‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविताको प्रेम र विछोडको कथा – Nepal Press

‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा कविताको प्रेम र विछोडको कथा

काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा कविता, जोन र चक्रको प्रेम र विछोडको कथा छ । लामो समयदेखि काम गर्दै आएकी मोडल न्यौपानेले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसँग दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

त्यस्तै जोन र चक्र पनि अहिलेका चर्चित मोडल हुन् । चक्र भने गायनमा पनि सक्रिय छन् ।

यो गीतको पाँच दिनअघि टिजर सार्वजनिक गरिएको थियो । ४० सेकेन्डको टिजर दर्शकमा कौतूहल जगाउन सफल भएको थियो । महेशकुमार औजी र बादल थापाको स्वर रहेको यो गीत आजभन्दा १० वर्ष अगाडि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएका थिए । गीतले दर्शकको अपार सफलता पाएपछि गायक औजी र थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन् । गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन् ।

निर्माण टीमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षणभित्र खिचिएको हो । भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका हुन् । भिडियोको कन्सेप्ट पनि शानकै हो । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन् ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ, सरिता मगरको मेकअप, अनुस्का डीसीको पहिरन, टौवा क्रियसनको पोस्ट डिजाइन र बुद्ध थापाको सिनेमाटोग्राफी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर