संसद ऐन, कानून बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल (भिडिओ)
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले संसद ऐन, कानून बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् ।
आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद भएपनि संसद नागरिकका ऐन, कानून बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गरे ।
उनले सांसदहरुले निर्माण गर्ने ऐन, कानूनले नै देश कता जान्छ भन्नेकुराको निर्धारण हुने भन्दै सांसदहरु ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताए । समयमा ऐन, कानून निर्माण गर्न संसदले ध्यान नदिएकोतर्फ सचेत गराए । उनले नेपाल सबैभन्दा धनी संविधानमा रहेको बताए ।
अध्यक्ष दाहालले संसदलाई प्रभावकारी बनाउने सांसदहरुको भुमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिंगो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुनर्पै रहेको बताए । उनले सांसदहरुले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताए ।