न्यु मिडियाले सञ्चार माध्यमबीच ठूलो वा सानो भन्ने भेद मेटाउँदैछ : अध्यक्ष बस्नेत – Nepal Press

न्यु मिडियाले सञ्चार माध्यमबीच ठूलो वा सानो भन्ने भेद मेटाउँदैछ : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले सञ्चार माध्यमबीचको ठूलो सानो भन्ने भेद मेटाउँदै गएको बताएका छन् ।

काउन्सिलको आयोजना र सञ्चारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले न्यु मिडियाले ठूला सञ्चार माध्यम तथा साना सञ्चार माध्यम भन्ने विभेदलाई अन्त्य गरिदिएको र यसले सबैका लागि अवसर सिर्जना गरेको उल्लेख गरे ।

न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै उनले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको बताए ।

उनले नेपालका सन्दर्भमा परम्परागत भनिने सञ्चार माध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन सक्नुपर्ने बताए । त्यसका लागि युट्युबसहित सामाजिक सञ्जालमार्फत द्रुत सम्प्रेषणको रणनीति त्यस्ता सञ्चार माध्यमले बनाउनुपर्ने उनको भनाइ थियो ।

‘हामीले के कसरी काम गर्छौँ, त्यसमा नै निर्भर हुन्छ । हरेक सङ्कटसँगै समाधान र अवसर सँगै आउँछ । हाम्रा सञ्चार माध्यमले विश्वसनीय र छिटो सम्प्रेषणका लागि रणनीति र प्याकेज ल्याउन सके कि सकेनन् त्यो पनि विचारणीय हुन्छ’, उनले भने ।

अध्यक्ष बस्नेतले युट्युबसहितका सामाजिक सञ्जाल न्यु मिडियाको व्यवस्थापनका लागि तत्काल कानुनी अड्चन हटाउनुपर्ने र त्यसका लागि काउन्सिल तयार रहेको स्पष्ट पारेका छन् ।

‘अहिले नै कानुन ल्याउन सकिँदैन भने प्रेस काउन्सिलका केही दफा फेरौँ र व्यवस्थापन गरौँ, हामी त्यसका लागि सक्षम र तयार छौँ । राज्यले नीति बनाउन र कानुन ल्याउन ढिलाई गर्नुहुँदैन’, उनले भने ।

बस्नेतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने जुनसुकै प्लेटफर्म र जुनसुकै माध्यमबाट पत्रकारिता कर्म गर्नेहरू पहिलो नियामक निकाय काउन्सिल नै रहेको प्रस्ट्याए ।

काउन्सिल व्यक्तिगत रुपमा सञ्चालित नभइ मिडिया र मिडियाकर्मीका आवरणमा सञ्चालित न्यु मिडियाको व्यवस्थापनका लागि सक्षम रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले न्यु मिडियाले भ्रमपूर्ण प्रचारको बढावालाई प्रोत्साहन गर्दा प्रतिष्ठित र विश्वसनीय सञ्चार माध्यमबाट समेत गलत विषय सम्प्रेषण हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन् । नेपालमा सञ्चार माध्यमको विश्वसनीयता र आमधारणाबारे सर्भे गर्न काउन्सिललाई सुझाव दिइन् ।

पत्रकार निर्मला शर्माले विगतमा सञ्चार माध्यममा आफ्ना विषयवस्तु वा विचार समस्यासमेत राख्न स्थान नपाउने जोकोही अहिले आफैँ मिडिया सञ्चालक बन्ने वातावरण न्यु मिडियाले बनाएको बताइन् । पत्रकार महिलाका लागि न्यु मिडिया अवसरको राम्रो माध्यम भएको उनको भनाइ थियो । उनले अहिलेको पत्रकारिताको चुनौती भनेकै सामाजिक सञ्जालबाट फैलिएको सूचनालाई आधिकारिक बनाउनु र छिटो सम्प्रेषण गर्नु रहेको बताइन् ।

यस्तै, पत्रकार अखण्ड भण्डारीले परम्परागत माध्यमको पत्रकारितालाई नयाँ मिडियाले बाटो देखाउने र बचाउने काम गरेको बताए ।

उनले न्यु मिडियासँगै अगाडि बढ्न नसक्दा छापा पत्रकारितामा चुनौती देखिएको प्रष्ट पार्दै आफ्नो विषयवस्तु सम्प्रेषणका छापा माध्यमले न्यु मिडियालाई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्ने बताए । पत्रकारिता शिक्षामा व्यवहारिक र समयानुकूल परिवर्तन नहुने हो भने पुरानै पद्दतीमा पत्रकारिता बाँच्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले ‘न्यू मिडिया र पत्रकार महिला’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने कार्यपत्रमाथि पत्रकार दीपा रेग्मी र दुर्गा खनालले टिप्पणी गरेका थिए ।

प्यानल छलफलमा काउन्सिलका अध्यक्ष, बालकृष्ण बस्नेत, अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारी, नारी मासिकका सम्पादक उपासना घिमिरे, नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष अनिता बिन्दु सहभागी थिए ।

‘हामी पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध छौँ’, भन्ने सामूहिक प्रतिबद्धता जनाएर सुरु भएको कार्यक्रमको पहिलो सत्र सञ्चारिक समूहका महासचिव बसन्ती बास्तोला र दोस्रो सत्र न्युज एजेन्सी नेपालका सञ्चालक कृष्णा पौडेलले सहजीकरण गरेकी थिए ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको धन्यवाद मन्तव्य रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *