारका भाइभारदारहरु शिक्षादीक्षा लिन रेसुङ्गामा आउँथे।
श्री ५ रणबहादुर शाह स्वामी शशिधरको जोसमनि सन्त विचारधाराबाट प्रभावित भई निर्वाणानन्द स्वामीको रुपमा जोगी बनेका थिए।श्री ५ रणबहादुर शाह र श्री ५ गीर्वाणयुद्ध विक्रम शाहलाई पनि शशिधरले निकै प्रभावमा पारेका थिए ।
ओली आयुर्वेदका जनक ऋषि चरकको कुरा पनि गर्छन् । विश्वामित्र, वाल्मीकि, महर्षि जनकहरूको सप्रसंग व्याख्या र तिनको महिमा गाउँछन् ।
यसरी हेर्दा ओलीमा आफ्नो इतिहास, सस्कृति र गौरवगाथाप्रति अगाध आस्था छ । उनी समन्वय, शान्तिपूर्ण परिवर्तन, सामाजिक न्यायको पक्षमा वकालत गर्छन् । प्रतिकुलतालाई अनुकुलतामा ढाल्न सिपालु छन् । मौलिक विकासका पक्षमा छन् । एकैपटक ठूला आयोजनाहरु निर्माण गरेर मुलुकको रुपान्तरण गर्न खोज्छन् । आफ्नै कालमा आधुनिक नेपाल बनाउने हुटहुटी देखिन्छ ।
प्रचण्डविद्रोह, हिंसा र क्रान्तिको कुरा गर्छन् । उनमा पुरानो भत्काउने र नयाँ बनाउने भावना ज्यादा देखिन्छ ।उनी सवै कुरा भद्रगोल बनाएर मात्र निकाश खोज्छन् । उनमा समन्वयको अभाव छ । असहिष्णुता वेसी छ । तथापि जतिवेला पनि परिवर्तनप्रतिको भोक देखिन्छ । सत्तामा हुँदा पनि विद्रोहको कुरा गरिरहने भएकोले जवाफदेहिताको भने अभाव देखिन्छ ।
प्रचण्ड कहिले खास जाति–समुदायको अभियन्ताका रुपमा, कहिले विद्रोही नेताका रूपमा र कहिले हिंसाको प्रवद्र्वकका रूपमा काम गरेको देखिन्छन् ।
माधव नेपालमा ठोस विचार देखिदैन । उनको स्वभाव प्रतिक्रियात्मक मात्र छ भन्दा हुन्छ । आफूलाई केन्द्रमा राखेर, आफ्नो मान मनितोको मात्र ख्याल गर्छन् उनी ।
समग्रमा नेताहरुले हाम्रो सोच र श्रोतको जति प्रयोग गर्छन् त्यतिनै तिनको ब्राण्डिङ र बजारीकरण हुन्छ । अन्ततः त्यसले मुलुकको अर्थतन्त्र, पर्यटन, वैभवमा फाइदा पुग्छ । यो कुरा नेताहरुमा मात्र हैन शिक्षक, प्राध्यापक, पत्रकार, विद्वान सवैमा लागु हुन्छ ।