श्रमाधान मेलामा करिब १८ हजारले दिए रोजगारीका लागि आवेदन, ८ उद्यमी पुरस्कृत – Nepal Press

श्रमाधान मेलामा करिब १८ हजारले दिए रोजगारीका लागि आवेदन, ८ उद्यमी पुरस्कृत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गरेका छन् । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए ।

मेला विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरुसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए । उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिवद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए ।

‘मेला मात्रै सम्पन्न भयो तर, रोजगारदाताले प्रतिवद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको बिषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’, उनले भने । रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिनेछ ।

मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो । मेलामा सीप विकास कार्यशालाहरु, नेटवर्किङ सत्रहरु, स्टलहरु र रोजगारीका अवसरहरुका प्यानल छलफलहरु सञ्चालन गरिएको थियो ।

जसमा १७६ भन्दा बढी विज्ञहरुले वक्ताको रुपमा सहभागिता जनाएका थिए । रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यवसायिक सीप विकास, उद्यमशिलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो ।

आठ उत्कृष्ट उद्यमी पुरस्कृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका आठ उत्कृष्ट उद्यमीलाई पुरुस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच उत्कृष्ट उद्यमीलाई मन्त्रालय नगद सहित सम्मान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्केका युुवालाई मुलुकमा नै रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक बर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।

राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रुपमा नै आवेदनको माग गरिएको थियो । इमेल मार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिश समितिले उद्यमीको स्थलगत निरिक्षण गरेको थियो ।

निरीक्षणबाट प्राप्त प्रतिवेदनहरुको आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमी राष्ट्रिय पुरस्कार विरतण गरिएको हो ।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुक भित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

‘एक पटक विदेश गएर सिकेका ज्ञान र सीपलाई मुलुक भित्रै प्रयोग गरी उद्यमी बनाउनका लागि आवश्यक वातावरण तयार पार्नुपर्छ । यसका लागि सहुलियत कर्जालाई सहज र व्यवस्थित बनाउनु पर्नेछ’, उनले भने ।

त्यस्तै, मन्त्री अर्यालले मिटर ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । चर्को ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई हटाउन मन्त्रालयले तयारी गरेको समेत उनले बताए ।

झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार वापत एक लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार वापत ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

प्रतिवेदनकाे पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर