लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ (भिडिओ) – Nepal Press

लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ (भिडिओ)

काठमाडौं । बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा ललितपुरको लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पनि पक्राउ परेका छन् ।

अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका थिए ।

बचतकर्ताले सहकारीले पैसा फिर्ता नगरेपछि दिएको जाहेरी गत चैत १ गते दर्ता भएको थियो । सहकारीका २२ हजार बचतकर्ता छन् । ७६ वर्षीय अध्यक्ष श्रेष्ठ ७ वर्षदेखि लालिगुराँसको अध्यक्ष रहेका छन् । ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेका श्रेष्ठ २०६१ सालमा लालिगुरासँमा सचिव नियुक्त भएका थिए ।

उनी उपाध्यक्ष हुँदै पछि अध्यक्ष बनेका हुन् । ४६ वर्षीय भन्डारी २०५६ सालमा लालिगुरासँ प्रवेश गरेका थिए । म्यानेजरबाट जागिर सुरू गरेका उनी हाल सीईओ र सचिव दुवै पदमा थिए । भण्डारी २०६६ र २०७६ सालमा दुईपटक सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पदमा रहेका थिए । यस्तै राष्ट्रिय सहकारी महासंघमा ६ वर्ष वरिष्ठ सञ्चालकका रूपमा काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने एसएसपी भट्टराईले बताए । उनका अनुसार सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चारजनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर