एसईईको कमजोर नतिजाः दोषी को ? – Nepal Press

एसईईको कमजोर नतिजाः दोषी को ?

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही दिनअघि सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजालाई विश्लेषण गर्ने हो भने सन्तोष लिने ठाउँ छैन । यस पटकको यो नजिता हेर्दा नेपालको शिक्षा प्रणालीमै आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । विगत केही वर्षयता सरकारले तथा सरकारको निगरानीमा दातृ निकायले नेपालको शिक्षा क्षेत्रमा भौतिक र प्रविधिलाई ध्यान राख्दै यति ठूलो लगानी गर्दागर्दै किन नतिजा कमजोर आयो ?

निजी विद्यालयभन्दा राम्रो भौतिक संरचना, उच्चस्तरीय संसाधन र अब्बल शिक्षक हुँदाहुँदै पनि किन सामुदायिक विद्यायका विद्यार्थी बढीभन्दा बढी फेल भैरहेका छन् ?

एसईईमा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशतमात्रै कक्षा ११ का लागि योग्य भएको अर्थात् उत्तीर्ण भएको सार्वजनिक नतिजाले देखाएको छ । त्यो पनि निजी विद्यायलको प्रतिशतसँगै राखेर हेर्दा सामुदायिक विद्यालयको मात्रै छुट्याएर हेर्ने हो भने १० प्रतिशतमात्रै आउँछ होला । सरकारले शिक्षा क्षेत्रमा लगानी गरेअनुरुपको प्रतिफल नदेखिनुले वर्तमान शिक्षा प्रणाली नै असफल भएको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । अहिले विद्यार्थी फेल भएको होइन, शिक्षकको पढाउने क्षमताको बारेमा पनि प्रश्न उठ्न थालेको छ ।

धरातलसम्म केलाउँदै जाँदा विभिन्न कारण हुन सक्छन् । जस्तो कि विद्यार्थी आफूले नपढेर, शिक्षकले नपढाएर, सञ्चालक समितिको लापरबाही, अनावश्यक राजनीति, शिक्षकलाई पढाउने सही तरिका थाहा नभएर, पाठ्य सामग्री समयमै नपुग्ने, वर्तमानमा समयअनुसारको शिक्षा प्रणाली नहुनु, बालबालिकाको पढाइमा रूचि नै नभएर यावत कारण हुनसक्छन् ।

पहिलो दोषी : शिक्षक !

माध्यमिक परीक्षा एसईईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक नै हुन् भन्नेमा दुई मत छैन । शिक्षकले पढाउन नजानेको, पढाउने कला पनि थाहा नभएको भन्ने चैँ होइन । बर्सेनि पाठ्यक्रममा परिवर्तन, वर्तमान समयअसुसार नपढाउने र पढाउने शैली पुरानै हुनु नै नतिजा कमजोर आउनुका प्रमुख कारण हुन् ।

माध्यमिक परीक्षा एसईईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक नै हुन् भन्नेमा दुई मत छैन । शिक्षकले पढाउन नजानेको, पढाउने कला पनि थाहा नभएको भन्ने चैँ होइन । बर्सेनि पाठ्यक्रममा परिवर्तन, वर्तमान समयअसुसार नपढाउने र पढाउने शैली पुरानै हुनु नै नतिजा कमजोर आउनुका प्रमुख कारण हुन् ।

शिक्षकहरुमा विद्यार्थीको रुचि केमा छ र कसरी पढाउँदा सहज रुपले बुझ्न सक्छन् भन्ने कुरामा चिन्तन नै देखिन्न । र, सिकाइभन्दा बढी नम्बरको पछि दौडाउने प्रवृत्ति पनि यसमा हावी देखिन्छ । अधिकांश शिक्षकहरू आफूले सामुदायिक विद्यालयमा पढाउने, निजी विद्यालयमा लगानी गर्ने, आफ्ना छोराछोरी निजीमा पढाइदिने आफैंप्रति विश्वास नभएका शिक्षकहरूबाट राम्रो नतिजाको अपेक्षा कसरी गर्न सकिन्छ ?

विद्यालयमा अनावश्यक राजनीति गर्ने, नेता र मन्त्रीहरु पार्टी, पदकै पछि लागिपर्ने र शिक्षा क्षेत्रमा नजर नै नलगाउने, राजनीतिमा केन्द्रित हुने, पढाउने समयमा विभिन्न पार्टीको झोला बोकेर हिँड्ने, त्यसको ज्वलन्त उदाहरण सरकारले शिक्षा विधेयक ल्याउँदा ५०औं हजार शिक्षक काठमाडौं आन्दोलन गरेको देखिएकै हो । पाठ्यक्रमअनुसारको सिकाइ नहुनु पनि अर्को कारण हो । सरकारले शिक्षाको उद्देश्य तोकेको छ, त्यसअनुसार पाठ्यक्रम बनेको छ । पाठ्यक्रमलाई विद्यार्थीमाझ पु¥याउन सार्वजनिक विद्यालयमा सरकारकै संरचनाबाट नियुक्त अब्बल शिक्षकहरू छन् । सम्पूर्ण शैक्षिक व्यवस्थापनका लागि विभिन्न निकाय र कर्मचारीहरू छन् ।

अधिकार पूरा गर्न अक्षम स्थानीय तह

स्थानीय सरकार सञ्चालन ऐन २०७६ को परिच्छेद ३, अनुसूची ८, ११ (ज) मा प्रस्ट लेखिएको छ, आधारभूत र माध्यमिक शिक्षा कसरी सञ्चालन गर्ने, स्थानीय तहको शिक्षा क्षेत्रमा के के दायित्व र अधिकार छन् ? यति हुँदाहुँदै संविधानले व्यवस्था गरेको आफ्नो काम, कर्तव्य र अधिकार प्रयोग गर्न नसक्ने लाचार स्थानीय जनप्रतिनिधि तथा शिक्षा शाखा अनि पालिकास्तरीय शिक्षा समिति पनि उत्तिकै जिम्मेवार देखिन्छ ।

दाङको राजपुर गाउँपालिकाले माध्यमिक तहसम्म निःशुल्क अध्यापन (पठनपाठन) गराउने भनी गएको आर्थिक वर्षदेखि कार्यक्रम सुरु ग¥यो । अहिले सोही राजपुर गाउँपालिकाबाट एसईई परीक्षामा सहभागी २२५ मध्ये २२४ जना अनुत्तीर्ण भए । एक जना विद्यार्थीमात्रै उत्तीर्ण हुँदा ८ मध्ये ७ वटा विद्यालयको नतिजा शून्य भयो । यसको दोषी को ? कार्यक्रम लागू गर्ने तर कार्यक्रम सफल पार्न के कस्ता प्रयास गर्‍यो राजपुर गाउँपालिकाले ?

सरकारले बाल विकासदेखि माध्यमिक तहसम्म एक जना विद्यार्थी बराबर बीसौं लाख खर्चेको हुन्छ । अनन्तः माध्यमिक तहसम्म आउँदानआउँदै बालबालिकाको मनस्थितिमा पढेर केही हुँदैन, जाने जापान, कोरिया र मध्य पूर्वी देशहरू (खाडी) नै हो भन्ने सोचले नराम्ररी असर गरेको देखिन्छ ।

स्रोत, साधन प्रयोग गर्दा होस् या नीति बनाउँदा, माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने नीति बनाउँदै गर्दा प्रतिफलको अध्ययनविनै गर्ने अनि राम्रो नतिजाको आश गर्नु बेकार हो ।

अशिक्षित र न्यून आर्थिक अवस्थाका परिवार

केही छाड्ने हो भने सामुदायिक विद्यालयमा पठनपाठन गर्ने अधिकांश बालबालिकाका अभिभावक निरक्षर र निम्न वर्गीय छन् । उनीहरु गृहकार्य गरे नगरेको हेर्न सक्दैन, मेरा छोराछोरी कस्तो अध्ययन गरिरहेको छ भन्ने प्रश्न गर्न सक्दैनन् । गरून् पनि कसरी, आफैं साक्षर छैनन् ।

सरकारले समान शिक्षाको कुरा गरे पनि सामुदायिक विद्यालय पढ्ने बालबालिकामा बुवाआमा या अभिभावकको सहयोग मिल्दैन । त्यसैले पनि नतिजामा प्रत्यक्ष असर गरेको देखिन्छ ।

पढेर के हुन्छ भन्ने बढ्दो प्रवृत्ति

वर्तमान अवस्थामा नेपाली समाजमा पढेर के हुन्छ भन्ने सोच र प्रवृत्तिले यसरी जरा गाडेको छ कि त्यसप्रति धेरै चर्चा नगरौं । सरकारले बाल विकासदेखि माध्यमिक तहसम्म एक जना विद्यार्थी बराबर बीसौं लाख खर्चेको हुन्छ । अनन्तः माध्यमिक तहसम्म आउँदानआउँदै बालबालिकाको मनस्थितिमा पढेर केही हुँदैन, जाने जापान, कोरिया र मध्य पूर्वी देशहरू (खाडी) नै हो भन्ने सोचले नराम्ररी असर गरेको देखिन्छ । जति सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको हुन्छ, वार्षिक माध्यमिक तह सकेका विद्यार्थीलाई अगाडिको सही बाटो दिन सकेको देखिँदैन । मतलब लगानीअनुसारको प्रतिफल आएको देखिन्न ।

सामाजिक सञ्जाल तथा मोबाइलको दुरुप्रयोग

आजभोलि सामाजिक सञ्जालविनाको दैनिकी कल्पना गर्नै गाह्रो होला । हाम्रो सोचविचारमा सामाजिक सञ्जालको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । हाम्रो सोच कस्तो हुने भन्ने कुरा हामीले सामाजिक सञ्जालमा कस्तो कुरा हेर्छौं, कस्तो कुरा सुन्छौं, के कुरा पढ्छौं भन्ने कुराले पनि निर्धारण गर्छ ।

हत्या, हिंसा, चोरी, डकैती जस्ता नकारात्मक खबर वा सामग्री हेर्ने सुन्ने गर्नाले हाम्रो दिमागमा पनि निराशा, गाली, डर, त्रास पैदा हुन्छ भने विकास निर्माण र प्रगतिका कुरा हेर्ने सुन्ने हेर्ने गर्नाले दिमागमा पनि आशा, भरोसा र जीवनप्रतिको सकारात्मक धारणा पैदा हुन्छ ।

आजभोलिका बालबालिकामा अर्को ठूलो समस्या भनेको मोबाइल तथा समाजिक सञ्जाल प्रयोग व्याप्त देखिन्छ । पाठ्यपुस्तक र गृहकार्यमा त्यति ध्यानै दिँदैनन्, बाल विकासका खेल्ने बच्चादेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीहरू आजभोलि मोबाइल चलाउँछन्, समाजिक सञ्जालदेखि गेमसम्म व्यस्त देखिन्छन् । अतः त्यसको परिणाम अध्ययन गर्ने बानी हराइसकेको हुन्छ । त्यसको प्रत्यक्ष असर नतिजामा देखिन्छ ।

आजभोलिका बालबालिकामा अर्को ठूलो समस्या भनेको मोबाइल तथा समाजिक सञ्जाल प्रयोग व्याप्त देखिन्छ । पाठ्यपुस्तक र गृहकार्यमा त्यति ध्यानै दिँदैनन्, बाल विकासका खेल्ने बच्चादेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीहरू आजभोलि मोबाइल चलाउँछन्, समाजिक सञ्जालदेखि गेमसम्म व्यस्त देखिन्छन् ।

अन्तमा

एसईईको नतिजाले देखाएको छ- हामी सिकाइको चरम संकटमा छौं । १०-१२ वर्ष स्कुलमा राखेर वर्णमालादेखि अंक सिकाउने हामी, भाषा र गणितीय प्रक्रिया सिकाउने हामी, बाल विकासदेखि कक्षा ९ सम्म खुरूखुरू पास गराउँदै लैजाने हामी । त्यसरी सिक्दै गएका लाखौं विद्यार्थीले केही विषयमा ३५ अंक पनि ल्याउन सकेका छैनन् । अनि त्यसको फल भोग्नुपर्ने चाहिँ ती विद्यार्थी र उनीहरूका अभिभावकले ?

यो अवस्था अहिलेमात्र देखिएको हैन । विद्यालय शिक्षाको स्तर खस्केको कुरा सबैलाई थाहा छ । सार्वजनिक मञ्चहरुबाट बोल्दा राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिहरुले अनेक आदर्श र उपदेशका कुरा गर्छन् । तर, पनि किन हो, सरकारको नेतृत्व गर्नेहरूले यसलाई नजरअन्दाज गरेका छन् । शिक्षा बलियो भयो भने देश बन्छ भन्ने सायद कसैलाई विश्वास छैन । अधिकांश शिक्षकहरु पनि बालबालिकालाई सिकाउने उत्प्रेरकका रूपमा भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको रूपमा सक्रिय भएको प्रतीत हुन्छ ।

शिक्षालाई यस्तो अवस्थामा ल्याइपुर्‍याउने सरोकारवाला सबै जिम्मेवार छन् । आज सरकार र अन्य जिम्मेवार पक्षले कानूनतः अपराध नगरे पनि उनीहरुले बालबालिकाको सपना मार्ने अपराध गरेका छन् । तिम्रो क्षमता यति हो भन्दै उनीहरूको जिन्दगीको यात्रा सीमित गरिएको छ । तिम्रो देशको शिक्षाको ताल यही हो, जाऊ विदेशमा गएर सपना देख भन्दै उनीहरूलाई निरीह महसुस गराउने हाम्रै प्रणाली हो ।

हाम्रो समग्र शिक्षा प्रणाली उस्तै छ । विद्यार्थीका लागि काम गर्ने भनेर मानिसहरूले पद पाउँछन्, सुविधा पाउँछन्, सम्मान पाउँछन् । तर, तिनै विद्यार्थी उपेक्षित छन् । विद्यार्थीका नाममा हाम्रो देशमा सरकारको, गैरसरकारी संस्थाको, अभिभावकको कति खर्च भयो, लेखाजोखा छैन । तर, आजको दिनसम्म शैक्षिक अवस्था उँभो लाग्ने संकेत कतै छैन ।

यसर्थ, शिक्षामा परिवर्तन ल्याउन आवश्यक छ । शिक्षामा सीप, दैनिक जीवन, समाज जोडिनुपर्छ भन्ने तर्क जायज छ । तर, आजको जुन प्रणाली छ, त्यसमा हामीले कति इमानदार भएर प्रयत्न गरिरहेका छौं त ? त्यो पनि अहं प्रश्न हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *