टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका रोहितको नाममा छन् आधा दर्जन विश्व कीर्तिमान – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका रोहितको नाममा छन् आधा दर्जन विश्व कीर्तिमान

काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्माले यो फर्म्याटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सन्न्यासको घोषणा गरेका छन् ।

शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको भारतले अपराजित रहँदै विश्वकप जितेको हो । यसअघि टी-२० विश्वकपमा कुनै पनि टोलीले अपराजित रहेर उपाधि जितेको छैन । भारत सन् २०११ मा एक दिवसीय विश्वकप जितेयता सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक विश्व विजेता बनेको हो ।

भारतले अन्तिम पटक सन् २००७ मा टी-२० विश्वकप जितेको थियो । त्यतिबेला पनि रोहित भारतीय टोलीमा थिए । यस पटक उनले आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताएका छन् । गत वर्ष भारतीय टोली घरेलु मैदानमै आयोजित एक दिवसीय विश्वकपको फाइनलसम्म पुगेर पराजित भएको थियो ।

भारतलाई विश्व विजेता बनाएपछि रोहितले भनेका छन्, ‘यो मेरो अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेल थियो । यसका लागि यो जत्तिको उत्तम अवसर अरु हुन सक्दैन । मैले यसको हरेक क्षण प्रेम गरेको छु । मैले भारतीय टोलीमा यही फर्म्याटबाट करियर सुरु गरेको हुँ । म जस्तो चाहन्थें, त्यस्तै भएको छ । म उपाधि जित्न चाहन्थें ।’

रोहितले सन् २००७ मा टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा आधा दर्जन विश्व कीर्तिमान छन् । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन जोडेका छन् । रोहितले १५९ खेलका १५१ इनिङमा ५ शतक र ३२ अर्धशतकसहित ४ हजार २३१ रन बनाएका छन् ।

दोस्रो स्थानमा रहेका विराट कोहलीको नाममा ४ हजार १८८ र तेस्रो स्थानमा रहेका बाबर आजमको नाममा ४ हजार १४५ रन छ ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलसँगै रोहित टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने ब्याट्सम्यान पनि हुन् । भारतका सूर्यकुमार यादवले ४ शतक बनाएका छन् ।

रोहित टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान पजि हुन् । उनको नाममा २०५ वटा छक्का छ । दोस्रो स्थानमा रहेका न्युजिल्यान्डका मार्टिन गुप्टिलले १७३ र तेस्रो स्थानका इङ्ल्यान्डका जोस बटलरले १३७ छक्का हिर्काएका छन् ।

रोहित टी-२० विश्वकप जित्ने सबैभन्दा बढी उमेरका कप्तान पनि बनेका छन् । उनले ३७ वर्ष ६० दिनको उमेरमा उपाधि जितेका हुन् । पाकिस्तानका तत्कालीन कप्तान इमरान खानले ३९ वर्ष १७२ दिनको उमेरमा एक दिवसीय विश्वकप जितेका थिए ।

यस्तै रोहित सबैभन्दा बढी टी-२० अन्तर्राष्ट्रिय खेल जित्ने कप्तान बनेका छन् । रोहितको कप्तानीमा भारतले खेलेका ६२ टी-२० अन्तर्राष्ट्रियमध्ये ४९ खेल जितेको छ । पाकिस्तानका बाबर आजमको कप्तानीमा पाकिस्तानले ४८ खेल जितेको छ ।

रोहितको कप्तानीमा भारतले यसअघि गत वर्ष एसिया कपको उपाधि जितेको थियो भने मुम्बई इन्डियन्सले ५ पटक आईपीएल जितेको छ । उनी दुई पटक टी-२० विश्वकप जित्ने नवौं खेलाडी हुन् । यसअघिका ८ खेलाडी सबै वेस्ट इन्डिजका थिए । हालसम्म टी-२० विश्वकप भारतबाहेक वेस्ट इन्डिज र इङ्ल्यान्डले मात्र दुईदुई पटक जितेका छन् ।

सन् २०२२ को टी-२० विश्वकपको सेमिफाइनलमा पराजित भएयता रोहित केही समय टी-२० फर्म्याटबाट टाढिएका थिए । तर, विश्वकपपूर्व उनी गत जनवरीमा राष्ट्रिय टोलीमा फर्किए । उनले गत आईपीएलमा १४ खेल खेल्दै एक शतक र एक अर्धशतकसहित ४१७ रन बनाएका थिए । उनी भारतले १३ वर्षपछि विश्व विजेता हुँदा प्रतियोगितामा सर्वाधिक दोस्रो धेरै रन जोड्ने ब्याट्सम्यान बनेका थिए । उनले ८ खेलमा ३ अर्धशतकसहित २५७ रन जोडे । शीर्षस्थानमा रहेका अफगानिस्तानका रहमनुल्लाह गुरबाजको नाममा २८१ रन छ ।

विस्फोटक ब्याट्सम्यानको छवि बनााएका रोहितको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उत्तिकै छ । उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक तीन पटक दोहोरो शतक बनाउने ब्याट्सम्यान हुन् । अन्य ८ जनाले पनि दोहोरो शतक बनाएका छन् । तर, एक पटकभन्दा बढी उक्त सफलता कसैको नाममा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर