बेचन झा पक्राउ परेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्को अनुसन्धान सुरु – Nepal Press

बेचन झा पक्राउ परेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्को अनुसन्धान सुरु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्को अनुसन्धान सुरु भएको छ। बेचन झा पक्राउ परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रवार झालाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले झालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आइतबार ७ दिनको समय दिएको छ।

प्रहरीले यसअघि पहिलो चरणको अनुसन्धानमा झालाई फेला परेका बखत पुन: अनुसन्धान हुने गरी प्रतिवेदन बुझाएको थियो। झामाथिको अनुसन्धानले यो प्रकरणमा संलग्नहरूको थप भूमिका र अन्यको संलग्नता खुल्न सक्ने प्रहरीको विश्वास छ।

प्रहरीले यसअघि करिब तीन दर्जनलाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो।

तत्कालीन सचिव टेकनारायण पाण्डे र सांसद टोपबहादुर रायमाझीसहित बिचौलिया दाबी गरिएकाहरू अझै पनि थुनामा छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालतले धरौटीमा छाडेको थियो।

पूर्वगृहमन्त्री थापाका छोरालाई अदालत पुर्‍याइने, भोलि बयान हुने

पूर्वगृहमन्त्री रामबहादुर थाप बादलका छोरा प्रतीकलाई आइतबार अदालत उपस्थित गराइएको छ। काठमाडौं जिल्ला प्रहरी कार्यालयले शुक्रवार प्रतीकलाई पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीकलाई फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको थियो।

प्रतीकको सोमबार बयान र थुनछेक बहस हुने छ। त्यसपछि अदालतले उनलाई थुनामा राख्ने की धरौटीमा छाड्ने या साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्ने छ। ठगी, संगठित अपराधलगायत कसुरमा उनलाई प्रतिवादी बनाइएको थियो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रयोजनका लागि करोडौँ रुपैयाँ ठगी गरेको आरोप यो प्रकरणमा जोडिएकाहरूमाथि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *