रास्वपा महामन्त्रीले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा दिने, बल रविको कोर्टमा – Nepal Press

रास्वपा महामन्त्रीले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा दिने, बल रविको कोर्टमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सात दिने स्पष्टीकरण सोधेपछि पार्टीभित्र उनीमाथि सम्भावित कारबाहीको चर्चा व्यापक भएको छ । शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई ७ दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण पठाएको थियो ।

आफ्नो समिक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि सञ्चारमाध्यममा लिक गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो । सभापति रवि लामिछानेकै निर्देशनमा आयोगले स्पष्टीकरण सोधेको बुझिएको छ । आयोगका अध्यक्ष यज्ञमणी न्यौपानेले स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका छन् ।

महामन्त्री डा. ढकालले अहिलेसम्म स्पष्टीकरण पत्र नपढेको बताए । स्पष्टीकरण पत्र आज पढेर बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्ने उनको भनाइ छ ।

‘आयोगले महामन्त्रीलाई स्पष्टीकरण सोध्न मिल्छ कि मिल्दैन भन्ने पनि प्रश्न छ । जे भए पनि मेरो जवाफ केन्द्रीय समिति बैठकमा नै आउँछ’, उनले भने ।

रास्वपाले महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न भनेर बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकमा महामन्त्री ढकालमाथि ‘कारबाही’ को निर्णय हुन सक्ने आंकलनहरु पनि भइरहेका छन् । उनलाई पदबाट बर्खास्त गर्नेदेखि निलम्बनमा राख्नेसम्मका विकल्पहरुबारे चर्चा भइरहे पनि मुर्तरुपमा केही आएको छैन । रास्वपामा महामन्त्री नियुक्त गर्ने र हटाउने एकाधिकार विधानले सभापतिलाई दिएको छ ।

सभापति लामिछानेले महामन्त्रीको विषयमा केन्द्रीय समितिले नै निर्णय लिने बताइरहेका छन् । स्रोतका अनुसार समिक्षा प्रतिवेदन बुझाउनुअघि र बुझाइसकेपछि ढकालले अनावश्यक मिडियाबाजी गरेको भन्दै उनी असन्तुष्ट छन् ।

सभापति निकट स्रोतले भन्यो, ‘पछिल्ला अभिव्यक्तिहरु हेर्दा उहाँले आफूमाथि कारबाहीका आधारहरु आफैंले बढाउँदै लानुभएको देखिन्छ । यसपटक सभापतिज्यू उहाँलाई संरक्षण गर्ने पक्षमा हुनुहुन्न ।’

महामन्त्री ढकालले पार्टीको बुधबार बस्ने केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग अघि सारेका छन् । यो माग पूरा हुने सम्भावना क्षीण रहेको स्रोतको भनाइ छ ।

‘बैठकको गोपनियता कायम राख्नुपर्छ भनेर विगतमा कडिकडाउ गर्ने उहाँ नै हो । अहिले मिडियामा सहानुभूति खोज्नका लागि वैठक लाइभ गर्नुपर्छ भनिरहनुभएको छ । पार्टीका यस्ता आन्तरिक वैठक लाइभ गर्न सम्भव हुँदैन,’ स्रोतले भन्यो ।

रास्वपामा महामन्त्रीको कार्यशैलीलाई लिएर विगतदेखि असन्तुष्टिहरु थिए । अहिले पदाधिकारी र केन्द्रीय समितिका केही सदस्यहरु उनलाई पदबाटै हटाउनुपर्ने पक्षमा रहेका छन् । केहीले चाहीँ अहिले बर्खास्त गर्दा प्रतिवेदनसँग जोडेर गलत सन्देश जाने बताएका छन् ।

डा. ढकाल भने पार्टीमा लोकतान्त्रिक अभ्यास हुनुपर्ने बताउँछन् । पार्टीको विधानमै ‘बहुलवादी लोकतान्त्रिक पार्टी’ लेखिएको हुँदा फरक धारणा र विचार आउनासाथ कारवाहीको कुरा गर्नु विधान विपरित हुने उनको तर्क छ ।

उनी भन्छन्, ‘पार्टीले नै वस्तुस्थितिको निर्मम समीक्षा गर्न भनेर पठाएको हो । आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दा कारबाही भोग्नुपर्छ होला जस्तो लाग्दैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर