बालकोट वार्ताले तरंगित बालुवाटार- के राजनीतिक समीकरण फेरिँदैछ ? – Nepal Press
नेपाल प्रेस ब्रिफिङ

बालकोट वार्ताले तरंगित बालुवाटार- के राजनीतिक समीकरण फेरिँदैछ ?

काठमाडौं । शनिबार अपरान्ह पुष्पलाल स्मृति प्रतिष्ठानले देशका साना ठूला सबै कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै ठाउँमा भेला हुने कार्यक्रम तय थियो । आयोजक संस्थाका लोककृष्ण भट्टराई आफैंले सबै नेतालाई भेटेर समय लिएका थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यमा सामान्य समस्या आएको भन्दै प्रधानमन्त्री प्रचण्डसहितका नेताहरू सहभागी कार्यक्रममा गएनन् । एमालेको तर्फबाट उपाध्यक्ष युवराज ज्ञवालीले गोष्ठीलाई सम्बोधन गरेका थिए ।

जतिबेला पुष्पलालको योगदान र कम्युनिस्ट पार्टीहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भइरहेको थियो त्यही बेला ओली निवास बालकोटमा कांग्रेस सभापति शेरवहादुर देउवा पुगेको खबर प्रधानमन्त्रीले पाइसकेका थिए ।

माओवादीको विश्लेषण- देउवाले ओलीलाई प्रधानमन्त्री प्रस्ताव

कार्यक्रम सकेर बालुवाटार फर्केका प्रधानमन्त्रीले ओली र देउवाबीचको करिब ३ घण्टाको वार्ताका बारेमा निकटस्थहरूसँग आँकलन गरेका थिए । सोही साँझ माओवादीका केही नेताहरूले पत्रकारलाई एसएमएस गरे-ओलीजीलाई देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेछन् ।

ओली-देउवा भेटपछि प्रचण्डले पनि आफूनिकट नेताहरूसँग परिस्थितिको विश्लेषण गरेका थिए । वर्षमान पुनले एमाले च्यानलसँग पनि पछिल्लो वार्ताबारे बुझ्न प्रयास गरे भने कांग्रेससँग पनि उनी संवादमै छन् । पछिल्लो चलखेलबारे रवि लामिछानेलाई पनि माओवादी नेताहरूले बुझ्न खोजेका छन् ।

देउवा र ओलीबीचको भेटघाटबारे दिउँसै थाहा पाएका केही कांग्रेस नेताहरूले पनि दुई नेताबीचको कुराकानी असार १५ को दही चिउरामा सीमित नभएको अनुमान लगाइरहेका छन् । ओली र देउवाबीच वार्ताको लागि केही अघिदेखि नै प्रयास गरिरहेका कांग्रेसका एक प्रभावशाली नेताले शनिबारको भेट देशभित्र र बाहिरका खेलाडीहरूलाई सन्देशमूलक रहेकोमात्र प्रतिक्रिया दिए ।

देउवा र ओलीबीच भेट हुनुअघि कांग्रेसका सांसदसमेत रहेका एक नेताले पनि ओलीसँग भेटेका थिए । जसरी माओवादी पंक्तिमा कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका फैलिएको छ, त्यसैगरी कांग्रेस नेताहरूले पनि दुई ठूला पार्टीबीच सहकार्यको संरचना बन्न लागेको प्रतिक्रिया दिएका छन् ।

जादुयी अंक र ठूलालाई शंका

तर, एमालेका नेताहरू भने पछिल्लो भेटघाट सामान्य शिष्टाचार भन्दै कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सम्भावना अश्वीकार गरिरहेका छन् । त्यसो त कांग्रेस सभापति देउवा र ओलीले छलफलको विषयवस्तुलाई आफ्नै पार्टीका घनिष्ठ सहयोगीलाई पनि खुलस्त बताएका छैनन् ।

एमालेका एक पदाधिकारी भन्छन्, ‘शेरबहादुरजीलाई हाम्रो अध्यक्षले त पहिलेदेखि नै बसौं, छलफल गरौं भनिरहेकै हो । उहाँ त्यसबेला प्रचण्डसँग डराएर भेट्नै चाहनुभएन । अहिले तीन नेता पनि बसिरहेकै छन्, असार १५ मा दुई पूर्वप्रधानमन्त्रीले पारिवारिक खालको माहौल बनाएर भेट्नु भएको हो । यो भेटलाई जसरी अर्थ्याए पनि हुन्छ तर देउवा र ओली जेल जीवनकै साथी हुन् र उनीहरूबीच पारिवारिक हार्दिकता छ भन्ने कुरा कमैलाई मात्र थाहा छ ।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पार्टीको एक कार्यक्रममा माओवादीको ३२ सीटलाई जादुयी नम्बर भन्दै कांग्रेस र एमालेलाई मिलाएर खेलाउन सके पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्रीको त्यो भनाइले ओली र देउवा दुवैलाई झस्काएर चाँडै भेटाएको अर्थमा बुझ्न भने सकिने एमाले नेताहरूको भनाइ छ ।

ओलीको अर्थपूर्ण भूराजनीतिक टिप्पणी

प्रचण्डले त्यसो भनेलगत्तै एमाले अध्यक्ष ओलीले मदन भण्डारी जयन्तीका दिन पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भूराजनीतिक शक्तिहरूका बारेमा अर्थपूर्ण टिप्पणी गरेका थिए । उनले भारत र चीन दुवैलाई चिढ्याएर वा एक वा अर्कोसँग नजिक भएर होइन समान दूरीमा रहेर नेपालले आफ्नो हितको रक्षा गर्नुपर्ने बताएका थिए ।

ओलीको पछिल्लो यो टिप्पणीलाई धेरैले बेवास्ता गरे पनि राजनीति र कुटनीतिका खेलाडीहरूले भने कांग्रेस-एमाले नजिक भएको अर्थमा बुझेका थिए । राजनीतिक स्थायित्व र अहिलेको चरम निराशा तथा निजी क्षेत्र धराशायी भएको अवस्थामा बलियो राष्ट्रिय शक्तिले देशको नेतृत्व गर्नुपर्ने एमालेको दृष्टिकोण छ ।

प्रचण्डले एक वर्षबीचमा तीन पटक ‘पल्टुराम’ भूमिका खेलेपछि बिच्किएको कांग्रेस अब माओवादीको खेलोमेलो बन्द गर्नुपर्छ भन्नेमा छ । दक्षिणको शक्तिका कारण देउवा एमालेसँग नजिकिन हच्किने गरेका थिए । तर, पछिल्लोपटक देउवाले कि त सकारात्मक संकेत मिलेर, कि पछि मिलाउँछु भनेर नै ओलीसँग सहकार्यको हात बढाएका छन् । ओलीको अर्थपूर्ण भूराजनीतिक टिप्पणीसँग यसलाई जोडिएको छ ।

सबैका ‘ट्र्याक टु’ रणनीति

ओली र देउवाको पछिल्लो वार्ताले सत्ता समीकरणमा पनि खैलाबैला मच्चिएको छ । अर्थमन्त्री वर्षमान पुनले शनिबारै साँझ गृहमन्त्री रवि लामिछानेसँग पछिल्लो परिस्थितिको विश्लेषण गरेको बताइएको छ । कांग्रेस-एमाले मिल्न नदिने र पुरानै गठबन्धन फर्काउने वा कांग्रेस, माओवादी र रवि लामिछानेको समीकरण बनाउनेसम्ममका ‘ट्र्याक टु’ संवादहरू पनि चलिरहेका छन् ।

पछिल्लो मन्त्रिपरिषद् बैठकमा २ घण्टासम्म अरु दलका मन्त्रीहरूलाई कुराएर प्रधानमन्त्री तथा माओवादीका मन्त्रीहरूले अलग्गै बैठक गरेको प्रसंग पनि यहाँ स्मरणीय छ । नेकपा एसको महाधिवेशनपछि माधव नेपालको एजेण्डाअनुसार प्रचण्डलाई पहिलेकै गठबन्धनमा फर्काउने शक्ति पनि सक्रिय भइरहेकै छन् ।

शनिबारको देउवा-ओली भेटले माओवादी बढी सशंकित बनेर अरु सम्भावनाको खोजीमा नेताहरू लागेका छन् । ओलीसँग आइतबार बिहानको टेलिफोन संवादमा पनि प्रचण्डले शनिबारको कुराकानी के हो ? भनेर सोधेको बताइन्छ । ओलीले भने दही चिउरा खान बोलाएकोबाहेक अरु केही त्यस्तो नरहेको जवाफ दिएका छन् ।

अर्थमन्त्री पुनलगायतका माओवादी नेताहरू भने कांग्रेस एमाले मिल्छन् भने मिल्न दिऊँ भन्ने पक्षमा देखिएका छन् । उनीहरू मिले पनि लामो समय नजाने र फेरि माओवादीसँगै एउटा पक्ष फर्किने भएकाले अब नेपालमा बाँकी रहेको ‘ठूला पार्टी मिले राजनीतिक स्थायित्व दिन्छन्’ भन्ने भ्रम तोड्न दिनुपर्ने पक्षमा छन् ।

एक माओवादी नेताले भने, ‘अहिले एकले अर्कोप्रति चरम अविश्वासको सामना गरिरहेको अवस्था छ । कांग्रेस र एमाले नमिलेकै कारण अहिलेको सबै समस्या आएको हो भन्ने जस्तो भाष्य बनाइएको छ । मिल्छन् भने मिलुन्, हामी बाहिर बसेर पार्टी बलियो बनाउन लागौं, एक्लै चुनाव लड्ने सामर्थ्य निर्माण गरौं र अरु साना बामपन्थीहरूलाई मिलाएर बलियो शक्ति बन्न सक्छौं भन्नेमा हामी छौं । तर, पनि राजनीतिमा सत्ता महत्वपूर्ण कुरा भएकाले पहिलेकै गठबन्धनमा फर्किने वा नयाँ समीकरण बनाउने भन्ने प्रयास त भइरहन्छन् ।’

त्यसो त देउवाले यसपटक एमाले र माओवादी दुवैलाई ‘इंगेज’ गराइरहेका पनि छन् । ज्ञानेन्द्रबहादुर कार्कीले देउवाको प्रतिनिधिका रूपमा एमाले नेताहरूसँग भेटघाट गरिरहेका थिए । शेखर कोइराला, गगन थापा, डा.मिनेन्द्र रिजाललगायतका नेताहरू पनि आफ्नै ढंगले एमालेसँग संवादमा छन् । उता रमेश लेखकमार्फत देउवाले प्रचण्डसँग पनि संवाद भने नछाडेको बताइन्छ ।

एमालेभित्र अहिलेकै समीकरणलाई २०८४ सम्म लैजाने र त्यसपछि बहुमतको सरकार बनाउनुपर्छ भन्ने मत बलियै छ । अहिलेका भेटवार्ताहरू एकले अर्कालाई दबाबमा राख्ने रणनीतिअन्तर्गत भइरहेको तर्क पनि नेताहरूको छ । भुटानी शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त बेचन झाको पक्राउपछिको बेचैनीका कारण देउवा दम्पतीले शनिबारै ओलीसँग भेट गरेको चर्चा पनि छ, तर त्यसमा बलियो आधार भने देखिन्न ।


प्रतिक्रिया

4 thoughts on “बालकोट वार्ताले तरंगित बालुवाटार- के राजनीतिक समीकरण फेरिँदैछ ?

  1. एउटा बोर्ड अध्यक्ष राख्न नसक्ने सरकार अब चाहिदैन नेपालि जनतालाइ, अब् यो समिकरण फेरिनु पर्छ,

  2. रास्वपाको बहुमतको सरकार नबनेसम्म देशमा यस्तै चटक भैरहन्छ्न।
    त्यसैले २०८४ मा सबैले रास्वपा रोजौ🙏🙏

  3. काँग्रेसको धुर्त्याई हो । काँग्रेसजस्तो लुटेरासँग एमालेको सरकार बन्नै हुँदैन ।

  4. ठुला दुई दल मिलेर जादा बाकी समय सहज हुन सक्ने संभावना हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर